प्रदेश र प्रतिनिधिसभा चुनाव–२०७९ः बाँकेमा एमालेलाई गठबन्धन चुनौतीपूर्ण



वीरेन्द्र जैसी । नेपालगन्ज ।

स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा बाँकेका चारवटा स्थानीय तहको नेतृत्वमा नेकपा एमाले आबद्ध व्यक्तिहरु थिए । खजुरा, जानकी र बैजनाथ गाउँपालिका तथा कोहलपुर नगरपालिकामा एमालेले विजय हाँसिल गर्दा अरु स्थानीय तहका वडास्तरमा पनि राम्रै पकड थियो ।

तर, दोस्रो स्थानीय निर्वाचनसम्म आइपुग्दा एमालेले जिल्लाका कुनै पनि स्थानीय तहको नेतृत्वमा जित हासिल गर्न सकेन । त्यसका पछाडि मूल कारण थियो कांग्रेसहितका मुख्य दलहरुको गठबन्धन । आसन्न प्रदेश र संघको निर्वाचनमा पनि एमालेका विपक्षी दलहरु गठबन्धन बनाएरै चुनावमा जाँदैछन् । यसले बाँकेमा एमालेको लागि आसन्न निर्वाचन पनि चुनौतीपूर्ण हुने देखिएको छ ।

गठबन्धन हुँदा बाँकेमा सत्तारुढ दलहरुको मुख्य प्रतिस्पर्धी नेकपा एमाले हो । दोस्रोमा राप्रपा हो । बाँके क्षेत्र नम्बर १ र ३ मा गठबन्धन र एमाले मुख्य प्रतिस्पर्धी हुने आँकलन गरिएको छ भने क्षेत्र नम्बर २ मा एमालेसँगै राप्रपा पनि मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

दलहरुको पछिल्लो लोकप्रियताको अवस्था मापन गर्न स्थानीय तहको चुनाव २०७९ मा वडा अध्यक्षका उम्मेदवारहरुले पाएको मतलाई आधार मान्नुपर्ने हुन्छ । किनकी स्थानीय तहको प्रमुख र उपप्रमुखका अधिकांश स्थानीय तहमा गठबन्धन भए पनि वडा तहमा तालमेल थिएन । यसका साथै कतिपय स्थानीय तहका केही वडाहरु अर्काे निर्वाचन क्षेत्रमा पर्दछन् ।

उक्त तथ्यांकलाई केलाउँदा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा कांग्रेस पहिलो छ भने एमाले दोस्रोमा छ । वडाध्यक्षको मतको अंकगणितले बाँकेमा गठबन्धनका सामु एमाले धेरै पछि देखिन्छ । तर, एमाले बाँके अध्यक्ष किस्मतकुमार कक्षपति स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभाको निर्वाचनलाई जनताले एकै हिसाबले नलिने दाबी गर्छन् ।

उनी आफूहरु निर्धक्ककासाथ चुनावी मैदानमा जाने बताउँछन् । उनले गठबन्धनको औचित्य छैन भन्ने कुरा जनतालाई बुझाउनु आफूहरुको मुख्य चुनावी रणनीति रहेको बताए । ‘अहिलेको अंकगणित र अबको निर्वाचनको अंकगणित एकै हुँदैन । त्यसमाथि हामी अब गठबन्धनको औचित्य छैन भन्ने कुरा जनतालाई बुझाउँछौँ । एमाले अब झन बलियो भएर आउँछ,’ उनले भने ।

बाँकेको क्षेत्र नम्बर १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्दछन् भने क्षेत्र नम्बर २ मा नेपालगन्ज उपमहानगरपालिकाका १६ र १७ नम्बर वडाबाहेक सबै वडा तथा डुडुवा गाउँपालिका पर्दछन् । क्षेत्र नम्बर ३ मा नेपालगन्जका १६ र १७ नम्बर वडा तथा खजुरा, जानकी र बैजनाथ गाउँपालिका पर्दछन् ।

गठबन्धन दलहरु बीचको सिट बाँडफाँडमा बाँके क्षेत्र नम्बर १ माओवादीको भागमा परेमा हालका प्रतिनिधिसभा सदस्य एवम् युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’ र प्रदेश सांसद कृष्णा केसी ‘नमुना’मध्ये एकजनासँग एमालेका उम्मेदवारले प्रतिस्पर्धा गर्नुपर्ने हुनसक्छ । एमालेबाट क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इञ्चार्ज सूर्य ढकाल र २०७० का संविधानसभा सदस्य देवराज भार मुख्य आकांक्षी रहेका छन् ।

