भद्रगोल भेरी अस्पताल: बिरामीलाई उपचार पाउनै सकस



अस्पतालमा हरेक दिन बिरामीको थामिनसक्नु भिड हुन्छ । तर उनीहरुले पालो कुर्न बस्ने पर्याप्त ठाउँ छैन । ग्यालरीमा उभिएरै घण्टौँ पालो कुर्नुपर्छ । जसको सास्ती सबैैभन्दा बढी वृद्ध र अशक्तहरुले भोग्नुपरिरहेको छ । यसका साथै कतिपय सेवाप्रवाहमा चुस्तता छैन भने व्यवस्थापनका पक्षमा पनि लापरबाही भइरहेको छ ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक प्रमुख उपचार केन्द्रका रुपमा रहेको छ, नेपालगन्जस्थित भेरी अस्पताल । तर अस्पतालमा सेवा प्रवाहको स्थितिमा सुधार आउन सकेको छैन । अस्पतालमा हरेक दिन बिरामीको थामिनसक्नु भिड हुन्छ । तर उनीहरुले पालो कुर्न बस्ने पर्याप्त ठाउँ छैन । ग्यालरीमा उभिएरै घण्टौँ पालो कुर्नुपर्छ । जसको सास्ती सबैैभन्दा बढी वृद्ध र अशक्तहरुले भोग्नुपरिरहेको छ । यसका साथै कतिपय सेवाप्रवाहमा चुस्तता छैन भने व्यवस्थापनका पक्षमा पनि लापरबाही भइरहेको छ ।

अस्पतालले ओपिडी कक्ष भएको भवन नै साँघुरो हुँदा सेवा प्रवाहमा समस्या आइरहेको बताउने गरेको छ । अर्काेतिर सेवाग्राहीको चाप पनि बढी भएकोले सेवा प्रवाह चुस्त हुन नसकेको अस्पताल प्रशासनले तर्क दिने गरेको छ । अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालका अनुसार अहिले दैनिक दुई हजारदेखि २५ सयसम्म बिरामीहरु अस्पतालमा सेवा लिन पुग्ने गरेका छन् । ‘यति धेरै बिरामीलाई साँघुरो संरचनामा सेवा दिनु सजिलो कुरा होइन,’ उनले भने, ‘यद्दपि हामी सकेसम्म व्यवस्थापन मिलाएर सेवा दिइरहेका छौँ ।’

अस्पतालमा बिरामीको चापभन्दा पनि समयानुकुल भौतिक संरचनाहरुको विस्तार र स्तरोन्नति हुन नसक्नु मुख्य कारण रहेको अस्पताल विकास समितिका सदस्य एवम् भौतिक निर्माण तथा सम्पत्ति संरक्षण उपसमितिका संयोजक सदस्य कृष्णप्रसाद श्रेष्ठ बताउँछन् ।

भौतिक संरचना अभाव भएको कुरालाई मध्यनजर गर्दै पछिल्लो समय अस्पतालमा नयाँ भवन निर्माणका लागि योजना सुरु भएको उनले जानकारी दिए । कोरोना महामारीपछि न्यूरो र युरोलोजीलगायतका नयाँ विभागहरु थपिएपछि पनि बिरामीहरुको चाप बढेको उनले बताए । ‘बिरामीको चाप बढ्यो । तर संरचनाहरु पुरानै भए । यसले सेवाप्रवाहमा समस्या आइरहेको छ,’ उनले भने, ‘बिरामीको चाप त बढ्दै जाने हो । त्यस कारण अब हामीले दीर्घकालीन योजनातिर लाग्नैपर्छ ।’

अल्ट्रासाउण्डका लागि एक दिन कुनुपर्ने बाध्यता

नेपालगन्जस्थित भेरी अस्पतालको अल्ट्रासाउण्ड कक्षको बाहिर साँघुरो गल्लीमा हरेक दिन मानिसहरुको घुइँचो हुन्छ । महिला, पुरुष, वृद्ध, अशक्त जो सुकै होस् उसले जबरजस्ती भिडमा नघुसे अल्ट्रासाउण्ड कक्षसम्म पुग्न मुस्किल हुन्छ । महिलाहरु पनि पुरुषहरुको भिडमा घुसेर आफ्नो पालोका लागि संघर्ष गर्नुपर्ने अवस्था छ । यति गर्दा पनि एकै दिनमा अल्ट्रासाउड गर्ने पालो आउँछ भन्ने ठेगान छैन । कर्मचारीहरुले आजका लागि कोटा पुगेको भन्दै अर्काेदिन आउन भन्दै पठाइदिने गरेका छन् ।

बुधबार पनि भेरी अस्पतालको अल्ट्रासाउण्ड कक्षमा बिरामी र आफन्तहरुको भिड थियो । अधिकांशहरुले अघिल्लो दिनदेखि पालो कुरेर बसे पनि आफ्नो पालो नआएकोमा आक्रोश पोख्दै थिए । कर्मचारी भने एक दिनमा ५० जनाभन्दा बढीको अल्ट्रासाउण्ड गर्न नसकिने भन्दै अर्काेदिन आउन निर्देशन दिइरहेका थिए । ‘हामी हिजोदेखि कुरेकाहरुको पालो आको छैन । कोही तुरुन्तै पालो पाइरहेका छन्,’ सेवाग्राहीहरु कर्मचारीसँग आक्रोश पोख्दै थिए । यो दृष्य भेरी अस्पतालमा हरेक दिन देखिने दृष्य हो ।

