नेपालगन्ज (बाँके) ।
‘ती पल्ला घरे लाहुरे दाइले
कोसेली बाँड्दैछन्
लाहुरेनी भाउजु मुसुमुसु हाँस्दै
भित्र र बाहिर गर्दैछिन्…’
चलचित्र ‘मुग्लान’ यो कालजयी गीत अहिले पनि दसैंमा उत्तिकै गुन्जिन्छ । १७ वर्षअघि बनेको मुग्लान चलचित्रको यो गीत दसैंमा गुन्जिने लोकप्रिय गीत पनि हो । रोजीरोटीका लागि लाहुरे बन्ने परम्परा सुरू भएदेखि घर फर्किने पर्वका रूपमा पनि स्थापित पर्व हो, दसैं ।
अरूबेला नभए पनि चाडबाडको समयमा बिदा पाउने भएकाले दसैं घर फर्किने सांस्कृतिक विम्बका रूपमा स्थापित भएको हो ।
अरुबेला बिदा नपाइँदा पनि चाडबाडमा बिदाको मेसो मिलाएर गाउँ फर्किनेको धुइरो लाग्छ । यसरी दसैं घर फर्किने चाडका रूपमा स्थापित भयो । दसैं नजिकिँदै जाँदा पिँढीमा बसेका बुढा आँखा तेजिला बन्दै परदेशी बाटो छोरो फर्किएको हेर्न पर्खिरहन्छन् ।
मुग्लानबाट लाहुरे दसैंमै घर फर्किन्छ । सुनसान गाउँ गुलजार बन्छ । निरस अनुहार उज्यालिन्छ । दसैंमा घर फर्किएको परदेशी र गाउँले साथीबीच दुःख साटासाट हुन्छ । दसैं गाउँ फर्किने पर्वका रुपमा बलियोसँग स्थापित भएको पर्व पनि हो । दसैंलाई घर फर्किने चाडका रूपमा स्थापित गर्नेमा अझ बढी भूमिका परदेश जाने सर्वसाधारणको लागि छ । हिउँदमा बाली भिœयाएर रोजगारीका लागि परदेशिनेहरू चाडबाडको खर्च जुटाएर दसैंमा घर फर्किन्छन् ।
रोजगारीका सिलसिलामा परदेशिन बाध्य नेपालीहरू फर्किएसँगै दसैंमा गाउँघर भरिभराउ हुन्छन् । यसरी बाध्यताले परदेशिएका घर फर्किने चाडका रूपमा दसैं स्थापित भएको छ । यस वर्षको दसैं सुरु भएसँगै कर्णालीका गाउँघरहरूमा दसैंको रौनकता पनि सुरु भइसकेको छ ।
हजुबुवा, बाको समयमा घर फर्किने चाडका रुपमा स्थापित दसैंमा अहिले पनि घर फर्किनेको माहोल उस्तै छ ।
सहरमा पढ्न बसेका विद्यार्थीसहित अन्य कर्मचारी, मजदुर, श्रमिक दसैंमा घर फर्किन्छन् नै । असोज महिनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म मनाइने दसैंलाई नेपालीको प्रमुख चाड पनि हो । नेपाल धर्म निरपेक्ष भइसक्दा पनि दसैं राष्ट्रिय चाडकैरुपमा स्थापित छ भने राज्यले चाडपर्वको सेवा सुविधादेखि बिदासमेत यसै समयमा दिने गरेको छ । यसैले पनि दसैंमा गाउँ फर्किने संख्या ठूलो हुन्छ । परिवेश फेरिए पनि पुस्तौँदेखि दसैंमा घर फर्किने चलन अहिले पनि फेरिएको छैन ।
जुम्लाको तिला गाउँपालिका–८ का खगेन्द्र नेपालीले भने, ‘मानव चोला कतिबेला कसलाई के हुन्छ थाहा हुँदैन । त्यसैले अरुबेला जो जहाँ भए पनि दसैंको बेला एकै ठाउँमा जम्मा हुने चलन स्थापित छ र अहिले पनि अरुबेला बिरानो हुने गाउँमा दसैको बेला रौनक छाउँछ ।’ मंगलबार नेपालगन्ज बसपार्कमा भेटिएका जुम्लाको तिला गाउँपालिका–८ का नेपालीले आफू दसैं मान्नकै लागि भारतबाट फर्किएको बताए । उनलाई जुम्ला पुग्ने हतारो थियो । कमाइका लागि उनको परिवार नै भारतको सिम्ला बस्दै आएको छ । यसपालि परिवार उतै छोडेर उनी मात्रै गाउँ फर्किएका छन् ।
