बिमा रकम लिन कोहलपुरका सर्जनको हत्याः पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश



जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले योजनाकारद्वय सञ्जीव अर्याल, दीपक केसी, मृतककी नक्कली श्रीमती सपना मल्ल, बिमा एजेन्ट सरदार अहमद खाँ र बस चालक टोपबहादुर रानालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

कृष्ण ओली । बाँके ।

कोहलपुरको बहुचर्चित बिमा रकम ठगीका लागि नक्कली बिहे गरेर दुर्घटनाका नाममा हत्या गरिएको घटनामा पाँच आरोपितलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सोमबार जिल्ला अदालत काठमाडौंले ठगी, लिखत र संंगठित अपराध मुद्दामा थुनछेक आदेश गर्दै आठजनामध्ये पाँचजना आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

तीन आरोपितलाई भने अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । ७५ दिन प्रहरी हिरासतमा बसेपछि उनीहरूलाई अदालतले रिहा गर्न आदेश दिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुुसन्धान सकाएर ठगी, लिखत र संंगठित अपराध मुद्दा सरकारी वकिलमार्फत दायर जिल्ला अदालत काठमाडौंमा दायर गरेको थियो । उक्त मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौंले थुनछेक आदेश दिएको हो ।

जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले योजनाकारद्वय सञ्जीव अर्याल, दीपक केसी, मृतककी नक्कली श्रीमती सपना मल्ल, बिमा एजेन्ट सरदार अहमद खाँ र बस चालक टोपबहादुर रानालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । घटनामा संलग्नताको बलियो प्रमाण नभएको भन्दै अदालतबाट ललिता सापकोटा, जानकी रिजाल र छविकुमारी खत्रीलाई साधारण तारेखमा छाड्ने आदेश भएको थियो ।

यो घटनामा ललिताको भूमिका सपनालाई सञ्जीव अर्यालसँग चिनजान गराउने थियो । त्यस्तै, जानकीले सपनालाई ललितासँग चिनजान गराएकी थिइन् । छविकुमारी खत्री सपना मल्लकी आमा हुन्, उनले बिमाबापतको रकम आफ्नो खातामा राखेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । सोही आधारमा उनीहरूलाई पनि प्रहरीले मुख्य अभियुक्त बराबर नै प्रहरी हिरासतमा राखेर मुद्दा चलाएको थियो ।

साढे दुई महिना हिरासतमा राखेर अनुसन्धान गरेका आरोपीहरूलाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि प्रहरीको अनुसन्धान शैलीमाथि प्रश्न उठेको छ । यो घटनामा बाँकेमा थप अनुसन्धान हुने भएकाले साधारण तारेखमा छाड्ने आदेश भएका आरोपी पनि प्रहरी हिरासतमै रहेको सिआइबीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए ।

उनका अनुसार थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले उनीहरूलाई काठमाठौंबाट बाँके पठाइएको बताए । ‘यहाँ पनि मुद्दा रहेकोले अदालतले साधारण तारेखमा छाड्न आदेश दिएका तीनजनालाई सिआइबीले हामीकँहा पठाएको छ,’ उनले मिसन टुडेसँग भने, ‘उनीहरूलाई लिनको लागि हाम्रो टोली बुटवल गएको छ । यहाँ ल्याएर मिसिल हेरेपछि मात्र थप कुरा भन्न सकिन्छ ।’

अहिले बाँकेमा उनीहरूविरूद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दा दर्ता रहेको छ । यसअघि योजनावद्धरूपमा हत्या भएको घटनालाई दुर्घटनाका रूपमा मुद्दा चलाइएको थियो । त्यसमा अब फेरि कर्तव्य ज्यान मुद्दा बाँकेमै मुद्दा चलाइनेछ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले घटनाको अनुसन्धान प्रतिवेदनका आधारमा असोजको पहिलो साता नै जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ९ असोजमा बयान सकिएपछि थुनछेक आदेशको तयारी भएको थियो । तर, सरकारी वकिलले न्यायाधीश दुर्गाबहादुर भुसालले यो मुद्दामा आदेश दिन नमिल्ने भन्दै इजलास सार्न माग गरे ।

यसैसँग जोडिएको एउटा मुद्दामा पहिला भुसालले फैसला गरेकाले उनले हेर्न नमिल्ने सरकारी वकिलको तर्कपछि न्यायाधीश भुसालले अर्काे इजलासले हेर्ने आदेश दिएका थिए ।

भोलिपल्टदेखि दसैंको बिदाले अदालत बन्द भएपछि सबै आरोपी थुनामै बसे । दसैंको बिदापछि अदालत खुलेकै पहिलो दिन सोमबार न्यायाधीश पराजुलीको इजलासबाट आदेश भएको थियो । ‘सामान्यतया, यस्तो हुँदैन,’ जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले भने, ‘सरकारी वकिलले दुर्गाबहादुर भुसाल श्रीमान्ले यो मुद्दा हेर्न नमिल्ने भनेर कुरा उठाएपछि गोलाप्रथामार्फत थुनछेकका लागि नयाँ इजलास तोकिएको हो ।’

