राष्ट्रिय खेलकुद छनोट प्रतियोगिताः खेलकुद मन्त्रीकै जिल्लाका खेलाडी पोसाकविहीन



संघीय सरकारका खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ नै बाँके जिल्लाका हुन् । खेलकुद मन्त्रीकै जिल्लामा जिल्लास्तरीय छनोट खेलमा सहभागी खेलाडीहरुले पोसाक पाएनन् । हुनेले जुत्ता किनेर लगाए । नहुनेले खाली खुट्टै छनोटमा सहभागिता जनाइरहेका छन् । खेलकुद मन्त्रीलाई जानकारी गराउँदा समेत खेलका लागि पोसाक लगायत व्यवस्थापनमा सहयोग नभएको बाँके जिल्ला खेलकुद विकास समितिले जनाएको छ । खेलकुद मन्त्रीकै जिल्लामा खेलाडीहरुप्रति गरिएको व्यवहार नजिकैबाट देख्नेहरु दुखी छन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

उनीहरु राष्ट्रिय खेलकुद प्रतियोगिताको लुम्बिनी प्रदेशस्तरीय छनोटमा सहभागी हुन रोल्पाबाट आएका हुन् । तर उनीहरुका शरीरमा आधिकारिक पोसाक छैन । पोसाकबिनै उनीहरु छनोट खेलमा सहभागी भएका छन् । एकजना खेलाडीले गुनासो पोखे, ‘खेलाडीलाई खेलाडीको जस्तो व्यवहार नै गरिएन ।’ बर्दियाबाट आएका अरुणिमा थारु लगायतका खेलाडीले पनि पुरानै पोसाक लगाएर भारोत्तोलनको छनोटमा सहभागी भए । जुत्ता पनि उनीहरु आफैले किनेका हुन् ।

असोज २८ गतेदेखि गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट खेल नेपालगन्जमा सुरु भएको छ । तर छनोटमा सहभागी खेलाडीहरुलाई आवश्यक स्रोत साधनको व्यवस्था गरिएको छैन । पोसाक, जुत्तालगायतका सुविधाहरु त परै जाओस्, खेलाडीहरुको खाना र बासको लागि तोकिएको राष्ट्रिय मापदण्डअनुसार दुई हजार प्रतिदिन भत्ता पाउनुपर्नेमा लुम्बिनी प्रदेशमा बजेट अपुग भएको भन्दै मात्रै एक हजार दुई सय रुपैयाँ दिने निर्णय गरिएको छ ।

यसले खेलाडीहरुलाई खर्चको जोहो गर्नै मुस्किल हुने देखिएको छ । एक हजार दुई सय रुपैयाँले खान, बस्न र यातायात खर्च धान्न नसकिने खेलाडीहरु बताउँछन् । एक खेलाडीले भने, ‘होटेल कति महंगो छ । खाना त्यस्तै छ । १२ सयले कति पुग्छ र ? फेरि गाडीभाडा पनि पूरा नपाइने सुनिरहेको छुँ । उपयुक्त डाइटको लागि पनि आफैले खर्च गर्नुपर्ने अवस्था छ ।’ प्रदेशस्तरीय छनोट खेलको व्यवस्थापन प्रदेश खेलकुद परिषद्ले गरिरहेको छ । जिल्ला खेलकुद विकास समितिले स्थानीय स्तरमा सहजीकरणको भूमिका निभाइरहेको छ ।

जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष सन्दिपजंग शाह सरकारले खेलाडीलाई सम्मान गर्न नसकेको बताउँछन् । उनले खेलाडीहरुलाई दिनुपर्ने सुविधामा कटौती गरेर राम्रो प्रतिफलको आशा गर्न नमिल्ने बताए । आक्रोश पोख्दै उनले भने, ‘मैले मन्त्रीज्यूहरुलाई भेटेर भनिपनि दिएको छु कि यस्तै हो भने यो खेल विधा नै बन्द गराइदिनुस् ।’

प्रदेश खेलकुद परिषद्, लुम्बिनी प्रदेशका सदस्य सचिव जय प्रकाश भट्टराई धेरै चुनौतीका बीच आफूहरुले क्रियाकलाप अघि बढाइरहेको स्वीकार्छन् । उनले प्रदेश स्तरको छनोटमा सहभागी हुने जिल्लाका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिले नै पोसाकलगायतको व्यवस्था गर्नुपर्ने बताए । खाना र बासको असुविधाका सम्बन्धमा आफूहरुले होटल व्यवसायीलाई सकेसम्म सस्तो शुल्कमा राम्रो बास र आवश्यक डाइटको व्यवस्था गर्न अनुरोध गरेको उनको दाबी छ । उनले बजेट कम भएका कारण प्रदेश सरकारले खेलाडीहरुको भत्ता घटाएको बताए ।

मन्त्रीकै जिल्लाका खेलाडीले पाएनन् पोसाक 

बाँके जिल्लाबाट अहिले संघीय र प्रदेश सरकारमा गरी दुईजना मन्त्रीको प्रतिनिधित्व छ । झन् संघीय सरकारका खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ नै बाँके जिल्लाका सांसद हुन् । खेलकुद मन्त्रीकै जिल्लामा जिल्लास्तरीय छनोट खेलमा सहभागी खेलाडीहरुले पोसाक पाएनन् । हुनेले जुत्ता किनेर लगाए । नहुनेले खाली खुट्टै छनोटमा सहभागिता जनाए । बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिपजंग शाह राज्यले खेलाडीहरुप्रति गरेको व्यवहार नजिकबाट भोग्नुपर्दा अत्यन्त दुःख लागेको बताउँछन् ।

