22 May 2024  |   बिहिबार, जेष्ठ १०, २०८१

सुख्खा नरैनापुरः किसानका आँखामा आँसु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ ४, २०७९  

नरैनापुरमा सुख्खाको समस्या यति जटिल छ कि बोरिङबाट समेत पर्याप्त पानी आइरहेको छैन । किसानहरुले बोरिङ लगाएर रोपेको धान पनि सुकिसक्यो ।

‘पहिले एक घण्टामा सिँचाइ हुने खेतलाई आजभोलि पाँच/६ घण्टा लाग्न थालेको छ । यसले खर्च पनि बढेको छ । त्यसैमाथि यति ठूलो खेत बोरिङबाट सिँचाइ गर्न सम्भव नै छैन,’ पासीले भने ।

नेपालगन्ज ।

खेतीपातीको कुरा ग¥यो कि, बाँके नरैनापुरका ६५ वर्षीय रहिस खाँको आँखामा पानी भरिन्छ । तर, उनको खेत भने सुख्खा छ । १० बिघा जमिनमा रोप्नका लागि राखिएको धानको बीउ बियाड (बिउ उमार्न बनाइएको जमिन वा त्यस्तो बिउ राखिएको ठाउँ) मै सुकिसक्यो । भदौ लागिसक्दा पनि पानी नपरेपछि उनले सुकेको धानको बीउ काटेर गाईवस्तुलाई खुवाउन थालेका छन् ।

कृषिमा निर्भर उनको आठजनाको परिवार छ । श्रीमान्, श्रीमति, छोरो बुहारी र चारजना नातिनातिनाको परिवार यस वर्ष कसरी पाल्ने भन्ने चिन्ताले उनलाई सताइरहेको छ । वर्षभरि खाएर बेच्नका लागि पनि पुग्ने धान फल्ने खेतमा यसपटक बिउ रोप्नै नपाएपछि रहिसकी बुहारी किताबुन बेगमलाई यति ठूलो परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ ।

खाँ यस उमेरमा ज्याला मदजुरीलगायतको काम गर्न सक्ने अवस्थामा छैनन् । आठजनालाई पाल्न कमाउनुपर्ने जिम्मेवारी उनका श्रीमान्को काँधमा छ । ‘यसपटक फसल रहेन । सानासाना चारवटा छोराछोरी छन् । आठजनाको परिवार कसरी पाल्ने हो ?,’ उनले पीडा पोखिन् ।

रहिसको परिवारजस्तै नरैनापुर वडा नम्बर ४ का कृषक सावितराम पासीले पनि १० हजार रुपैयाँ बढी खर्च गरेर धानको बिउ राखेका थिए । बोरिङमा कम पानी आएपछि उनले पनि चार बिघा खेतमा धान रोप्नै पाएनन् । उनको खेतमा फागुनचैतको खडेरीमा जस्तो धुलो उडिरहेको छ । उनको खेतको छेउमै नहर छ । तर पानी छैन ।

वर्षामा हरियाली हुने जमिन यस वर्ष सुख्खा परेपछि वडा नम्बर ६ सोनवर्षाका किसान ओमकार पासी पनि अचम्ममा परेका छन् । उनी भन्छन्, ‘यस वर्ष त अचम्मै भयो । हामीसित भगवान् नै रिसाएको हो कि ?’ यस वर्ष वर्ष पर्याप्त वर्षा नहुँदा नरैनापुर गाँउपालिकामा सुख्खा परेको छ । सुख्खाले धान, मकैलगायतका बालीनाली सुकिसकेका छन् । रोपाइँको सिजन सकिसकेकाले यस वर्ष नरैनापुरमा धान उत्पादन हुने सम्भावना छैन । बाँकेका अन्य स्थानमा यस्तो सुख्खा समस्या देखिएको छैन । गाउँपालिकाले नरैनापुर क्षेत्रलाई सुख्खा क्षेत्रका रुपमा घोषणा गरेको छ ।

नरैनापुरमा सुख्खाको समस्या यति जटिल छ कि बोरिङबाट समेत पर्याप्त पानी आइरहेको छैन । किसानहरुले बोरिङ लगाएर रोपेको धान पनि सुकिसक्यो । ‘पहिले एक घण्टामा सिँचाइ हुने खेतलाई आजभोलि पाँच/६ घण्टा लाग्न थालेको छ । यसले खर्च पनि बढेको छ । त्यसैमाथि यति ठूलो खेत बोरिङबाट सिँचाइ गर्न सम्भव नै छैन,’ पासीले भने ।

वर्षेबाली नहुने भएपछि गाउँका युवाहरु पलायन हुन थालेका छन् । ओमकार भन्छन्, ‘गाँउमा सित्तिमित्ति काम पाइँदैन । भारतको दिल्ली, मुम्बइमा १०/१५ हजारको काम पाइन्छ रे,’ बालबच्चा पाल्न भारत जाने सोच बनाएका उनले भने, ‘हाम्रो गाउँका १०/१२ जना युवाहरु गइसके । अब म पनि उतै लाग्नुपर्ला ।’

नरैनापुरकै ७० वर्षीय अब्दुल मुफतलिफ खाँ आफ्नो जीवनमा पहिलोपल्ट यस्तो सुख्खा देख्नुपरेको बताउँछन् । ‘रुखबिरुवा छैनन् । न कुलो नहर छ । ईट्टाभट्टा खुलेको खुलेका खुल्यै छन् ।’ खाँले भने । यता गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह पाँच वर्षअघि नरैनापुरमा डुबानले खेतीपाती नष्ट गरेकोमा यस वर्ष सुख्खाले संकट निम्त्याएको बताउँछन् । यसपटक सुख्खाका कारण शतप्रतिशत जमिन बाँझो बनेको उनले बताए ।

तत्कालका लागि पानीको समस्या समाधान गर्न हरेक वडामा डीप बोरिङ सञ्चालन गर्ने योजना बनाइएको उनले जानकारी दिए । किसानहरुका राहतका लागि र समस्या समाधानका लागि प्रदेश र संघ सरकारसँग गुहार गरिएको पनि उनको भनाइ छ । नरैनापुरमा सुख्खाको दीर्घकालीन समाधान गर्न सिक्टाको नहर सञ्चालनका लागि पालिकाभित्र अवरोध भएका ठाँउमा सहजीकरण गर्न थालिएको उनले बताए ।

सिक्टा सिँचाइ आयोजनाको नहर निर्माण गर्नका स्थानीयले सर्वेक्षणका काममा बाधा पु¥याउँदै आएका थिए । यस वर्ष सबैतिर सुख्खाको समस्या झेलेपछि स्थानीयहरु नहर निर्माणका लागि सहमत भएका छन् । स्थानीयको अवरोध नभएमा अबको केही महिनाभित्र आयोजनाले सर्वेको काम सम्पन्न गर्ने सिक्टा सिँचाइ आयोजनाका निर्देशक डा. सन्तोष कैनीले बताए ।

स्थानीयको अवरोधले पूर्वी मुल नहरको नौ किलोमिटर क्षेत्रमा काम अघि बढ्न नसकेको हो । पूर्वी मुल नहरको कुल ५३ किलोमिटरमध्ये ४४ किलोमिटरमा नहरको संरचना निर्माण भइरहेको छ भने फत्तेपुरसम्मको २४ किलोमिटर क्षेत्रमा गत असारमा ७ क्युमेक्स पानी सञ्चालन गरिएको थियो ।

प्रकाशित मितिः शनिबार, भदौ ४, २०७९     11:53:38 AM  |