२५ फागुन २०७८ मा जिल्ला अदालत बाँकेमा कार्यरत रहँदा न्यायाधीश भुसालले यही घटनासँग जोडिएको सवारी ज्यान मुद्दाको फैसला गरेका थिए । सर्जन विकको मृत्यु घटनामा त्यतिबेला ईलाका प्रहरी कार्यालय कोहलपुरले सरकारी वकिल कार्यालयमार्फत बाँके जिल्ला अदालतमा सवारी ज्यान मुद्दा दर्ता गरेको थियो । यो मुद्दामा न्यायाधीश भुसालले आरोपी चालक टोपबहादुर रानाक्षेत्रीलाई जम्मा ३० दिन कैद र तीन हजार जरिवानाको सजाय सुनाएका थिए भने मोटरसाइकल धनीसरदार अहमद खाँलाई सफाइ दिएका थिए ।

लापरबाहीका साथ सवारी चलाउँदा मात्र पनि १० वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म सजाय हुने सवारी तथा यातायात व्यवस्था ऐनको व्यवस्था छ । यही सजाय माग गरी प्रहरीले मुद्दा दायर गरेको थियो । त्यसैले बाँके जिल्ला अदालतले गरेको फैसलामाथि पनि प्रश्न उठाउने ठाउँ भएको प्रहरी अधिकारीहरू बताउँछन् । अहिले पनि उनकै इजलासमा यसको बयान भएको थियो । तर, सरकारी वकिलले प्रश्न उठाएपछि मात्र न्यायाधीश भुसालले इजलास सार्ने आदेश दिएका थिए ।

बसले किचेर मध्यरातमा गरिएको थियो हत्या

२०७८ वैशाख २ गते राति ११ बजे बसको ठक्करबाट सर्जनको किचेर हत्या भएको थियो । बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरस्थित भित्री सडकमा टोपबहादुर क्षेत्रीले चलाएको भे१ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट भे१०प १७२७ नम्बरको मोटरसाइकलमा सवार सर्जनलाई ठक्कर दिएको थियो ।

घटनाको दिन सर्जनलाई सञ्जीवले बियर खुवाएका थिए । नशा लागेपछि खोलामा बालुवा लोड गर्ने भन्दै सञ्जीव र सर्जन फरकफरक मोटरसाइकलमा त्यतातर्फ गएको अनुसन्धानबाट खुलेको सिआइबीले जनाएको छ । केही अघि बढेपछि सञ्जीवले तीव्र गतिमा आफ्नो मोटरसाइकल अघि बढाए, सर्जन बिस्तारै अघि बढे । बाटोमा एउटा बस रोकेर राखिएको थियो । सर्जनको मोटरसाइकल देख्नेबित्तिकै योजनाअनुसार बसले उनलाई पछ्याएर ठक्कर दिएको थियो ।

हत्याअघि नेपाल रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा गरिएको थियो । उसले नेपाल पुनर्बिमा कम्पनीमा पुनर्बिमा गरेको थियो । ठूलो बिमा गरेको एक महिनामै मृत्यु भएको घटनाप्रति पुनर्बिमाले आशंका व्यक्त गरेपछि रिलायन्स लाइफ इन्स्योरेन्सले प्रहरीमा उजुरी दिएको थियो । आरोपी पक्राउ परेपछि उनीहरूले थप दुईजनालाई त्यसैगरी हत्या गर्ने तयारी गरिरहेको खुलेको छ । घटनाका मुख्य योजनाकार सञ्जीव अर्यालको सिआइबीले जनाएको छ । जसले आफैँ पनि जीवन बिमा अभिकर्ताको तालिम लिएका थिए ।

मेटलाइफ इन्स्योरेन्सबाट दुई वर्षअघि तालिम लिएको, तर काम भने गरेनन् । तालिम लिएपछि उनले जीवन बिमाको फाइदाबारे थाहा पाएका थिए । त्यही ज्ञानलाई उनले अपराधमा प्रयोग गरेका हुन् । सुरूमा उनले आरती भन्ने ललिता सापकोटालाई नै त्यसरी सर्जनसँग विवाह दर्ता गराएर आफ्नो योजनामा सहभागी गराउन लागेका थिए । तर, उनको उमेर नपुगेपछि उनको साथी खोज्न लगाएको अनुसन्धानबाट खुलेको सिआइबीले जनाएको छ ।

त्यही क्रममा ललिताले सपना मल्ललाई सञ्जीवसँग भेट गराइदिइन् । सपना र ललिता स्कुलका सहपाठी हुन् । सपना जसरी पनि विदेश जान चाहन्थिन् । सञ्जीवले उनको महŒवाकांक्षा पूरा गरिदिने आश्वासन दिए । डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाइदिने र पैसा पनि दिने भन्दै त्यसरी नक्कली बिहे गरेर बिमा रकम लिने योजना सुनाए । त्यसमा उनी सहमत भएकी थिइन् । सोही योजनाअनुसार दुईजनाले २ चैत ०७७ मा विवाह दर्ता गराएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज २७ गते बिहीबार