शुभाकर विश्वकर्मा । कोहलपुर ।
यसभन्दा अघि बैजनाथ–३ नौवस्ताकी पदमकला विकलाई केही समस्या प¥यो की छिमेकीको घरदैलो धाउनु पर्ने बाध्यता थियो । गाउँमा जति भौतारिँदा पनि कसैले पाँच सय रूपैयाँ सापटी दिन मान्दैन्थे । आफूसँग पैसा नहुँदा भौतारिनु परेका थुपै्र दुःखदायी क्षण उनीसँग आज पनि ताजै छन् । गाउँमा उनीजस्तै थुप्रै दलित समुदायका महिला थिए, जो आर्थिक अभाव, गरिबी र विभेद्ले पीडित बनेका ।
अभावले कमाउन सिकाउँछ भने झै पदमकलाले अभावलाई सम्पन्नतामा बदल्ने अठोट गरिन् । उनी स्थानीय एक सहकारीमा आबद्ध भइन् । सुरुमा बचत गर्न थालिन् । सहकारीले स्वरोजगारमूलक तालिम तथा सचेतना दिन थाल्यो । उनी भन्छिन्, ‘पछि सहकारीबाट ऋण लिएँ । व्यवसाय सुरु गरेँ । अहिले निकै राम्रो व्यापार चलिरहेको छ ।’
पाँच वर्षअघिसम्म गृहिणी विक अहिले उद्यमी महिलाका रुपमा उदाएकी छिन् । पदकला कुखुरा पालन व्यवसाय गर्दै आएकी छिन् । उनले यो व्यवसाय सञ्चालन गर्न सहकारीबाट सुरुमा एक लाख ऋण लिएकी थिइन् । अहिले कुखुरा फार्ममा सयौं कुखुरा छन् । कुखुरा व्यवसायबाट उनलाई मनग्य आम्दानी भइरहेको छ । कोहलपुर–१ कौशिलानगरमा आएकी ३० वर्षीया वसन्ती तिरुवाको परिचय पनि बदलिएको छ, अहिले उनी उद्यमी बनेकी छिन् । सहकारीमा आबद्ध भएरै गार्मेन्ट उद्योग सञ्चालन गरिरहेकी वसन्ती अहिले लाखौँ कमाउँछिन् ।
वसन्तीसँग अहिले, ‘एउटा पक्की घर छ । एक गार्मेन्ट उद्योग पनि । उद्योगमा करिब पाँच लाखभन्दा बढी लगानी छ । त्यही उद्योगमा उनी आफूमात्रै होइन अन्य तीनजनालाई पनि रोजगारी दिएकी छिन् ।’ आफूले अभाव झेल्दै कडा मिहेनत र लगनशीलतापछि उद्योगी बन्न सफल भएको उनको भनाइ छ ।
बैजनाथ–३ की रीना चदारा आफ्नो कमाइ नहुँदा चुरा किन्न पनि श्रीमान्को मुख ताक्नुपरेको तितो विगत सुनाउँछिन् । मजदुरी गरेर दैनिक गुजारा चलाउनुपर्ने घरको स्थिति थियो, उनको । बिरामी पर्दा दुईचार सयको अभावले साहुको घरदैलो धाउनुप¥थ्यो । अहिले रीना उल्टै अरूलाई ऋण दिन सक्ने भएकी छिन् । उनी लामो समयदेखि सहकारीमा वचत गर्दै आएकी छन् । सहकारीमै आबद्ध भएर कोहलपुर–२ की गीता सुनार चप्पल उद्योग सञ्चालन गर्न सक्ने भएकी छन् । स्थानीय सरकारबाट चप्पल उत्पादन तालिम लिएकी उनी सहकारीबाट ऋण निकालेर व्यवसायतर्फ लम्की रहेकी छिन् ।
कोहलपुरका विभिन्न पाँचवटा दलित महिला समूह मिलेर २०६३ मा संघर्ष महिला दलित वचत तथा ऋण सहकारी संस्था सञ्चालनमा ल्याएका थिए । स्थापनाको १६औँ वर्षसम्म आइपुग्दा यो सहकारी दलित समुदायका महिलाहरुका लागि वरदान सावित भएको छ । दलित समुदायका महिलाहरुको मुख्य नेतृत्वमा सञ्चालन हुँदै आएको सहकारीमा हाल २६ सय सेयर सदस्य छन् ।
छरिएको पुँजीलाई एकीकृत गर्दै दलित तथा विपन्नहरुको आर्थिक शसक्तिकरण गर्ने उद्देश्यले २५ जना दलित समुदायका महिलाहरुको सक्रियतामा स्थानपना भएको थियो । यो सहकारीको नेतृत्व पनि दलित समुदायका महिलाहरुले नै गर्दै आएका छन् । कोहलपुर–१, की दलित महिला वडा सदस्यसमेत रहेकी शिलता परियारले नेतृत्व गर्दै आएकी छन् ।
उनका अनुसार सहकारीको कूल १३ करोड पुँजी छ । उक्त पुँजीमार्फत सेयर सदस्यहरुको आर्थिक सशक्तिकरण र स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष परियार बताउँछिन् । ‘सहकारीमा आबद्ध महिलाहरुले सुरुमा एक सय रुपैयाँ वचत गर्थे । अहिले एक हजार रुपैयाँसम्म वचत गरिरहेका छन्,’ उनी भन्छिन्, ‘त्योभन्दा पनि महिलाहरुमा वचतसम्बन्धी जागरण आएको छ । आर्थिकरुपमा शसक्त हुँदै गएका छन् ।’
सहकारीले हाल १६ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । सयांै सेयर सदस्यले अनौपचारिकरुपमा स्वरोजगार बन्दै गएको उनको भनाइ छ । सहकारीले हाल बिमा, सुत्केरी भत्ताका लागि रोजगारी सिर्जना गर्नका लागि तरकारीका बिउविजनसमेत वितरण गरिरहेको उनले बताइन् । सहकारीका हाल ११ सय जना मात्रै बाल वचतकर्ता छन् । उनीहरुलाई समेत प्रोत्साहन गर्नेखालका कार्यक्रम सहकारीले सञ्चालन गर्दै आएको छ ।
यतिमात्रै होइन सहकारीमा आबद्ध दर्जनौं महिलाहरुले कुखुरा पालन, भैंसी पालन तथा खुद्रा व्यवसाय सञ्चालन गरिरहेका छन् । सहकारीकी व्यवस्थापक तुल्सी सुनार भन्छिन्, ‘पहिला उनीहरुको घरमा आम्दानीको स्रोत सीमित हुन्थ्यो । पैसाको लागि श्रीमान्को भर पर्ने अवस्था थियो । तर, अहिले आफैँ स्वरोजगार भएका छन् । महिलाहरुमा उद्यमशीलताका लागि आर्थिक शसक्तिकरण भएको छ । ’
प्रतिक्रिया दिनुहोस्