12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

एक सारंगीले पाल्छ १० जनाको परिवार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १८, २०७९  

सारंगी रेटेरै उनी १० जनाको परिवार पाल्छन् । उनको परिवारका अन्य सदस्य कसैको पनि रोजगारी छैन । जग्गा जमिनसमेत प्रशस्त छैन । एउटा छोरा भारतमा पल्लीदारी गर्छन् । अर्को छोरा खाडीमा छन् । घरमा बुहारी, श्रीमती र नाति नातिनीहरु छन् । गन्धर्वले आफ्नो दैनिकी भने सारंगी बजाएरै बित्ने गरेको बताए ।

शुभाकर विश्वकर्मा ।

दिलबहादुर गन्धर्व उर्फ लिले गायन जाजरकोटमा जन्मिए । जाजरकोटमै हुर्किए । जक्तिपुरका रैथाने उनले सबै सुखदुःख उतै गरे । जीविकोपार्जनका लागि सारंगी रेट्दै तराई झरे । त्यसपछि उनी पहाड उक्लिएनन् । ६ दशक पार गरिसकेका गायनको सुखदुःखको सारथि सारंगी हो । सांरगी रेटेरै उनले तीन दशक बिताइसके । उनी हातका औलाले सारंगीका तार रेट्छन् ।

उनको जीवन गरिबी र अभावले रेटिरहेको छ । जाजरकोटको विकट गाउँमा उनले धेरै विभेद, अभाव र असमानताको सामना गरे । जिन्दगी जिउन उनले केके गरेनन् । घरको गरिबी टार्न कालापहाड गएर भारी बोके । साहुको घरमा गएर नोकरी गरे । आरनमा काम गरे । लुगा सिलाउने काम उनले अलिक बढी समय गरे । परिवारको खुसीको लागि आफ्ना खुसीहरु तिलाञ्जली दिए ।

‘जो होचो, उसैलाई घोच्यो’ भने जस्तै आरनमा काम गर्दागर्दै उनको एउटामा समस्या देखियो । अवस्था यस्तो आइदियो, उनले परिवार पाल्नकै लागि जन्मथलो र जीविकोपार्जनका लागि आफ्नो पेसा नै परिवर्तन गर्नुपर्ने अवस्था आइलाग्यो । त्यसपछि हो, गन्धर्वको परिवार तराई झरेको । उनी कोहलपुरमा बसाइँ सरे । हाल कोहलपुर–१२ निबुवामा स्थायीरुपमा बसोबास गर्दै आएका उनी सांरगी बजाउँदै ठाउँठाउँ डुलिरहेका छन् । सारंगी रेटेरै उनी १० जनाको परिवार पाल्छन् । उनको परिवारका अन्य सदस्य कसैको पनि रोजगारी छैन ।

जग्गा जमिनसमेत प्रशस्त छैन । एउटा छोरा भारतमा पल्लीदारी गर्छन् । अर्को छोरा खाडीमा छन् । घरमा बुहारी, श्रीमती र नाति नातिनीहरु छन् । गन्धर्वले आफ्नो दैनिकी भने सारंगी बजाएरै बित्ने गरेको बताए । ‘पहाडबाट तराई झरेको वर्षौँ भइसक्यो । सांरगी बजाउन थालेको तीन दशक बितिसक्यो । मेरो जीविकोपार्जनको स्रोत नै हो,’ उनले भने ।

उनी सारंगी मात्रै बजाउँदैनन् । सारंगीको संरक्षणका लागि उनले मेचीदेखि महाकालीसम्म अभियानका क्रममा पुगेका छन् । सारंगीको प्रचारप्रसार र प्रवद्र्धनका लागि मेचीकाली अभियान गरेको उनको भनाइ छ । उनीहरुले टिम बनाएरै अभियान थालेका थिए । अहिले एक्लै सांरगी बजाउने काम गरिरहेको उनले बताए । उनी भन्छन्, ‘हामी धेरै जिल्लाका साथीहरु थियौँ । अहिले सबै आफ्नो ठाउँमा छन् ।’ गन्धर्व सारंगी काठमाडौं, पोखरा, धनगढीसम्म पुगेका छन् । पछिल्लो समय उमेर बढेसँगै टाढाका जिल्लामा जान नसकिने उनले बताए । हाल बाँकेका जिल्लाका विभिन्न क्षेत्रमा गएर सारंगी बजाउने गरेको उनले बताए ।

पछिल्लो समय सारंगी पहिलाको भन्दा कम बज्छ । आम्दानी कम, दुःख बढी हुने भएकोले यसप्रति आकर्षणसमेत घट्दै गएको छ । बढ्दो प्रविधिको विकाससँगै सांरगीसमेत चपेटामा परेको छ । युवा पुस्ताले सारंगी बजाउन छोडेको उनको भनाइ छ । तर आफू जिउँदो रहुञ्जेल सारंगी बजाउन नछोड्ने उनी बताउँछन् । ‘अरु सबै कुरा छोड्न सक्छु । सारंगी छोड्न सक्दिनँ । म कमाउन मात्रै सारंगी बजाउँदिनँ । यसको संरक्षण र प्रवद्र्धनका लागि समेत यसमा लागिरहेको छुँ,’ उनले सुनाए ।

राज्यले सारंगी संरक्षणका लागि उपेक्षा गरेको प्रति उनले बताए । सारंगी रेटेरै बाँच्न कत्तिको सहज छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहिलेसम्म यसैबाट जीविकोपार्जन गरिरहेको छुँ । १० जनाको परिवार पाल्दै आएको छुँ । कमाइ धेरै पनि छैन । कम पनि छैन ।’ उनले आफू सारंगी बजाएरै दिनमा १२ देखि १५ सय रूपैयाँ कमाउने गरेको उनले बताए । महिनामा सरदर ३० देखि ३६ हजार कमाइ हुन्छ ।

सारंगी रेटेर खान पुगेको छ उनलाई । हातखुट्टा चल्ने हुँदासम्म मागेर खान नपर्ने उनको भनाइ छ । बाँके जिल्लामा सबैभन्दा धेरै गन्धर्व समुदायको बसोबास कोहलपुरमा छ । कोहलपुरका विभिन्न वडामा दुईजनाभन्दा बढी घरपरिवार गन्धर्व समुदाय बसोबास गर्दै आएको छ । उनीहरुको जीविकोपार्जनको प्रमुख स्रोत सारंगी नै हो ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १८, २०७९     12:00:57 PM  |