नेपालगन्जको लक्ष्मीनारायण मन्दिरमा १८ वर्षदेखि एउटै समिति, आयव्यय गुपचुप



मन्दिरको पुजास्थलकै एक छेउमा उदासिन सम्प्रदायका साधुले आफ्नो आश्रयस्थल बनाउन बाध्य छन् । भान्सा व्यवस्थित छैन । पुजास्थलसँगै जोडेर बनाइएको कोठामा खाना पकाउनुपर्ने अवस्था छ । मन्दिरको रंगरोगन नियमितरुपमा हुन नसक्दा कुरूप बनेको छ । सडक निर्माण गर्दा भत्केको मन्दिरको पर्खाल पुनर्निर्माण पनि गरिएको छैन ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ रानीतलाउको छेवैमा अवस्थित छ, ‘लक्ष्मीनारायण भगवान् मन्दिर ।’ करिब एक सय ५० वर्ष पुरानो मानिएको उक्त मन्दिर नेपालगन्जको एक पुरातात्विक र धार्मिक पर्यटनका दृष्टिले सम्भावना भएको मन्दिर हो ।

उक्त मन्दिरको स्थापनाको वास्तविक मिति यकिन नभए पनि उक्त मन्दिरको अवशेषको नमुना परीक्षणको नतिजाअनुसार करिब एक सय ५० वर्ष पुरानो रहेको अनुमान गरिएको छ । नेपालगन्जका धेरै भक्तजनको आस्थाको केन्द्र रहेको उक्त मन्दिरको अवस्था भने हाल दयनीय छ ।

रानीतलाउसँग जोडेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको उक्त मन्दिर गुमनाम जस्तै बनेको छ ।
तत्कालीन समयमा नेपालगन्जकै दाताहरुले जग्गा दान गरेर स्थापना गरिएको उक्त मन्दिरसँग विभिन्न १० कित्तामा गरी करिब नौ बिघा जमिन सम्पत्तिको रुपमा थियो । अहिले त्यसमध्ये करिब चार बिघामा मोही कायम भएपछि पाँच बिघाजति जमिन मन्दिरको नाममा छ । मन्दिरका आस्थावान्हरु पनि धेरै छन् । तर मन्दिरको व्यवस्थापन चुस्त नहुँदा मन्दिरको सम्पत्तिको सदुपयोग हुन सकेको छैन भने मन्दिरको सम्पत्ति नै जोखिममा रहेको स्थानीयहरु बताउँछन् ।

उक्त मन्दिरको नेपालगन्जमा मन्दिर परिसरमै एक बिघा १९ कठ्टा ११ धुर जमिन छ भने कोहलपुरको रझेनामा सात बिघा १३ धुर जमिन छ । तर उक्त जमिनको अधिकांश हिस्सा प्रयोगविहीन अवस्थामा छ । प्रयोग भएको जमिनको पनि उपयुक्त लाभ मन्दिरले लिन सकेको छैन ।
मन्दिरको सम्पत्तिको सदुपयोग गर्न सकेमा उक्त मन्दिरलाई पर्यटकीय र धार्मिक दृष्टिकोणले आकर्षकस्थल बनाउन सकिने सम्भावना छ । मन्दिर परिसरमा अहिले पनि हरियालीयुक्त शान्त वातावरण छ ।

तर, त्यसको लागुऔषध दुव्र्यसनीहरुले दुरुपयोग गरिरहेका छन् । मन्दिर मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ । मन्दिरको पुजापात्र जीर्ण बनेको छ । भान्सा र साधु सन्तहरुको लागि बस्ने उपयुक्तस्थल बनाइएको छैन । मन्दिरको पुजास्थलकै एक छेउमा उदासिन सम्प्रदायका साधुले आफ्नो आश्रयस्थल बनाउन बाध्य छन् ।

भान्सा व्यवस्थित छैन । पुजास्थलसँगै जोडेर बनाइएको कोठामा खाना पकाउनुपर्ने अवस्था छ । मन्दिरको रंगरोगन नियमितरुपमा हुन नसक्दा कुरूप बनेको छ । सडक निर्माण गर्दा भत्केको मन्दिरको पर्खाल पुनर्निर्माण पनि गरिएको छैन । मन्दिरमा एक गौशाला छ । एकजना साधुसहित करिब पाँचजना मन्दिरमा आश्रित छन् । ती सबैका लागि र आगन्तुक साधु सन्तहरुको खानपिन र आतिथ्यताका लागि समितिले मासिक २० हजार रुपैयाँ मात्रै दिने गरेको छ । यसले सामान्य खर्च पनि नधान्ने गरेको मन्दिरको अवस्थाबारे चासो राख्ने एकजना भक्तजनले बताए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश आजाद भने मन्दिरको सम्पत्ति जोगाउनमा आफूहरुको धेरै समय खर्चिएको बताउँछन् । एकजना उदासिन सम्प्रदायका साधुले तीन बिघा आठ कठ्टा बढी जमिन आफ्नो नाममा गराउन खोजेकोमा त्यसको प्रतिवाद गर्दै आफूले विभिन्न कार्यालय धाएर अन्तमा मन्दिरको नाममा ल्याउन सफल भएको उनले बताए । ‘हामी नभएको भए मन्दिरको जमिन उहिल्यै व्यक्तिको नाममा गइसक्ने थियो,’ उनले भने, ‘हामीले अनेक संघर्ष गरेर मन्दिरको जमिन यकिन गराएका छौँ । अब यसलाई कसरी सदुपयोग गर्ने भन्ने काम बाँकी छ ।’

अहिले आजादलाई नै कोहलपुरको रझेनामा रहेको सात बिघा जमिनमध्ये चार बिघामा मोही कायम गराएको आरोप स्थानीयहरु लगाउँछन् । तर उक्त जमिन आफूले नभइ मोही दाबीकर्ताहरुको निवेदनका आधारमा मालपोतले कायम गरिदिएको आजाद बताउँछन् । उक्त जमिनमा मालपोत कार्यालयले २०७५ सालमा मोही कायम गरिदिएको थियो । मालपोत कार्यालय बाँकेका प्रमुख छविलाल सुनारका अनुसार पहिले कोही व्यक्तिले मन्दिरको नाममा जग्गा दान गरेको भए र त्यसबखत उक्त जमिनमा मोही रहेको भए मोही हक लाग्ने नियम रहेको बताए ।

१८ वर्षदेखि एउटै समिति, आयव्यय गुपचुप

लक्ष्मीनारायण मन्दिरमा १८ वर्षदेखि एकै व्यवस्थापन समिति छ । राप्रपा नेता ओमप्रकाश आजाद उक्त मन्दिरको व्यवस्थापन समितिको अध्यक्ष हुन् । आजाद बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको उपाध्यक्ष र केन्द्रीय गुठी व्यवस्थापन समितिको केन्द्रीय सदस्यसमेत छन् । उनको नेतृत्वमा २०६१ सालदेखि एउटै व्यवस्थापन समितिले काम गरिरहेको छ । हरेक दुई वर्षमा अधिवेशन गरेर नयाँ कार्यसमिति चुन्नुपर्ने व्यवस्था समितिको विधानमा छ । तर, २०७५ सालयता समितिले नियमित अधिवेशन पनि गरेको छैन ।

उक्त मन्दिरको सम्पत्तिमा आँखा लगाउने श्रृंखला लामो समयदेखि चल्दै आएको स्थानीयहरु बताउँछन् । २०६१ सालमा जिल्ला प्रशासन कार्यालयले तीनवटा समितिहरुले उक्त मन्दिरको व्यवस्थापन समिति आफूहरु भएको भन्दै दाबी गरेपछि आजादको अध्यक्षताको समितिलाई आधिकारिकता दिएको थियो । उक्त समितिमा अरु समितिका पदाधिकारीहरुलाई पनि समावेश गरिएको आजाद बताउँछन् ।

त्यसपछिका अधिवेशनमा सबैले आफूलाई नै अध्यक्षमा प्रस्ताव गर्ने गरेकोले आफ्नो नेतृत्व अहिलेसम्म रहेको आजादको भनाइ छ । पछिल्लो समय कोरोना महामारी र अन्य विविध कारणले नियमितरुपमा अधिवेशन गर्न नसकिएको उनले बताए । अहिले उक्त मन्दिरका भक्तजनहरु आजादको नेतृत्व परिवर्तन गरेर नयाँ समिति बनाउनुपर्ने माग गरिरहेका छन् ।

मन्दिर व्यवस्थापन समितिको २०७५ सालयता नवीकरण पनि हुन सकेको छैन । साथै संस्थाको अडिटलगायत आयव्यय सार्वजनिक गर्ने काम पनि हुन सकेको छैन । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आजाद नेपालगन्ज वडा नम्बर ८ का निवर्तमान वडाध्यक्ष सुरेन्द्र गुप्ताको व्यक्तिगत स्वार्थका कारण संस्था दर्ता हुन नसकेको आरोप लगाउँछन् ।

अध्यक्ष गुप्ताले मन्दिरको जमिनमा तरकारी मण्डी स्थापना गर्न प्रस्ताव गरेको र उक्त प्रस्ताव नमानेपछि उनले वडाबाट नवीकरण सिफारिस नभएसम्म नवीकरण नगर्न पत्र लेखेपछि सबै काम ठप्प भएको आजादले बताए । निवर्तमान वडाध्यक्ष गुप्ता भने आजादलगायतले मन्दिरको आयव्यय र हरहिसाब सार्वजनिक नगर्ने, सम्पत्तिको हिनामिना गर्न खोजेकोलगायत गुनासो आएपछि उक्त निर्णय लिइएको बताउँछन् ।

गुप्ताले २०७५ साल ६ महिना ८ गते नगरपालिकालाई लेखेको उक्त पत्र अहिलेसम्म फुकुवा गरिएको छैन । अहिले आफूहरु बाँकी रहेका वर्षको अडिट गराइरहेको र केही दिनमै अधिवेशन र आयव्यय सार्वजनिकलगायतका कामहरु गर्ने बताउँछन् ।