क्षेत्र नम्बर २ मा राप्रपा र एमालेको सहकार्य प्रयास

केन्द्रीय तहमा सत्तारुढ दलहरुले भनेको जस्तै गठबन्धन सफल भएमा बाँकेमा गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा माओवादी, क्षेत्र नम्बर २ मा जसपा र क्षेत्र नम्बर ३ मा कांग्रेसका उम्मेदवारले टिकट पाउने बताइएको छ । एमालेलाई बाँके क्षेत्र नम्बर २ मा बलियो प्रतिस्पर्धी खोज्न सकस भइरहेको स्रोतले बताएको छ ।

यस क्षेत्रमा एमाले जिल्लामा सबैभन्दा कमजोर छ । यस्तो अवस्थामा एमालेले क्षेत्र नम्बर २ मा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई समर्थन गरेर अरु क्षेत्रमा राप्रपाको सहयोग लिनसक्ने सम्भावना रहेको बताइएको छ । राप्रपाका केन्द्रीय सहायक महामन्त्री ऋषिराज देवकोटा एमालेसँग सहकार्यका विषयमा केन्द्रमा एमाले अध्यक्ष र राप्रपा अध्यक्षबीच एक चरणको छलफल भएको बताउँछन् ।

‘अहिलेको अवस्थामा कांग्रेस, माओवादीजस्ता ठूला दलहरुले आफ्नो शक्ति नचिनेर गठबन्धनको सहारा लिइरहेका बेला हामीले सहकार्य नगर्ने भन्ने हुँदैन । यस विषयमा हामीले सबै निर्णय गर्ने जिम्मा पार्टी अध्यक्षज्यूलाई दिएका छौँ । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एक÷दुई चरणको भेट पनि गरिसक्नुभएको छ,’ देवकोटाले भने ।

उनले राप्रपाले पनि बाँकेका सबै प्रतिनिधि र प्रदेशसभा क्षेत्रमा उम्मेदवारी दिनेगरी तयारी भने सुरु गरिसकेको बताए । क्षेत्र नम्बर २ मा गठबन्धनबाट जनता समाजवादी पार्टीका नेता एवम् भौतिक पूर्वाधार मन्त्री मो. ईश्तियाक राईको उम्मेदवारी निश्चित जस्तै छ ।

क्षेत्र नम्बर ३ मा टूरिस्ट उम्मेदवारको चर्चा

गठबन्धनमा बाँके क्षेत्र नम्बर ३ नेपाली कांग्रेसका भागमा पर्ने सम्भावना रहेको बताइएको छ । २०७४ को निर्वाचनमा एमालेका नन्दलाल रोकायले नेपाली कांग्रेसका नेता बादशाह कुर्मीलाई हराएर सांसद बनेका यस क्षेत्रमा यसपटक कांग्रेसले उम्मेदवार छनोट र नेताहरुका आकांक्षा व्यवस्थान गर्न सकस पर्ने देखिएको छ ।

यस क्षेत्रमा यसपटक बादशाह कुर्मीसँगै, लक्ष्मीनारायण शाह र मेघराज ओलीको आकांक्षा रहेको बुझिएको छ । उनीहरुको आकांक्षामा तगारो बनेर बर्दिया निवासी पार्टीका सहमहामन्त्री किशोरसिंह राठोर आउने सम्भावना रहेको छ । बर्दिया क्षेत्र नम्बर २ बाट टिकट पाउने सम्भावना कम भएपछि किशोरसिंह राठोर बाँके क्षेत्र ३ बाट उठ्ने तयारीमा रहेका बाँकेका जिल्ला तहका नेताहरु बताउँछन् । राठौर निकट एक नेताका अनुसार उनले बर्दियाबाट टिकट नपाएमा बाँके क्षेत्र नम्बर ३ नै उनको विकल्प हो ।

त्यसका लागि उनले आन्तरिक तयारी पनि सुरु गरिसकेका छन् । बर्दियाको क्षेत्र नम्बर १ मा गत निर्वाचनमा कांग्रेस विजयी भएको थियो भने क्षेत्र नम्बर २ मा माओवादी केन्द्रले जितेकोले अहिले क्षेत्र नम्बर २ माओवादीकै भागमा पर्ने सम्भावना छ ।

राठौर क्षेत्र नम्बर ३ मा आएमा एमालेबाट आकांक्षी जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, सचिव रत्न खत्री तथा नेता भीम ओलीमध्ये एकले उनीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

गठबन्धनको औचित्य छैन
किस्मतकुमार कक्षपति
अध्यक्ष, एमाले बाँके

स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभाको निर्वाचनलाई जनताले एकै हिसाबले लिँदैनन् दाबी गर्छन् । अहिलेको अंकगणित र अबको निर्वाचनको अंकगणित एकै हुँदैन । त्यसमाथि हामी अब गठबन्धनको औचित्य छैन भन्ने कुरा जनतालाई बुझाउँछौँ । आफूहरु निर्धक्का साथ चुनावी मैदानमा जान्छौँ । एमाले अब झन बलियो भएर आउँछ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ ८ गते बुधबार