नरैनापुर (बाँके) ।
नरैनापुर–५ जमुनाहका जलिल मनिहार बटैया (अधियाँ) लगाउँछन् । १० कट्ठा जमिनमा बटैया लगाउने उनलाई परिवार सञ्चालन गर्नै मुस्किल हुन्छ । कुनै वर्ष बाली सप्रिएन भने उनको घरमा खान समस्या हुन थाल्छ । यस वर्ष भने वर्षा नहुँदा उनले रोपाइँ गर्नै पाएनन् ।
गत वर्ष पनि लगाएको धानबाली पनि बेमौसमी वर्षाले सखाप पारिदियो । गत वर्ष उत्पादन नहुनु र यस वर्ष रोपाइँ नहुँदा उनलाई परिवार चलाउनै हम्मेहम्मे भएको छ । उनीजस्तै वडा नम्बर ४ का असफाख खाँले यस वर्ष रोपाइँ गर्नै पाएनन् । ५० कट्ठामा धान लगाउने उनले यस वर्ष मुस्किलले दुई बिगाहमा मात्र धान रोपेका छन् ।
त्यो पनि बोरिङमार्फत । ‘यस वर्ष यहाँ पानी नै परेन,’ उनले भने, ‘बोरिङबाट पूरै खेतमा रोपाइँ नै गर्न पाइएन ।’ धानको ब्याड राख्न पनि समस्या भएको थियो । करिब ४०÷४५ क्विन्टल धान उत्पादन हुने उनको खेतमा यस वर्ष धेरै न्यून उत्पादन हुने देखिन्छ ।
१२ जनाको परिवार भएको उनलाई यो उत्पादनले परिवार पाल्नै मुस्किल देखिन्छ । ‘पानी नपर्दा धान रोपाइँ गर्न पाइएन,’ उनी भन्छन्, ‘गत वर्ष पानीले खेतमै धान कुहियो । यस वर्ष रोपाइँ गर्न पाइएन ।’ त्यसभन्दा पहिला उत्पादन भएको धान बिक्री गरिएको र गत वर्ष धान उत्पादन नभएको भन्दै उनले भने, ‘सिँचाइ नहुँदा यस क्षेत्र सुख्खाग्रस्त भयो । सयौं किसानले रोपाइँ गर्नै पाएनन् ।’
४० कट्ठा जमिनमा खेतीपाती गर्दै आएका इसराफिल खाँको पनि जमिन बाँझै छ । सिँचाइ अभावमा उनले पनि यसपालि धान मात्र होइन, खेतबारीमा अरु केही खेती गर्न सकेनन् । ‘यतिबेला खेतमा धानका बाला लाग्नुपर्ने समय हो,’ उनी भन्छन्, ‘तर, बारी सुख्खा छ ।’ वर्षा नहुँदा बारीमा झारपातसमेत उम्रिन नसकेको उनी बताउँछन् ।
यसभन्दा पहिला यस क्षेत्रमा यस्तो समस्या भएको थिएन । यस वर्ष मात्र यहाँ ठूलो समस्या भएको स्थानीयको भनाइ छ । यहाँका किसानले आकासे पानीकै भरमा खेतीपाती गर्छन् । पानी प¥यो खेती लाग्यो नत्र यहाँ सुख्खा नै हुन्छ ।
सिँचाइ सुविधा नहुँदा यहाँका किसानलाई ठूलो समस्या छ । यहाँ सिँचाइ सुविधा पु¥याउने उद्देश्यले सञ्चालन भएको सिक्टा सिँचाइ आयोजनाको काम पनि समयमै सम्पन्न हुन सकेको छैन । पटकपटक म्याद थप हुँदा पनि काम सम्पन्न नहुँदा यस क्षेत्रमा सिँचाइ पुग्न सकेको छैन । सिक्टाको पानी यहाँ पुगे किसानलाई ठूलो राहत हुनेछ ।
यतिबेला यहाँका किसान दुःखमा छन् । नरैनापुर क्षेत्र सुख्खा छ । यहाँका खेतबारी यतिबेला हिलाम्मे हुनुपर्ने हो तर, केही खेत धुलाम्मे छन् । खेतीयोग्य जमिनमा गाईबस्तु चरिचरणका लागि छरपष्ट देखिन्छन् । यहाँका किसानले सरकारले केही समयका लागि मालपोत (जग्गाको तिरो) मिनाह गर्नुपर्ने, किसानलाई सम्बोधन हुने गरी राहतको प्याकेज ल्याउनुपर्ने बताएका छन् ।
गाउँपालिकाका अनुसार पालिकाभरि यस वर्ष १५ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ भने ८५ प्रतिशतमा रोपाइँ हुन पाएन । यहाँको मुख्य आयस्रोत भनेकै कृषि हो । तर, किसानले रोपाइँ गर्न नपाएपछि यसले यहाँको आर्थिक अवस्थामा प्रभाव पार्ने देखिन्छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले लुम्बिनी प्रदेश सरकार र संघीय सरकारलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिसकेको छ । नरैनापुरमा भोकमरीको अवस्था सिर्जना हुने सक्ने देखिएकाले पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको बताइएको छ । यहाँका ९० प्रतिशत परिवार कृषिमा निर्भर छन् । धानबाली लगाउने समयमा वर्षा नहुँदा यहाँ धानबाली रोपाइँसमेत हुन सकेको थिएन ।
रोपाइँ भएको धानसमेत सुख्खा कारणले उत्पादन नहुने अवस्था देखिएकाले यहाँ भोकमरीको अवस्था सिर्जना हुनसक्ने आँकलन गरिएको गाउँपालिकाकी उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले बताइन् ।
‘पालिकाले मात्र सम्बोधन गरेर पुग्दैन,’ उनले भनिन्, ‘प्रदेश र संघ सरकारले यहाँका किसानको पीडालाई सम्बोधन गर्न जरुरी छ ।’ ८५ प्रतिशत जमिन बाँझै हुँदा पालिकालाई सुख्खा क्षेत्र घोषणा गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्