अस्पतालमा अल्ट्रासाउण्ड गर्न एकदिन कुनुपर्ने अवस्था विगत लामो समयदेखिको भए पनि त्यसको समाधानका लागि अस्पताल प्रशासन र विकास समिति ठोस प्रयास गरेको छैन । एक त बिरामीको चापअनुसार लाइन लाग्ने व्यवस्था र बस्ने व्यवस्था पनि छैन भने अर्काेतिर एकदिन कुर्नुपर्दा बाहिरबाट आएका बिरामीहरुको खर्च बढ्नुका साथै मानसिक सास्ती भोग्नुपरिरहेको छ ।

कतिपय बिरामीहरु त एक दिन कुर्नुको साटो बाहिरका निजी प्याथोलोजीहरुमा गई परीक्षण गराउन बाध्य छन् । अस्पतालका सूचना अधिकारी डा. संकेत रिसाल दुईजना डाक्टरको भरमा रेडियोलोजी विभाग रहेको र उनीहरुले एकदिनमा ५० जनाभन्दा बढीको अल्ट्रासाउण्ड गर्न नसक्ने बताउँछन् ।

शौचालयमा छैन चुकुल

भेरी अस्पतालको शौचालयको अवस्थामा प्रशासन र विकास समितिको ध्यान गएको छैन । शौचालयको ढोकामा चुकुल नै छैन भने भित्ताहरुका प्वाल पारिएको छ । महिलाहरुका लागि असुरक्षित अवस्थामा शौचालय रहँदा पनि त्यसको सुधार हुन सकेको छैन । अस्पतालको शौचालयमा चुकुल नहुनु चरम लापरबाही भएको अस्पतालमा भेटिएकी सेवाग्राही नमिता शाहले बताइन् ।

उनले भित्र पसेर चुकुल लगाउन खोज्दा चुकुल नै नभएको देख्दा अत्यन्त आक्रोश उत्पन्न भएको बताइन् । साथै शौचालयको भित्तामा पारिएका प्वालका कारण कुनै महिला समस्यामा परेको अवस्थामा त्यसको जिम्मा अस्पताल प्रशासनले लिनुपर्ने बताइन् । ‘भोलि कसैले गलत फाइदा उठायो भने त्यसको जिम्मा अस्पतालले लिनुपर्छ,’ उनले भनिन् ।

हेलिकोप्टर ल्याण्ड गर्न मिल्ने भवनको योजना

भेरी अस्पतालमा रहेको वर्षाैँ पुरानो ओपिडी भवन भत्काएर अत्याधुनिक भवन निर्माण गर्ने योजना छ । छतमा हेलिकोप्टर ल्याण्ड गर्न मिल्ने सात तले भवन निर्माणका लागि डिपिआर विस्तृत परियोजना प्रतिवेदन तर्जुमा अन्तिम चरणमा रहेको जनाइएको छ । अस्पताललाई पाँच सय बेडको अस्पतालका रुपमा स्तरोन्नति गर्नका लागि उक्त भवन निर्माण गर्न लागिएको अस्पतालका प्रमुख बद्री चापागाईंले बताए ।

उक्त भवनको डिपिआरमाथि बुधबार अस्पतालमा छलफल पनि गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको सम्बद्ध विभागका इञ्जिनियर, अस्पतालका विभागीय प्रमुख, अस्पताल विकास समितिका पदाधिकारीलगायत बीच उक्त भवनको डिजाइनबारे छलफल भएको हो । अण्डरग्राउण्ड पार्किङसहितको उक्त भवनको डिजाइनमा भएका कमी कमजोरीहरुमाथि सहभागीहरुले सुझाव दिएका थिए ।

अस्पतालका प्रमुख बद्री चापागाईंलगायतले वर्षाँैसम्मका लागि बन्ने भएकोले कमी कमजोरीहरु सकेसम्म नहोउन् भनेर ध्यान दिनुपर्नेमा जोड दिए । उनले सेवाग्राहीहरु अहिलेको जस्तो सकसपूर्ण अवस्थामा सेवा लिन बाध्य नहोउन् भन्नका लागि त्यहीअनुसारका संरचनाहरु बनाउनुपर्ने बताए ।

अस्पताल विकास समितका सदस्य एवम् भौतिक निर्माण तथा सम्पत्ति संरक्षण समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले उक्त नयाँ भवन निर्माणका लागि तीन अर्ब लागत लाग्ने अनुमान गरिएको जानकारी दिए । उक्त योजनामा मुख्य भवनमा साथै अन्य भवनहरु पनि रहेका छन् । अहिले निर्माणाधीन १० बेडको ए ब्लक भवन मंसिर महिनासम्ममा अस्पताललाई हस्तान्तरण हुने जानकारी पाइएको श्रेष्ठले बताएका छन् ।

प्रकाशित मिति : २०७९ कात्तिक १९ गते शनिबार