जयन्दु बालसुधार गृहले पायो नयाँ भवन



नेपालगन्ज ।

डुडुवा गाउँपालिका वडा नम्बर ६ मा रहेको जयन्दु बालसुधार गृहले नयाँ भवन पाएको छ । सुधार गृहको तीन तले नवनिर्मित भवनको नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरेकी हुन् ।

भवनको उद्घाटन गर्दै मन्त्री रेग्मीले परिबन्धमा परेर सुधार गृहमा बस्नुपरेका बालकका लागि गास, बास र कपासको अधिकारमा तलमाथि हुन नदिने प्रतिबद्धता व्यक्त गरिन् ।

साथै उनले सुधार गृहलाई प्रभावकारी बनाउन तालिम तथा शिक्षाको व्यवस्थामा सुधार ल्याउने बाचा पनि गरेकी छन् । २०७८ साल असार ३० गते निर्माण सुरु भएको भवनको निर्माण कार्य तोकिएको समयभन्दा पाँच महिना अघि नै सम्पन्न भएको हो । यादव कन्स्ट्रक्सनले दुई करोड २५ लाखको लागतमा निर्माण कार्य सम्पन्न गरेको हो । समयमै निर्माण कार्य सक्ने निर्माण कम्पनीलाई कार्यक्रममा मन्त्री रेग्मीले सम्मान गरेकी थिइन् ।

१० ओटा कोठा रहेको तीन तले भवनमा डाइनिङ हल, स्टोर किचन, सेक्युरिटी रुम, अध्ययन कक्ष, पुस्तकालय, काउन्सिलिङ रुम, प्राथमिक उपचार कक्ष, मेडिटेसनहल छन् । संघीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत युसेप नेपाल नाम गैरसरकारी संस्थाले व्यवस्थापन गरिरहेको सुधार गृहमा मात्र ७० जनालाई राख्ने क्षमता छ ।

तर, अहिले एक सय १२ जना बालक यहाँ बस्नुपरिहेको छ । नयाँ बनेको भवनका पाँचवटा कोठामा मात्रै बालक राखिने सुधार गृहका इञ्चार्ज किमला काउयचाले बताइन् । अहिले बनेको भवनले पनि चाप थेप्न नसक्ने उनको अनुमान छ ।

बालबालिकाले अपराध गर्दैनन् गल्ती गर्छन् र उनीहरुलाई उपयुक्त वातावरण दिएर सही मार्गमा दिशान्तर गर्न सकिन्छ भन्ने बालन्यायको सिद्धान्तमा आधारित भई कानुनीरुपले विवादमा तानिएका बालबालिकाहरुलाई उपल्लो उमेर समूहका व्यक्तिहरुलाई भन्दा फरक व्यवस्था गर्दै सुधारेर असल नागरिक बनाउने उद्देश्यले २०७५ भदौबाट बालसुधार गृह सञ्चालनमा आएको थियो ।

विद्यालय स्वीकृति र कर्मचारीको माग

सुधार गृहमा रहेको विद्यालयलाई स्वीकृति दिनुपर्ने, कर्मचारी तथा सुरक्षाकर्मी थप्नुपर्ने माग मन्त्रीसमक्ष गरिएको छ । कक्षा पाँचदेखि कक्षा ८ सम्म पढाइ हुने भनिएको विद्यालयलाई स्वीकृति नदिइएको र शिक्षकहरु पनि नदिइएको भन्दै सुधार गृहका जग्गादाता जयकेश सिंहले भवन उद्घाटन विद्यालयलाई स्वीकृति दिन कार्यक्रममा माग गरे । विद्यालयमा हाल दुईजना मात्रै शिक्षक छन् । त्यसमध्ये एकजना शिक्षकमात्रै सरकारले उपलब्ध गराएको हो । विद्यालयले अझै आफ्नो नाम पाएको छैन भने स्वीकृति पनि पाएको छैन । शिक्षकको अभावमा यहाँ रहेका बालबालिकाले उपयुक्त शिक्षा पाउन सकिरहेका छैनन् ।

यसैगरी सुधार गृहका लागि शाखा अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा नायब सुब्बा, लेखापाल, सवारी चालकलगायत आठजना कर्मचारीको दरबन्दी छ । तर, उक्त दरबन्दीअनुसार हाल एकजना कर्मचारी पनि छैनन् । बालसुधार गृह सञ्चालनको जिम्मा युसेप नामक एक गैरसरकारी संस्थाले लिएको छ । उक्त संस्थाबाट एकजना काउन्सिल इञ्चार्ज र एकजना वार्डेन गरी दुईजना कर्मचारी खटिएका छन् ।

काउन्सिल इञ्चार्ज विमला काउचाले नै अहिले सुधार गृहको नेतृत्व सम्हालिरहेकी छन् । उनले भ्याउने जिम्मेवारी भनेको बालबालिकालाई सामाजिकीकरण र मनौवैज्ञानिकरुपले असल नागरिक बन्न प्रेरित गर्नेगरी काउन्सिल गर्ने मात्रै हो । तर, उनैले अहिले प्रशासनिक र अदालतमा कानुनी प्रक्रियाका काम फत्ते गर्नेदेखि आवासीय व्यवस्थासम्मको सबै काम भ्याउनुपर्ने अवस्था छ । भवनको उद्घाटन कार्यक्रममा सहभागीले सुधार गृहका लागि कर्मचारी थप गर्न र सुरक्षाकर्मीको दरबन्दी कायम गर्न माग गरे ।

‘सीप विकास कार्यक्रम सुरु गर्छाैँ’

भवनको उद्घाटन गर्दै मन्त्री रेग्मीले सुधार गृहमा बसिरहेका बालकका लागि सीपमूलक कार्यक्रम सुरु गर्ने प्रतिबद्धता पनि जनाइन् । व्यवस्थापन गरिरहेको युसुप नेपाल प्रतिनिधिहरुलाई निर्देशन दिँदै उनले छिट्टै सीपमूलक कार्यक्रम सञ्चालन हुने आश्वासन बालकलाई दिइन् ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री सर्वदेवप्रसाद ओझाले सुधार गृह परिसरमा प्राविधिक शिक्षा दिने शिक्षालयको आवश्यकता रहेको बताएका छन् । उनले त्यसका लागि गुरुयोजना बनाउन पनि माग गरे ।

जग्गादातालाई सम्मान

बालसुधार गृह रहेको जमिन नेपाल सरकारलाई दान गरेका जग्गा दातालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सम्मान गरेकी छन् । मन्त्री रेग्मीले सुधार गृहलाई चार बिघा दुई कठ्टा जमिन दान गर्ने नेपालगन्ज–९ निवासी जयकेश सिंह र इन्दु सिंह दम्पत्तिलाई दोसल्ला ओढाएर तथा कदरपत्र प्रदान गरेर सम्मान गरेकी हुन् ।

सिंहले दान दिएको चार बिघा दुई कठ्टा जग्गामा अहिले सरकारले बालसुधार गृह सञ्चालन गरिरहेको छ भने अर्काे १० कठ्टा जमिन मानव सेवा आश्रमलाई दान गरेका छन् । जग्गादाता सिंहले आफूसँग भएको सम्पत्ति अरुका लागि काम लागोस् आफ्नो नाम सदाका लागि जीवित रहोस् भनेर जग्गा दान गरेको बताए ।

उनले कुनैबेला आफ्नो पूरै घर खानतलासी गर्दा मात्र ३५ रुपैयाँ फेला परेको र एउटा प्रतियोगितामा जान अप्ठ्यारो भएको घटना सुनाउँदा कार्यक्रम भावविह्वल बनेको थियो ।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहीबार