बाँकेमा स्वतन्त्र उम्मेदवारलाई विश्वासको संकट



वीरेन्द्र जैसी । नेपालगन्ज ।

काठमाडौंमा बालेन शाह र धरानमा हर्क साम्पाङले आफूलाई राजनीतिका मसिहा ठान्ने दलहरुलाई पराजित गरेर मेयर जितेपछि स्वतन्त्र उम्मेदवारहरुप्रतिको आम धारणा बदलिएको छ ।

स्वतन्त्रमा कस्ता उम्मेदवार छन् भन्ने चासो राख्न थालिएको छ । राम्रा उम्मेदवारलाई साथ र हौसला दिनेहरु बढेका छन् । डडेल्धुरा र झापालगायत कतिपय स्थानमा स्वतन्त्र उम्मेदवारी दिएकाहरु राष्ट्रिय राजनीतिमै चर्चामा छन् । तर, बाँकेमा त्यस्तो स्थिति देखिएका छैन । अधिकांश स्वतन्त्र उम्मेदवारहरुलाई परिचयकै संकट छ ।

राजनीतिक विश्लेषक रुद्र तिमिल्सेना स्वतन्त्र उम्मेदवार उठ्न पाउनु संविधानको अधिकार अभ्यासको रुपमा लिन्छन् । उनीहरुलाई हतोत्साहित गर्ने गरी राजनीतिक टिप्पणी गर्न नहुने उनको धारणा छ । स्वतन्त्र व्यक्तिको क्षमता देखाउने अवसर पनि रहेको उनको भनाइ छ ।

तर, उम्मेदवारहरु पनि त्यही किसिमको संघर्ष र सामाजिकरुपमा योगदानसहित आउनुपर्ने उनले बताए । ‘केही न के योगदान नभएका व्यक्तिहरुलाई मतदाताले किन मान्ने ? उनीहरुलाई किन मत दिने ?,’ उनले प्रश्न गरे ।

स्वतन्त्र उम्मेदवारहरुलाई तुलनात्मकरुपमा सहज ठानिने बाँके क्षेत्र नम्बर २ मा प्रतिनिधि र प्रदेशसभा सदस्यमा गरी १० जना उम्मेदवार छन् । तीमध्ये प्रतिनिधिसभामा पाँचजना र प्रदेशसभाका पाँचजना उम्मेदवार छन् । प्रतिनिधिसभामा दिवाकर खनाल, इरफान अहमद शेष, बागेश्वर चौलागाई, राहुल जयसवाल र शमसुल हक राई रहेका छन् । यीमध्ये दिवाकर खनाल बाध्यतावश स्वतन्त्र उम्मेदवार भएका हुन् ।

उनी हिन्दु धार्मिक मुद्दा बोकेको शिवसेनामा आबद्ध छन् । खनाल लौरो अभियानबाट निर्वाचन लड्न चाहन्थे । तर, अन्तिम समयमा कानुनी प्रक्रिया नमिलेको पाइएपछि उनी बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिन पुगे । उनलाई हिन्दु धार्मिक मुद्दा मन पराउने मतदाताको रोजाइ बन्न सक्ने आँकलन भइरहेको छ । तर, यसले मात्रै चुनाव जित्ने अवस्था छैन ।

प्रतिनिधिसभामा उम्मेदवारी दिएका अरु उम्मेदवारहरु समसुल हक राईबाहेक अरु नेपालगन्जको राजनीतिक वृत्तमा चर्चित अनुहार होइनन् । समसुल हक राई मोहम्मद इश्तियाक राईसँग असन्तुष्ट भएर उनको बागीमा उम्मेदवारी दिएका व्यक्ति हुन् । यस अर्थमा उनलाई धेरै मतदाताले चिन्न सक्छन् । तर, अरु उम्मेदवारलाई चुनौती नै दिन उनले निकै कसरत गर्नुपर्ने हुन्छ ।

प्रतिनिधिसभाका अरु तीनजना उम्मेदवार मतदातामाझ त्यति परिचित छैनन् । उनीहरुले कस्ता एजेण्डामा निर्वाचन लड्न गइरहेका छन् भन्ने पनि जनताले थाहा पाएका छैनन् । विगतमा सामाजिक तथा सार्वजनिक सरोकारका विषयमा पनि यी व्यक्तिहरुको उपस्थिति देख्न पाइएको छैन । यी उम्मेदवारले इश्तियाक, राप्रपाका डा. धवलशम्शेर राणा, कांग्रेसका सुदीपनरसिंह राणालगायतका बलियो संगठन र मतदातामा लोकप्रियता भएका ठानिएका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न तयारी नपुगेको विश्लेषण राजनीतिका जानकारहरुको छ ।

क्षेत्र नम्बर २ बाट प्रदेशसभामा उम्मेदवारी दिएकामध्ये धेरैको ध्यानाकर्षण गरेका र आफ्ना मुद्दाहरु प्रष्टरुपमा बताइरहेका उम्मेदवार हुन्, डा. विनोद कर्ण । उनी नेपालगन्ज मेडकल कलेजमा कार्यरत प्लास्टिक सर्जन हुन् । उनलाई परिचयको संकट छैन । यसभन्दा अघिल्लोपटक पनि उनी निर्वाचनमा यही क्षेत्रमा विवेकशील साझा पार्टीबाट प्रदेशसभा सदस्यका उम्मेदवार थिए ।

उक्त निर्वाचनमा विजेता कांग्रेसका सुरेन्द्रबहादुर हमालले नौ हजार दुई सय ११ मतले विजयी हुँदा उनले मात्र पाँच सय ६८ मत प्राप्त गरेका थिए । यसपटक पनि उक्त क्षेत्रबाट स्वतन्त्र उम्मेदवार डा. कर्णसहित अब्दुल हकिम हलवाईले कांग्रेसका सुरेन्द्र हमाल, एमालेका निरकबहादुर गुरुङ, माओवादीका अक्कलबहादुर बम, जसपाका आदेशकुमार अग्रवालजस्ता राजनीतिकरुपमा परिचित र संगठनको साथ भएका उम्मेदवारहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । यसका लागि उनीहरुलाई निकै कसरत गर्नुपर्ने अवस्था देखिन्छ ।

प्रदेश सभा क्षेत्र नम्बर २ (क)मा कैलाशनाथ कलवार, अब्दुल कादिर साईलाई र राजकुमार रौनियार तीनजना स्वतन्त्र प्रतिस्पर्धी छन् । रौनियार र प्रतिनिधिसभाका उम्मेदवार खनालको एकै संगठन र मुद्दा छन् । चुनावमा उनीहरुको स्वतन्त्र उम्मेदवारीको कारण एउटै हो । उनीहरु चुनावमा पहेँलो बस्त्र लगाएर चुनावी प्रचारमा छन् ।

हिन्दु र जय श्रीराम उनीहरुले बारम्बार दोहो¥याउने शब्द हुन् । यति मात्रैले उनीहरुले एमालेका विजयबहादुर यादव, कांग्रेसका राजकुमार कुर्मी, जसपाका भण्डारीलाल अहिर, नेकपा एसका शमसुद्धिन सिद्धिकीलगायत राजनीतिकरुपमा परिचित र बलिया संगठन भएका उम्मेदवारहरुलाई चुनौती दिन अप्ठ्यारो पर्ने देखिन्छ । कलवार र साई पनि राजनीतिमा परिचित अनुहार होइनन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक २ गते बुधबार