नेपालगन्ज ।
नेपालगन्ज–१२ मा सुर्खेत रोडमा अवस्थित छ, वेष्टर्न मार्ट । भव्य बिल्डिङसहितको उक्त मार्टका ग्राहकहरुले आफ्ना गाडीहरु भने सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ । वेष्टर्न बिजनेश गु्रपले स्थापना गरेको भवनमा पहिले अन्डरग्राउण्ड पार्किङको डिजाइन तयार गरियो । तर, पछि संशोधन गरेर अण्डरग्राउण्ड पार्किङबिनाकै भवनको नक्सा पास गरियो ।
‘पहिले चलचित्र हलसहितको डिजाइन हुँदा बेसमेन्ट पार्किङको नक्सा बनाइएको थियो । पछि उक्त हल नबनाउने भनिएपछि बेसमन्ट पार्किङबिनाको नक्सा पास गरियो । तर, यसो भन्दैमा सडकमा पार्किङ गराउन मिल्दैन । व्यावसायिक प्रतिष्ठानले नै पार्किङको व्यवस्था गर्नुपर्छ,’ नेपालगन्ज उपमहानगरपालिकाका एक इन्जिनियरले भने ।
मार्ट रहेको भवनको अगाडि र पछाडि खाली ठाउँ छोड्ने गरी नक्सा पास गरिएको छ । इन्जिनियरका अनुसार नक्सामा कुल जमिनको १५ प्रतिशत खाली छोडेर उक्त जमिनमै पार्किङको व्यवस्था गराउनुपर्ने हुन्छ । तर, वेष्टर्न मार्टले सडकपट्टिको खाली ठाउँमा मात्रै पार्किङ गराउने गरेको छ । ठूला गाडीहरु त्यहाँ पार्क गर्न सक्ने अवस्था छैन । पछाडिपट्टिको खाली ठाउँमा जेनेरेटरलगायतका साधनहरु राखिएका छन् ।
मार्टका एकजना सञ्चालक शैलेश लोहनी भने मार्टकै पछाडिपट्टिको जमिनमा पार्किङको व्यवस्था गरे पनि ग्राहकहरुले सडकमै पार्किङ गरिदिने गरेको बताउँछन् । उनले देखाएको पछाडिपट्टिको खाली जमिनमा झार उम्रिएको छ । पार्किङ कहाँ छ भन्ने जानकारीमूलक संकेतहरु पनि राखिएको छैन । लोहनी सडकमा पार्किङ गर्नेहरुलाई उपमहानगरपालिका र ट्राफिक प्रहरीले कडाइ गरेमा आफूहरुलाई पनि सजिलो हुने तर्क गर्छन् ।
…
नेपालगन्ज मेडिकल कलेज । पश्चिम नेपालकै एक महŒवपूर्ण स्वास्थ्य उपचारको केन्द्र । तर, नेपालगन्जस्थित उक्त कलेजको पार्किङ क्षेत्रमा सेवाग्राहीहरुले आफ्ना सवारी साधन पार्क गर्न पाउँदैनन् । कलेजको भवनको दक्षिणपट्टि रहेको पार्किङ क्षेत्रमा अस्पतालका कर्मचारी, चिकित्सक र चारपांग्रे गाडीवालाहरुले मात्रै पार्किङ गर्न पाउँछन् । आम सेवाग्राहीले सडकमै पार्किङ गराउनुपर्ने अवस्था छ ।
कलेजले उत्तरपट्टि रहेको एक बैंकको पार्किङ एरियामा पनि पार्किङ गर्न सक्ने व्यवस्था गरेको छ । तर, त्यहाँ एकदमै थोरै संख्यामा गाडीहरु अटाउने ठाउँ छ । सडकमै पार्किङ गर्नुपर्दा धेरै सर्वसाधारणका सवारीसाधनहरु चोरी भइरहेका छन् । आधा सडक ढाकेर पार्क गरिएका सवारी साधनका कारण सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम उच्च छ ।