बालबच्चासहित आउँदा बाटोमा अप्ठ्यारो हुने भएकाले दसैं मान्न एक्लै घर फर्किएको बताए । ‘वर्ष दिनमा एकपटक आउने चाडमा बुबाआमाको हातबाट टीका लगाउन घर फर्किएको हुँ,’ उनले भने, ‘सबै परिवार आउने मन थियो ।
तर, बाटोमा दुःख होला भनेर एक्लै आइयो ।’ कमाइका लागि भारत जानुपर्ने बाध्यता रहेको खगेन्द्र बताउँछन् । उनले दसैंलगत्तै फेरि भारत फर्किहाल्ने योजना पनि सुनाउँदै भने, ‘अर्को वर्ष दसैंमा घर आउन सकिएन भने अघिल्लो वर्ष त आमाबुवा, हजुरबुवा हजुरआमासँग टीका थापेको थिएँ भनेर चित्त बुझाउने बाटो हुने भएकाले पनि दसैंमा घर फर्किनैपर्छ ।’
रोजगारीका लागि परदेशिएकाले लामो बिदा नपाउने र यातायातलगायतका अन्य भौतिक सुविधाको अभावका कारण हिउँदमा परदेशिएकाहरू एकैपटक दसैंमा घर फर्किन्थे । अहिले यातायात, सडक, पूर्वाधारलगायतको सहजताका कारण अन्य समयमा पनि भेटघाट बाक्लै हुने गरेको छ । सहर बजारबाट गाउँ जानेको ताँती देखिन्छ । रोजगारी, पढाइ तथा काम विशेषले बाहिर रहेकाहरू दसैं लागेसँगै धमाधम गाउँ फर्कन थालेका छन् ।
यहाँ चाडपर्वकै लागि खर्चको जोहो गर्न भारत जानेहरू पनि धेरै छन् । दुई÷चार महिनाका लागि विदेशिएका यसैबेला फर्कन्छन् । गाउँमा रोजगारीका अवसर नहुँदा बाहिरिएका अहिले दसैं मान्न छर फर्किरहेका छन् । परदेशीका र सहर झरेका फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छ ।
दैलेखवासीका दीपक खत्री साउनको महिना रोपाइँ सकेर कमाउन भारत गएका थिए । उनी पनि अहिले गाउँ फर्किएका छन् । चाडपर्व खर्च जुटाउन थोरै समयका लागि उनी भारत गएका थिए । ‘यसपालि खासै कमाइ नभए पनि चाडपर्व मान्नकै लागि घर आए,’ खत्रीले भने । रोजगारीको सिलसिलामा भारत पसेकाहरू पनि घर फर्केकाले गाउँमा निकै चहलपहल बढेको उनले बताए ।
संस्कृति बदलियो, विकृति बढ्यो
मीठो मसिनो खाने, कमेरोले घर सिंगार्ने (रंग्याउने), शुभकामना आदानप्रदान गर्ने, चंगा उडाउने, पिङ खेल्ने, दुर्गा भक्तिपूजा गर्ने, मान्यजनसँग आर्शीवादको टीका थाप्ने आदि दसैका विशेषता हुन् । तर दसैंबिस्तारै फेरिँदै गएको छ । भकारीमा अन्नबाली भिœयाएसँगै भित्रिने दसैं अहिले तयारी सामान भिœयाएर सुरु हुन्छ ।
लोप हुँदै गएको दसैंको संस्कृतिसँगै दसैंका बेला आकाशमा चंगा उड्न छाडेका छन्, गाउँघरमा रोटे र लिंगे पिङ पनि लोप हुँदै जानुलाई सांस्कृतिक विचलनको नाम दिन्छन्, संगीत तथा संस्कृतिकर्मी कुलमान नेपाली । समय परिवर्तनसँगै संरक्षण गर्नुपर्ने संस्कृति भने बिस्तारै लोप हुँदै गएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्