दसैं मनाउन फर्किंदै परदेशी



नेपालगन्ज (बाँके) ।

दैलेखका बिर्खबहादुर केसी नेपालगन्जस्थित जमुनाह नाका हुँदै स्वदेश भित्रिए । कोभिड–१९ (कोरोना भाइरस) को जोखिम कम भएपछि उनी रोजगारीका लागि वैशाखमा भारत पुगेका थिए । दसैं मनाउन घर फर्किएका उनी मंगलबार जमुनाहमा भेटिए ।

दसैं मनाउन घर फर्किएका उनीमा खुसीको उमंग थियो । घर परिवारका लागि सरसामानसँगै उनले दसैंमा खुसी बोकेर ल्याए । उनीजस्तै सल्यानका चिरिञ्जीवी बुढा पनि दसैंको उमंग ल्याएर घर फर्किएका छन् । उनीहरुसँगै यतिबेला नेपाल–भारत सीमा क्षेत्रमा दसैंतिहार जस्ता पर्व मनाउन घर फर्किने नेपालीको चाप बढेको छ ।

घटस्थापना सुरु भएसँगै सीमा नाकामा घर फर्किने नेपालीको संख्या बढ्दै गएको हो । गाउँघरमै रोजगारी नपाउँदा चैतमा भारत गएको भन्दै चिरिञ्जीवीले भने, ‘घरमा खाली बस्नुभन्दा रोजगारीका लागि भारत पुगेको थिएँ । अहिले दसैं मनाउन घर आएको छुँ ।’ दसैंतिहार मनाएर पुनः भारत जाने उनी बताउँछन् ।

रोजगारीका लागि भारतका विभिन्न ठाउँमा पुगेका नेपाली घर फर्किन थालेपछि गाउँमा दसैंको उमंग छाएको छ ।
भारतको कानपुरमा रहेको होटलमा चौकीदारी काम गरेर फर्किएका रुकुम पश्चिमका खगबहादुर नेपालीले डेढ वर्षपछि बल्ल दसैं मान्न घर फर्किएको बताए । ‘घर फर्किने खबर सुन्दा घर परिवार सुखी भएका छन्,’ उनले भने, ‘घरमा पुगेपछि त झन कति खुसी होलान ।’ खुसीसाथ दसैं मनाउन घर फर्किएको उनी बताउँछन् । ‘खेतीपाती लगाएर रोजगारीका लागि जान्छौं,’ दसैं मनाउन घर फर्किएका रोल्पाका कृष्णमान पुनले भने, ‘चाडपर्व मनाउन आउँछौं र चाडपर्व मनाएर जान्छौं अनि खेतीपाती लगाउने बेला आउँछौं ।’

भारतको दिल्ली, मुम्बइ, महाराष्ट्र, पञ्जाब, पुने, बैंलोर, सिमला, हरिद्वारलगायतका सहरमा नेपाली रोजगारीका लागि सदियौँदेखि आउने जाने गरिरहेका छन् । ‘दैनिक दुई/तीन हजार बढी नेपालीहरु स्वदेश फर्किरहनुभएको छ । यो संख्या घटस्थापनाको दिनदेखि झन बढेको छ,’ ईलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज माधव रिजालले भने, ‘लामो समय रोजगारी गरेपछि चाडपर्व आफन्तसँग मनाउन घर फर्कने नेपालीहरु बढेका छन् ।’ यतिबेला सुरक्षाका लागि प्रहरीले समेत विशेष अभियान सञ्चालन गरेको उनी बताउँछन् ।

सीमा क्षेत्रमा लुटिनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा अभियान चलाएको प्रहरीले जनाएको छ । यतिबेला सीमा क्षेत्रमा बाक्लो भीडभाड बढेको छ । नागरिकहरु भारत जानेभन्दा पनि आउनेको संख्या नै बढी छ । जानेको संख्यामा भने कमी आएको छ । पश्चिम क्षेत्रका धेरै बासिन्दा रोजगारीका लागि भारत जाने गर्छन् । पश्चिमी दूरदराजका बासिन्दा रोजगारीका लागि भारत जाँदा सुनसान भएका बस्ती यतिबेला रमाइलो बनेका छन् । गाउँमा मान्छेको आवतजावत बढेको छ ।

भारतीय बजारमा घुइँचो

दसैं जति नजिकिँदै छ त्यति नै सिमानाको भारतीय बजार रुपैडियामा नेपालीको घुइँचो बढेको छ । दाल, चिनी, चामल, कपडा, साबुनलगायत सामग्री किन्न दैनिक नेपालीको रुपैडियामा ताँती लागेको छ । भारतमा सस्तोमा दैनिक उपभोगका सामग्री पाइने मनोविज्ञानका कारण सीमावर्ती बजारमा आउने गरेका छन् ।

प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रबार