उनका अनुसार जिल्लास्तरीय छनोट खेलका लागि पोसाक लगायत व्यवस्थापनमा सहयोग कतैबाट पनि उपलब्ध भएन । खेलाडीले पोसाकबिनै छनोट खेलमा सहभागिता जनाए । पूर्व बास्केटबल खेलाडीसमेत रहेका शाह भन्छन्, ‘खेलाडी हुँदासम्म केही कुरा बुझिन होला । जब समितिमा आएँ तब मलाई धेरै कुरा थाहा भयो । खेलाडीलाई यतिसम्म अपमान गरिएको छ कि यस्तै हो भने खेल विधा बन्द गरौँ । खेलाडीको भविष्य बर्बाद नगरौँ ।’

जिल्लामा ३० वटा खेलहरुको छनोट खेल गराइएको थियो । उक्त खेलका लागि एक रुपैयाँ बजेट पनि नआएको शाहले बताए । ‘एकजनाको हड्डी भाँचियो हामीहरु मिलेर उपचार गरायौँ । धन्न ठूलो दुर्घटना हुन पाएन ।’ उनले खेलाडीहरुका लागि व्यक्तिगत खर्चमा प्रदेशस्तरीय छनोटमा सहभागी हुने करिब पाँच सय खेलाडीलाई पोसाकको व्यवस्था गराएको बताए । जुत्ताको भने व्यवस्था गर्न नसकिएको उनको भनाइ छ ।

मन्त्रीकै जिल्लामा खेलाडीहरुले पोसाक नपाउनु दुःखद भएको भन्दै उनले आक्रोश व्यक्त गरे । उनले माथिल्लो सरकारले सहयोग नगरिरहेको अवस्थामा जिल्लाका स्थानीय सरकारले पनि सहयोग नगरेको बताए । ‘हामीले जिल्लास्तरीय छनोट खेलमा सबै स्थानीय तहका जनप्रतिनिधिलाई बोलाएका थियौँ । त्यसमा डुडुवाको एकजना उपाध्यक्षबाहेक अरु कोही पनि आइदिएनन् । सुन्नमा आयो त्यहीदिन जनप्रतिनिधिहरु एउटा एनजिओको युवालक्षित भनिएको कार्यक्रममा हुनुहुन्थ्यो रे ।’

अहिले नेपालगन्ज र राप्तीसोनारीले एक–एक लाख र कोहलपुर नगरपालिकाले ५३ हजार सहयोगको बाचा गरेको तर प्राप्त नभएको शाहले बताए । सीमित स्रोत साधनका बीच पनि खेलाडीहरुको उत्साहले आएको नतिजाबाट आफू आश्चर्यचकित भएको उनले
बताए । फुटबलमा बाँके जिल्ला प्रदेशस्तरमा प्रथम भएको छ । अन्य खेलमा पनि बाँकेका धेरै खेलाडीहरु छनोट हुने अपेक्षा उनले व्यक्त
गरे ।

फितलो व्यवस्थापन

शनिबारबाट नेपालगन्ज रंगशालामा बक्सिङको प्रदेशस्तरीय छनोट खेल हुने तालिका तय गरिएको थियो । तर अपरान्ह साढे दुई बजेसम्म पनि खेल सुरु भएको थिएन । बक्सिङमा प्रदेशका विभिन्न जिल्लाबाट ८० जना खेलाडीहरु सहभागी छन् ।

उनीहको छनोट आज आइतबारसम्म गरिसक्ने तालिका तय गरिएको छ । बक्सिङको एउटा खेलाडीले एउटा खेल खेलेको कम्तिमा १२ घण्टापछि अर्काे खेल खेल्नुपर्ने हुन्छ । तर ८० जना खेलाडीलाई दुई दिनमा खेलाएर उत्कृष्ट छनोट गर्ने भनिएको छ । यसैबाट थाहा हुन्छ कति फितलो तरिकाले खेलाडीहरुको छनोट हुँदै छ ।

प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई पनि छोटो समयमा छनोटको काम सक्नुपर्ने बाध्यताले आफूहरुलाई चुनौती थपिएको बताउँछन् । खेलाडीहरुले बढीमा एक महिनाको तयारी मात्रै गर्न पाएका छन् । त्यसैमाथि हतारमा छनोटको काम गर्न लागिएको छ । खेलाडीहरु भन्छन्, ‘मन्त्रीलाई आफ्नै पालामा प्रतियोगिता सक्नुपर्ने हतारले खेलाडीमाथि खेलबाड गरिएको छ ।’

लुम्बिनी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियागितामा सहभागीता जनाउने विभिन्न ३६ खेलमध्ये ११ वटा खेलहरुको छनोटका खेल बाँकेमा आयोजना गरेको छ । करिब एक हजार ८ सय खेलाडीहरु छनोटमा भाग लिन बाँके आएका छन् । जसमा भारोत्तोलन, बक्सिङ र बास्केटबलको छनोट शनिबार सुरु भएको छ भने आइतबारबाट सुटिङ, उसु, जुडो, हक्की (महिला र पुरुष), जिम्नाष्टिक, कुस्ती, साइक्लिङ र पौडीको छनोट सुरु हुने तालिका छ ।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतबार