डुडुवा गाउँपालिकामा संकटः कर्मचारीले दसैंमा तलबसमेत नपाउने



करारका कर्मचारीहरु अन्यौलमा छन् । कतिपय कर्मचारीहरुले अन्यत्र जागिरको खोजी गर्न थालिसकेका छन् । पहुँच भएका कर्मचारीहरुले अन्यत्र सरुवा लिएर गइसकेका छन् ।

कर्मचारीहरुकै शब्दमा गाउँपालिकाको अवस्था ‘महाबर्बाद’ छ । एक कर्मचारीले भने, ‘दसैं त बरु अर्काे वर्ष मनाइन्थ्यो । अहिले त दैनिक खर्च नै धान्न मुस्किल भइसक्यो । केटाकेटीहरुको स्कुल फीसमेत तिर्न नसक्ने अवस्था आइसकेको छ ।’

नेपालगन्ज ।

दसैं आउन अब एक हप्ता बाँकी छ । तलबी कर्मचारीहरुका लागि यो समय उत्साहको समय हो । तर बाँकेको डुडुवा गाउँपालिकाको आलेप शाखामा कार्यरत नायब सुब्बा सुजल बस्नेतमा कुनै उत्साह छैन । कारण यसवर्ष गाउँपालिका बजेट र कार्यक्रमविहीन छ । बजेट नआएका कारण गाउँपालिकाले कर्मचारीहरुलाई तलब खुवाउन पाएको छैन । दसैंअघि तलब आउने सम्भावना पनि छैन ।

गाउँपालिकाका कर्मचारीहरु अहिले प्रायः कामबिहीन छन् । दैनिक प्रशासनिक र सिफारिसबाहेकका कामहरु ठप्प छन् । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद पनि रिक्त भएको दुई महिनाभन्दा बढी भइसकेको छ । कर्मचारीहरुमा चरम निराशा छाएको छ । कार्यालयमा आएर पनि काम नहुने भएपछि अधिकांश कर्मचारीहरु हाजिर लगाएर फर्किने गरेका छन् । करारका कर्मचारीहरु अन्यौलमा
छन् । कतिपय कर्मचारीहरुले अन्यत्र जागिरको खोजी गर्न थालिसकेका गाउँपालिकाका एक कर्मचारीले बताए ।

पहुँच भएका कर्मचारीहरुले अन्यत्र सरुवा लिएर गइसकेका छन् । कर्मचारीहरुकै शब्दमा गाउँपालिकाको अवस्था ‘महाबर्बाद’ छ । एक कर्मचारीले भने, ‘दसैं त बरु अर्काे वर्ष मनाइन्थ्यो । अहिले त दैनिक खर्च नै धान्न मुस्किल भइसक्यो । केटाकेटीहरुको स्कुल फीसमेत तिर्न नसक्ने अवस्था आइसकेको छ ।’

गाउँपालिकाका कर्मचारीहरु दसैंमा तलब कसरी जोहो गर्ने भनेर अहिले तनावमा छन् । एकजना कर्मचारीले जनप्रतिनिधिहरुको मनोमानीका कारण आफूहरु मात्रै नभै गाउँपालिकाबासीहरु नै समस्यामा परेको बताए । ‘हामी त ऋण दान गरेर भएपनि चलाऔँला । तर यत्रो गाउँपालिकाको सम्पूर्ण काम अवरुद्ध भएको छ । यसको क्षति कसले ब्यहोर्ने ?,’ उनले भने ।

गाउँपालिकाका लेखापाल नारायणप्रसाद सापकोटाका अनुसार अहिले सबै कर्मचारीहरुमा चरम असन्तुष्टि छ । भन्न मात्र सकेका छैनन् । गाउँपालिकाको खाता ठप्प छ । अब गाउँपालिकाको खाता कहिले सुचारु हुन्छ ठेगान पनि छैन । डुडुवामा जसपा र एमाले मिलेर कांग्रेसबाट निर्वाचित पालिका अध्यक्ष नरेन्द्र चौधरीलाई बजेट नै प्रस्तुत गर्न नदिएपछि गाउँसभा तीनपटक असफल भईसकेको छ । बजेट नआउँदा गाउँपालिकाका कर्मचारीहरुले यसवर्ष दसैंमा तलब नपाउने अवस्था मात्रै आएको छैन, गाउँपालिका नै कार्यक्रम र योजनाविहीन बनेको छ ।

गाउँपालिका अध्यक्ष चौधरी जनता समाजवादी पार्टीका कारण गाउँपालिका अस्तव्यस्त भएको बताउँछन् । कर्मचारीमाथि परेको पीडाबारे आफू अवगत रहेपनि अहिले केही गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । तिहारअघि गाउँपालिकाको समस्या समाधान हुनेमा उनी आशावादी छैनन् ।

तोडिएन संवादहिनता

बजेट ल्याउने विषयमा पछिल्लो समय जनप्रतिधिहरुबीच संवाद नै हुन सकेको छैन । जसपा र एमालेका जनप्रतिनिधिहरुले अध्यक्षका विरुद्ध मोर्चाबन्दी गरेका छन् । जबकी अहिले सत्तारुढ गठबन्धनअनुसार कांग्रेस र जसपा एकसाथ हुनुपर्ने हो । तर, डुडुवामा गठबन्धन भन्दा पनि अध्यक्षको अलोकतान्त्रिक चरित्रका कारण आफूहरुले मोर्चाबन्दी गर्नुपरेको जसपा र एमालेका जनप्रतिनिधिहरुको भनाइ छ । जसपा र एमालेले गाउँसभा चल्न नदिएर अनिर्णयको बन्दी बनाइएको भन्दै डुडुवाका स्थानीयहरुले अदालतमा रिट पनि दायर गरेका छन् ।

गाउँपालिकामा अहिले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु छन् । कांग्रेसबाट अध्यक्ष र उपाध्यक्षसहित एकजना वडाध्यक्ष गरी तीनजना, जसपाबाट तीन जना वडाध्यक्ष र एमालेबाट दुई जना वडाध्यक्ष निर्वाचित भएका छन् । निर्वाचनपछि जसपा र एमालेले गठबन्धन गरेपछि डुडुवाको कार्यपालिकामा कांग्रेस तीन जना सदस्यमा सिमित भयो

१४ जना कार्यपालिका सदस्यमध्ये तीनजना मात्रै कांंग्रेसबाट रहेका छन् । यसरी गाउँपालिकाको नेतृत्व गरेका अध्यक्ष नरेन्द्र चौधरीको पार्टी अल्ममतमा परेपछि अरु पार्टीलाई साथमा नलिइकन गाउँसभा नै गर्न नसक्ने स्थिति आयो । तर अध्यक्ष चौधरी बहुमत सदस्य भएका पार्र्टीलाई साथमा लिनुको सट्टा एकलौटी निर्णय गर्ने र मनोमानी तवरले अघि बढ्दा समस्या भएको जसपा र एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरु बताउँछन् । राजनीतिको चेपुवामा परेर डुडुवा गाउँपालिका अस्तव्यस्त बनेको हो ।

जसपा र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको मुख्य माग वडाअनुसार बजेट तोक्नुपर्ने रहेको छ । तर अध्यक्ष चौधरीले एकमुष्ट बजेट मात्रै गाउँपालिकामा प्रस्तुत गर्न खोजेपछि उनीहरुले बैठकमा सहभागिता नै नजनाएर असफल बनाइरहेका छन् । जसपा र एमालेका जनप्रतिनिधिहरुको अन्य मागहरुमा करारका कर्मचारीहरुबारे पुनर्विचार गर्नुपर्ने र अध्यक्षले सबैलाई समेटेर लैजाने प्रतिबद्धता जनाउनुपर्ने रहेका छन् ।

यता जिल्लास्तरका नेताहरु पनि डुडुवाको संवादहिनता अन्त गर्न वातावरण बनाउनेमा केन्द्रित छैनन् । केही दिनअघि कांग्रेस जिल्ला सभापति नारायणप्रसाद गौडेलले डुडुवामा गठबन्धनकै दल जसपाले बजेट ल्याउन रोकेकोमा गठबन्धनको औचित्यमाथि प्रश्न उठाएका
थिए । अहिले डुडुवा पनि समावेश बाँके क्षेत्र नम्बर– २ मा जसपाका नेता मो. इश्तियाक राई गठबन्धनको साझा उम्मेदवार हुने पक्कापक्की जस्तै छ । डुडुवाका अध्यक्ष चौधरी यस्तै हालतमा गठबन्धन एक भएर चुनावी मैदानमा जानेमा आशंका व्यक्त गर्छन् ।