अध्यक्ष आजादले सबै आय बंैक खातामा जाने गरेको र हाल खातामा १९ लाख ७० हजार बढी रकम मौज्दात रहेको मिसन टुडेलाई जानकारी दिएका छन् । यसबीचमा मन्दिरका साधु सन्त र नियमति खर्चका लागि मासिक २० हजार अलावा गौशाला निर्माण, गौशाला सञ्चालनलगायतका खर्चहरु मात्रै भएको र अरु सबै आय सुरक्षित रहेको उनले बताएका छन् ।

जग्गा न्यून मूल्यांकनमा भाडामा

लक्ष्मीनारायण मन्दिरको दक्षिणपट्टि, रानीतलाउ सब्जी मण्डीको पूर्वपट्टि सडकको किनारामा तरकारीका पसलहरु छन् । ती पसलहरु भएको जमिन सबै लक्ष्मीनारायण मन्दिरको हो । मन्दिर व्यवस्थापन समितिले २०७४ सालबाट करिब दुई कठ्टा जग्गा भाडा दिएको थियो । मन्दिर व्यवस्थापन समिति आफैँले दुई फरक पक्षसँग गरेको भाडा मूल्यांकन मेल खाँदैन ।

समितिले मन्दिरको छेवैमा तीनवटा सटर निर्माण गरेर एकजना स्थानीयलाई भाडामा दिएको छ । ती सटरबाट मन्दिरले ३३ हजार मासिक भाडा लिने सम्झौता गरिएको छ । अर्काेतिर ती सटरसँगै जोडिएको दक्षिणतर्फको जमिन स्थानीय निजामुद्दीन कबडियालाई भाडामा दिइयो । उक्त जमिनमा कबडियाले टिनका छाप्राहरु बनाए । करिब १७ वटा टिनका घुम्ती शैलीका छाप्राहरु त्यहाँ रहेका छन् । ती छाप्राबाट २०७४ देखि २०७९ असारसम्म मात्र ४० हजार मासिकरुपमा मन्दिरले भाडा लिने सम्झौता ग¥यो ।

उक्त सम्झौतालाई २०७९ साउन १ गते नवीकरण गर्दै समितिले मासिक एक लाख भाडा तिर्नुपर्ने सम्झौता गराएको छ । तर यो मूल्यांकन पनि सोही ठाउँमा चलिरहेको रेटसँग मेल खाँदैन । ती छाप्राहरु रहेको अर्काेपट्टिका स्थानीय व्यापारीहरुले जमिन भाडामा लिएर आफैँले संरचना बनाएर व्यापार गर्दा पनि कम्तिमा १० हजार भाडा तिर्नुपरिरहेको बताए ।

यदि उक्त मूल्यांकनअनुसार भाडा तोक्ने हो भने मन्दिरले न्यूनतम एक लाख ७० हजार मासिक भाडा पाउने देखिन्छ । अध्यक्ष आजाद भने त्यहाँ रहेका सटरमध्ये अधिकांशमा व्यापार नहुने गरेको बताउँछन् । अर्काेतिर ती व्यक्तिले बनाएका संरचनाहरु अबको पाँच वर्षमा मन्दिरको सम्पत्ति हुने सम्झौता रहेकोले पनि कम मूल्यांकनमा भाडा सम्झौता गरिएको उनको भनाइ छ । तर मन्दिरका भक्तजनहरु अध्यक्ष र व्यापारीको मिलोमतोमा कम मूल्यांकन गरिएको दाबी गर्छन् ।

‘मन्दिरको विकासका लागि तयार छौँ’
ओमप्रकाश आजाद
अध्यक्ष, लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समिति

हामी मन्दिरको विकास प्रवद्र्धनका लागि तयार छौँ । हामी नभएको भए मन्दिरको जमिन उहिल्यै व्यक्तिको नाममा गइसक्ने थियो । हामीले अनेक संघर्ष गरेर मन्दिरको जमिन यकिन गराएका छौँ । अहिले पनि यसमा धेरै मानिसहरुको आँखा छ । अब यसलाई कसरी संरक्षण र सदुपयोग गर्ने भन्ने प्रश्न छ ।

अहिले मलाई नै कोहलपुरको रझेनामा रहेको सात बिघा जमिनमध्ये चार बिघामा मोही कायम गराएको आरोप लगाइरहेका छन् । त्यो त सबै मालपोतले गर्ने काम हो । मैले त मोही कायम नहोस् भनेरै प्रयास गरेको थिएँ ।

कोरोना र विविध कारणले रोकिएका प्रक्रिया हामी केही दिनमै पूरा गर्छाैँ । यसलाई बागेश्वरी मन्दिर र रानीतलाउसँग जोडेर, आकर्षक बनाएर पर्यटकीय केन्द्र बनाउने गरी गुरुयोजना बनाउन आवश्यक छ । जुनसुकै निकायलाई पनि हामी यस सम्बन्धमा सहकार्य गर्न तयार छौँ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ १३ गते सोमबार