कलेजका प्रशासन प्रमुख कुमार अधिकारी मेडिकल कलेजको सुरुवाती अवस्थामा छुट्याइएको पार्किङ क्षेत्र अहिले साँघुरो भएको र अन्य ठाउँमा जमिनको जोहो हुन नसकेकोले समस्या सिर्जना भएको बताउँछन् । सडकमा पार्क हुने सवारी साधनमध्ये न्यून संख्यामा मात्रै मेडिकल कलेजका सेवाग्राही भएका उनले तर्क गरे । मेडिकल कलेजले पार्किङको उचित व्यवस्था नगरेर नियमको उल्लंघन गरेको विषयमा पटकपटक आवाज उठ्ने गर्छ । तर, कलजले यसलाई गम्भीरतापूर्वक लिएको छैन ।
…
नेपालगन्ज धम्बोझीस्थित होटेल ग्यालेक्सी दरबारले होटल अगाडि छोडिएको खाली क्षेत्रलाई पार्किङस्थल बनाएको छ । फुटपाथ पनि ढाकेर गाडीहरु त्यहाँ पार्क भइरहेका हुन्छन् । चारपाङ्ग्रे गाडीहरु सडकमै पार्किङ हुन्छन् । सडकमै पार्किङ गरिँदा त्यहाँ पनि सडक साँघुरो भएर दुर्घटनाको जोखिमपूर्ण अवस्था सिर्जना हुने गरेको छ । बेसमेन्ट पार्किङको व्यवस्था गरेका नेपालगन्जमा ठूला होटेलहरुले समेत सकडमै पार्किङ गराइरहेका हुन्छन् । सिटी प्यालेस, होटल कल्पतरू त्यसका उदाहरण हुन् ।
…
यी नेपालगन्जका सडकहरु किन अस्तव्यस्त छन् भन्ने केही उदाहरण मात्रै हुन् । आवासीय र घरेलु उद्योगबाहेकका भवनहरुले अनिवार्य पार्किङको व्यवस्था गर्नुपर्ने नियम पालना नगर्दा नेपालगन्जमा सडक नै पार्किङस्थल बनेका छन् ।
तर, उपमहानगरपालिकाले ठाउँठाउँमा सडकमा पार्किङ गर्न बाध्य सर्वसाधारणहरुबाट शुल्क उठाउन मान्छेहरु खटाएको छ । मूल समस्यातिर ध्यान दिएको छैन । यसमा जनप्रतिनिधिहरुको भोटको डर नै मुख्य कारण रहेको जानकारहरु बताउँछन् । ‘राजनीतिक दल आबद्ध जनप्रतिनिधिहरुलाई यो नियमको पालना गराउन काठमाडौंका मेयर बालेनलाई जस्तो सजिलो छैन । जनप्रतिनिधिमा बलियो ईच्छाशक्ति भएमा मात्रै यो सम्भव छ,’ नगरपालिकाकै एक कर्मचारीले भने ।
उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट आफू अहिले नेपालगन्जका भवनहरुको मापदण्डबारे अध्ययनमा रहेको बताउँछन् । उनले सम्बन्धित शाखालाई हालसम्म नेपलगन्जमा लागू भएका मापदण्डहरुको विस्तृत अध्ययन गरेर जानकारी गराउन निर्देशन दिइसकेको बताए । ‘एउटै मापदण्डअनुसार नेपालगन्जमा भवनहरु बनेका छैनन् ।
कुन भवन कस्तो मापदण्डमा बनेको हो ? भन्ने यकिन भइसकेपछि मापदण्डअनुसार व्यवस्था गर्न लगाउँछौँ । अब नयाँ मापदण्डमा एउटै व्यवस्था लागू हुनेगरी परिमार्जन गर्छौँ,’ मेयर विष्टले भने ।
प्रतिक्रिया दिनुहोस्