कांग्रेस सभापति पौडेलले मिसन टुडेसँग कुरा गर्दै अहिलेसम्म जिल्लाको राजनीतिक तहबाट डुडुवाको समस्या समाधान गर्ने विषयमा कुनै छलफल नभएको बताए । उनले छलफल गर्नेबारे पनि कुराकानी नभएको बताए । ‘यसबारेमा धेरै कुरा बुझ्न बाँकी छ । सबैकुरा बुझेर आवश्यक सहजीकरण गर्न हामी लाग्नेछौँ,’ गौडेलले भने ।

यता जसपाका बाँके जिल्ला अध्यक्ष कमरुद्धिन राई कांग्रेस संवादमा नै आउन नचाहेको बताउँछन् । आफूले संवादका लागि सभापतिसँग प्रयास गरेको भएपनि राम्रो प्रतिक्रिया नआएको उनले बताए । गाउँपालिका अध्यक्षले अन्य स्थानीय तहको जस्तै वडातहलाई पनि बजेटको सिलिङ दिएर बजेट ल्याउने हो भने समस्या समाधान हुने राईको भनाइ छ । ‘यसका लागि हामीले संवादको प्रयास पनि गरेका हौँ । तर उहाँहरुबाट सकारात्मक कुरो आएन । फेरिपनि हामी समस्या समाधानका लागि प्रयास गरिरहेका छौँ,’ राईले भने ।

‘आगामी सहकार्यमा आशंका’
नरेन्द्र चौधरी
अध्यक्ष, डुडुवा गाउँपालिका

डुडुवा अहिले अस्तव्यस्त हुनुमा जनता समाजवादी पार्टी मुख्य कारण हो । बहुमतको बलमा जबरजस्ती गर्न खोजेपछि कहाँ हुन्छ ? जनता र कर्मचारीमाथि त ठूलो पीडा छ नि । तर यस्तो अवस्थामा हामीले पनि केही गर्न सकिने स्थिति छैन ।

तिहारअघि गाउँपालिकाको समस्या समाधान होला जस्तो लाग्दैन । यस्तै हो भने चुनावमा जसपासँगको सहकार्य सफल हुनेमा पनि शंका लागेको छ ।

‘यसबारेमा बुझ्दै छौँ’ 
नारायणप्रसाद गौडेल
सभापति, नेपाली कांग्रेस बाँके

डुडुवाको समस्या हाम्रो जानकारीमा छ । तर अहिलेसम्म जिल्लाको राजनीतिक तहबाट समस्या समाधान गर्ने विषयमा कुनै छलफल भएको छैन । फेरि यो स्थानीय सरकारको पनि कुरो प¥यो ।

उहाँहरुबीच नै समाधान होस् भन्ने हाम्रो चाहना हो । यसबारेमा धेरै कुरा बुझ्न बाँकी छ । सबैकुरा बुझेर आवश्यक सहजीकरण गर्न हामी लाग्नेछौँ ।

‘संवादको प्रयास सफल भएन’
कमरुद्धिन राई
अध्यक्ष, जसपा बाँके

हामीले त प्रयास गरेका हौँ । तर उहाँहरु नै संवादमा आउन चाहनुभएन । सभापतिजीसँग एक पटक बसेर छलफल गरौँ भन्ने प्रस्ताव पनि गरेको
हुँ । उहाँहरु नै मान्नुभएन । बहुमतकै बलमा सबै गर्ने भन्ने हुँदैन ।

त्यसो हुन्थ्यो भने त नेपालगन्जमा पनि हुन्थ्यो होला । गाउँपालिका अध्यक्षले अन्य स्थानीय तहको जस्तै वडातहलाई पनि बजेटको सिलिङ दिएर बजेट ल्याउने हो भने समस्या समाधान हुन्छ ।

प्रकाशित मिति : २०७९ असोज ३ गते सोमबार