17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

नेपालगन्ज कहिले होला व्यवस्थित ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक १६, २०७९  

वीरेन्द्र जैसी । नेपालगन्ज ।

पश्चिम नेपालको व्यापारिक हब नेपालगन्जमा पछिल्लो दशकमा सडक पूर्वाधारमा उल्लेखनीय प्रगति भएको छ । सडक चौडा र फराकिला भएका छन् । अधिकांश सडक कालोपत्रे भएका छन् ।

लामो समयपछि सदरलाइन, घरबारीटोललगायतका सडकहरु पहिलेको भन्दा फराकिला बनेका छन् । तर सवारीको सहज आवागमनको वातावरण अझै हुन सकेको छैन । सवारी साधन प्रयोगकर्ताभन्दा बढी समस्या पैदल हिँड्नेहरुलाई छ । आवतजावत मात्रै होइन न्यूनतम ट्राफिक व्यवस्थापनमा पनि सुधार आएको छैन ।

खै हर्न निषेध ?

बाँके ट्राफिक प्रहरीको एक आकर्षक नारा थियो अब हर्न मुक्त नेपालगन्ज बनाइयो । त्यसका लागि विभिन्न ठाउँमा पर्चा पम्पलेटहरु पनि टाँस गरियो । तर, अहिले हर्न निषेध अभियान पनि छायाँमा परेको छ ।

प्रेसर हर्न बजाएर मुख्य बजारमै गाडीहरु गुडिरहेका हुन्छन् । यसका साथै अस्वभाविकरुपमा चर्को आवाज बनाएर गुड्ने मोटरसाइकल नियन्त्रणतर्फ पनि ट्राफिक असफल बनिरहेको छ ।

फोहोर व्यवस्थापनमा छैन चुस्त

नेपालगन्जमा ल्याण्डफिल साइट निर्माण भएपछि फोहोर व्यवस्थापनको समस्या केही कम त भएको छ । फोहोर डम्प गर्ने ठाउँको समस्या केही दशकका लागि समाधान भएको छ । तर अहिले पनि सहरका खाली ठाउँ, चोक, चौराहा र गल्लीहरुमा फोहोरको समस्या कम भएको छैन । विशेषगरी भित्री गल्ली र बाक्ला बस्तीहरुमा रातिको समयमा सडकमै फोहोर फालिदिने समस्या छ । यसरी सडमा फोहोर फाल्नेहरुलाई कुनै दण्ड सजायको व्यवस्था छैन ।

सार्वजनिक सम्पत्तिमा अतिक्रमण

नेपालगन्जको अर्काे समस्या भनेको यहाँका सार्वजनिक सम्पत्तिमा अतिक्रमण हुनु पनि हो । विभिन्न सार्वजनिक जमिनहरुमा अनधिकृत व्यक्ति तथा संस्थाको कब्जा छ । विभिन्न स्थानमा जनताका मागअनुसारका संरचनाहरु निर्माण गर्ने भनिए पनि त्यसको कार्यान्वयनमा अनेक जटिलताहरु आइरहेका छन् । स्थानीय सरकार यस मामिलामा कमजोर देखिएको छ ।

सडकमै पार्किङ

नेपालगन्जमा अधिकांश व्यावसायिक प्रतिष्ठानहरुको आफ्नै पार्किङस्थल छैन । सबैले सडकमै पार्किङ गराउने गरेका छन् । एकातर्फ सुर्खेत रोड विस्तारमा मापदण्डअनुसार फराकिलो बनाइएन । त्यसैमाथि सडकमै पार्किङ गराइँदा सडक अति साँघुरो बनेको छ ।

सडक विस्तारपछि निर्माण भएका ठूला व्यावसायिक भवनहरुले पनि पार्किङको व्यवस्था गरेका छैनन् । होटेलदेखि सुपरमार्केटले सडकमै पार्किङ गराउने गरेका छन् ।

ट्राफिक प्रहरीले सडकमै रेखांकन गरेर पार्किङ गर्ने व्यवस्था गरेको छ । तर ती रेखाहरुलाई कसैले पालना गर्दैनन् । कार पार्किङ गर्ने लेखिएको ठाउँमा मोटरसाकल र मोटरसाइकल पार्किङ गर्ने लेखिएको ठाउँमा कार पार्किङ गरिएका हुन्छन् । पार्किङ निषेध लेखिएको ठाउँमा सवारी साधन पार्किङ गरिएको देखिनु नेपालगन्जमा सामान्य जस्तै बनेको छ ।

ई–रिक्साको अस्तव्यस्तता

नेपालगन्जमा सबैभन्दा बढी अस्तव्यस्त रहेको ई–रिक्सा व्यवस्थापनको काम सुरु भएको छ । तर उक्त काम पनि परिणामतिर उन्मुख छैन । दर्ता हुन आउन गरेको आह्वानमा एकदमै न्यून संख्यामा ई–रिक्साहरु दर्ता भएका छन् ।

ई–रिक्सा चालकहरु अस्तव्यस्त तरिकाले चलाउँछन् । त्यही कारणले दुर्घटनाको जोखिम उच्च छ । अधिकांश दुर्घटनामा ई–रिक्सा नै मुख्य कारणमा देखिने गरेको ट्राफिक प्रहरी बताउँछ ।

ई–रिक्सा चालकहरुमा सडक नियमको जानकारी अभाव मुख्य कारणका रुपमा देखिएको छ । करिब १० हजारको आसपासमा संख्या अनुमान गरिएका ई–रिक्सामध्ये ९० प्रतिशतभन्दा बढी कतै पनि दर्ता छैनन् । चालकहरुसँग लाइसेन्स छैन ।

प्रतीक्षालय र बसपार्कको छैन सदुपयोग

अत्याधुनिक टर्मिनलसहितको बसपार्क भए पनि लामो दूरीका सवारी साधनहरु मुख्य सडकमा आएर रोकिन्छन् ।

केही समय पहिले पुष्पलाचोकमा रोकिने सवारी साधनहरु अहिले कारकाँदोमा प्रहरी तालिम केन्द्रअघि रोकिन्छन् । ट्राफिक प्रहरीले कहिलेकाहिँ लखेटेजस्तो गर्छ । तर देखाउनका लागि मात्रै त्यसो गर्ने गरेको स्वयम् सवारी चालकहरु बताउँछन् । कतिपय चालकहरुले ट्राफिक प्रहरी जवानहरुले अनुचित लाभ लिएर सडकमा गाडी रोक्न दिने गरेको बताए ।

नेपालगन्ज–गुलरियाको लागि जाने बसहरु धम्बोझीमा बाटोमै यात्रु झार्ने र चढाउने गर्छन् । त्यसै कारण केही समयअघि फराकिलो बनाइएको सडक पनि साँघुरो बन्ने गरेको छ । दुर्घटनाको जोखिम बढेको छ । नेपालगन्जदेखि कोहलपुरसम्म करिब ३० वटा यात्रु प्रतीक्षालय र बस स्टपहरु बनाइएका छन् । तर ती प्रतीक्षालयहरुको सदुपयोग भएको छैन ।

बसहरु चोकमा नै रोकिने गरेका छन् । प्रतीक्षालयमा नरोकिँदा यात्रुहरु पनि मुख्य चोकमै जम्मा हुने गरेका छन् । लाखौँ रूपैयाँ खर्चेर बनाइएको प्रतीक्षालय र स्टपहरु कार्यान्यन गराउन ट्राफिक प्रहरी असफल भएको छ ।

फुटपाथ कब्जामा

नेपालगन्जमा पैदल यात्रुहरुले कुनै ठाउँमा पनि ढुक्कले हिँड्न सक्ने अवस्था छैन । मोटरसाइकल मर्मत पसलहरुले फुटपाथमै मोटरसाइकल धोइपखाली गरिरहेका हुन्छन् । नेपालगन्जको कुनै यस्तो फुटपाथ छैन जहाँ पैदल यात्रुहरु ढुक्क भएर यात्रा गर्न सकुन । कहिँ नालीमाथि ढकन छैन त कही व्यपारीहरुले सामान राखेर अन्याय गरेका छन् ।

पैदल यात्रुका लागि सहज फुटपाथमा व्यापारी मात्रै नभइ उपमहानगरपालिकाका संरचनाहरु पनि दोषी छन् । कतिपय ठाउँमा नालामाथि ढकन नै छैन । जहाँ पैदल यात्रु चाहेर पनि हिँड्न सक्दैनन् । कतिपय ठाउँमा स्थानीयहरुले मोटरसाइकल घरभित्र छिराउन सहज बनाउने गरी फुटपाथमै संरचना बनाइएका छन् ।

‘डुबानमुक्त’ नारामै सीमित

नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा नेपालगन्जलाई पाँच वर्षभित्र डुबानमुक्त क्षेत्र घोषणा गर्ने भनिएको थियो । तर अहिले पनि हरेक वर्षायाममा नेपालगन्ज डुबानमा पर्छ ।

यसमा नालाको निर्माण वैज्ञानिक तवरले नभएको, पानीको निकास पर्याप्त नभएको र प्लास्टिकजन्य सामग्रीहरु नलामा फालिनु कारण रहेको सबैले बताउने गर्छन् । तर समाधानतिर ठोस प्रयास भएको छैन ।

नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ बाट प्लास्टिक झोलामुक्त अभियान सुरु गरेको थियो । अभियानका लागि भन्दै विभिन्न स्थानमा सूचनामूलक बोर्डहरु राखियो । २०७६/०७७ को नीति तथा कार्यक्रममै प्लास्टिक झोलामुक्त अभियानलाई उल्लेख गरियो । तर यो अभियान नीतिमै सीमित भएको छ ।

 

प्रकाशित मितिः बुधबार, कार्तिक १६, २०७९     8:44:54 AM  |