बाँकेका नन्कुन्नी र निर्मला प्रकरणः बाँके आएर सीआइबीले थाल्यो स्थलगत अनुसन्धान



श्रीमान् र दुवै छोरा गुमाएपछि उनीहरूको नाममा रहेको पाँच बिघा जग्गाको लालपुर्जा, नागरिकता र नाता कायमसम्बन्धी कागजपत्र कांग्रेसका पूर्वसांसद बादशाह कुर्मीले नै नियन्त्रणमा राखेका थिए ।

उक्त विषय जिल्ला प्रशासन कार्यालयसम्म पुगेपछि र विवादित बन्दै गएपछि बादशाहले कागजात फिर्ता गरेका थिए । कागजात फिर्ता दिइसकेको बादशाह आफैँ बताउँदै आएका छन् ।

नेपालगन्ज ।

नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीको बेपत्ता प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले स्थलगत अनुसन्धान थालेको छ । सीआइबीका प्रहरी उपरीक्षक (एसपी) कमल थापा नेतृत्वको चार सदस्यीय टोली स्थलगत अनुसन्धानका लागि नेपालगन्ज आइपुगेको छ । बिहीबार नेपालगन्ज पुगेको उक्त टोलीले अनुसन्धान सुरु गरेको हो ।

धोबीको हत्या र कुर्मीको शंकास्पद तरिकाले बेपत्ता पारिएको भन्दै गत वर्ष प्रहरीमा उजुरी परेको थियो । सोही घटनाको अनुसन्धानमा सीआइबी टोली नेपालगन्ज पुगेको छ । उक्त टोलीमा एसपी थापासँगै प्रहरी नायब उपरीक्षक (डिएसपी) मदनजित महरा, प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षक (सइ) को टोली नेपालगन्ज पुगेर अनुसन्धान गरिरहेको छ । नेपालगन्जमा रहेर उक्त उजुरीका विषयमा अनुसन्धान भइरहेको अनुसन्धानमा आएका डिएसपी महराले जनाए । ‘घटनाका विषयमा अनुसन्धान गर्न नेपालगन्ज आएका छौं,’ उनले भने, ‘अनुसन्धान गर्न कतिदिन लाग्छ भन्ने एकीन छैन ।’

‘हामीले निर्मला कुर्मी बेपत्ता घटनाको अनुसन्धान थालिसकेका छौं । यसअघि नै उजुरी परेका र मुद्दा चलाइएका शंकास्पद व्यक्तिको बयान लिने काम पनि गरिरहेका छौं,’ उनले भने । महŒवपूर्ण कुरा निर्मला कुर्मीको नाममा रहेको जग्गा कसरी नामसारी भएको छ, त्यो पाटोबाट पनि सीआइबी टोलीले अनुसन्धान गर्ने स्रोतले जनाएको छ । निर्मलाको नाममा रहेको जग्गा र नामसारी भएको कागजात सीआइबीले नियन्त्रणमा लिएर त्यसको अनुसन्धान गर्ने स्रोतको भनाइ छ ।

कुर्मीलाई उनकै छिमेकी कांग्रेसका पूर्वसांसद बादशाह कुर्मीले सम्पत्ति हडपेर बेपत्ता पारेको आरोप लागेको छ । उनीमाथि अनुसन्धानको माग गर्दै नेपालगन्जबाट २० दिन पैदल हिँडेर गत कात्तिकमा रुबी खानलगायत महिला अधिकारकर्मी र पीडित परिवारका आफन्त काठमाडौं पुगेका थिए । त्यसपश्चात सरकारले छानबिन समिति गठनसमेत गरेको थियो ।

गृह मन्त्रालयका सहसचिव नेतृत्वको टोली यसभन्दा अगाडि नै स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरी सकेको छ । छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाए पनि अहिलेसम्म सार्वजनिक भएको छैन । जसले पीडित भनिएकाहरुलाई थप निराशा बनाएको छ ।

यस्तो छ घटना

नेपालगन्ज नगरपालिकासँग जोडिएको साविक परस्पुर गाविसकी निर्मला कुर्मीका पति महालु कुर्मीको २०६२ सालमा मृत्यु भयो । श्रीमान्को मृत्युपछि उनी दुई छोरासहित परस्पुरमा बस्दै आएकी थिइन् । २०६६ सालमा १४ वर्षीय छोरा राम सागर र १८ वर्षीय सुरेशको मृत्यु भयो । उनीहरुको १५ दिनको अन्तरालमा रहस्यमय ढंगले मृत्यु भएको थियो ।

श्रीमान् र दुवै छोरा गुमाएपछि उनीहरूको नाममा रहेको पाँच बिघा जग्गाको लालपुर्जा, नागरिकता र नाता कायमसम्बन्धी कागजपत्र कांग्रेसका पूर्वसांसद बादशाह कुर्मीले नै नियन्त्रणमा राखेका थिए । उक्त विषय जिल्ला प्रशासन कार्यालयसम्म पुगेपछि र विवादित बन्दै गएपछि बादशाहले कागजात फिर्ता गरेका थिए । कागजात फिर्ता दिइसकेको बादशाह आफैँ बताउँदै आएका छन् ।

२०६९ सालमा निर्मलाको जग्गा नामसारी भएको देखिन्छ । जग्गा नामसारी भएको ६ वर्षपछि २५ माघ २०७५ देखि निर्मला कुर्मी एकाएक सम्पर्कविहीन भइन् । उनले भारतमा बिहे गरेको चर्चा चल्यो । तर, त्यसको दुई वर्षपछि भारतमै मृत्यु भएको खबर गाउँमा फैलियो । प्रहरीको अनुसन्धानअनुसार निर्मलाको हत्या नभइ प्राकृतिक (कालगति) ले मृत्यु भएको छ ।

निर्मलाको विवाह दर्ता, मृत्यु दर्ता र दाहसंस्कार गर्न लागेका आवश्यक तस्विरहरु फेला परेको प्रहरीले जनाएको छ । तर अधिकारकर्मीहरुले यो नक्कली भएको दाबी गर्दै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २८ गते शनिबार