सरकारकै निर्देशन टेर्दैन कोहलपुरः विद्यार्थीलाई ताजा होइन तातोपानीमा घोलेर तयारी खाजा खुवाउँदै



कोहलपुर नगरभित्रका ३० वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भइरहेको छ । तीमध्ये एक गुरुकुल, एक मदरसा र २८ वटा विद्यालय छन् । दैनिक विद्यालय आउने प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने गरिएको छ ।

नगर शिक्षा शाखा प्रमुख मिजारका अनुसार नगरभित्रका ६ हजार पाँच सय ४० जना विद्यार्थीहरुले विद्यालयमै दिवा खाजा खाने गरेका छन् ।

कृष्ण ओली । कोहलपुर ।

कोहलपुरका सामुदायिक विद्यालयहरुले मापदण्डविपरीत विद्यार्थीलाई दिवा खाजा खुवाउने गरेको खुलेको छ । सरकारी मापदण्डविपरीत ‘मेनु’ तयार गरेर कोहलपुर नगरभित्रका सामुदायिक विद्यालयहरुले विद्यार्थीलाई दिवा खाजा खुवाइरहेका हुन् ।

मापदण्डमा स्थानीय स्तरमा उत्पादन भएका खाद्य वस्तुहरुको उपयोग गरी विद्यालयले विद्यार्थीलाई दिवा खाजा खुवाउनुपर्ने उल्लेख गरिएको छ । तर कोहलपुरका अधिकांश विद्यालयहरुले तयारी प्याकेटको खाजा खरिद गरेर तातो पानीमा घोलेर खुवाउने गरेका छन् ।

गत मंसिर २३ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नीतिविपरीत र बालबालिकाको स्वास्थ्य सम्वेदनशीलतामा असर पर्ने तयारी खाजा प्रयोग नगर्न परिपत्र गर्दै निर्देशनसमेत दिएको थियो । तर उक्त निर्देशनको कोहलपुरका अधिकांश सामुदायिक विद्यालयहरुले पालनासमेत गरेका छैनन् ।

कोहलपुर नगर शिक्षा शाखाको निर्देशनमा गत कात्तिक अगाडि नै सामुदायिक विद्यालयहरुले नेपाल स्वस्थ फुड उद्योग मोरङसँग तयारी खाजाको लागि सम्झौता गरेका थिए । अहिले उक्त उद्योगले उत्पादन गरेका विभिन्न तयारी खाने कुराहरु विद्यालयहरुले तातो पानीमा घोलेर विद्यार्थीलाई खाजाको रुपमा खुवाउने गरेका छन् । कोहलपुर नगर शिक्षा प्रमुख रविलाल मिजारले नगरका अधिकांश विद्यालयहरुले तयारी प्याकेटकै परिकारलाई खाजाको रुपमा प्रयोग गरिरहेको जनाए ।

‘एक/दुई महिना विद्यालयहरुले स्थानीय उत्पादनहरुलाई नै खाजाको रुपमा प्रयोग गरेका थिए,’ उनले मिसन टुडेसँग भने, ‘पछिल्ला महिनामा भने एक कम्पनीसँग सम्झौता गरेर खुवाइरहेको हामीले पाएछौं । यसमा हामीले भन्दा पनि विद्यालय आफैँले निर्णय गरेर खाजा खुवाउन
सक्छन् ।’

कोहलपुर नगरभित्रका ३० वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भइरहेको छ । तीमध्ये एक गुरुकुल, एक मदरसा र २८ वटा विद्यालय छन् । दैनिक विद्यालय आउने प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने गरिएको छ । नगर शिक्षा शाखा प्रमुख मिजारका अनुसार नगरभित्रका ६ हजार पाँच सय ४० जना विद्यार्थीहरुले विद्यालयमै दिवा खाजा खाने गरेका छन् ।

कृष्ण मावि कौशिलानगरका प्रधानाध्यापक दीलिप ओलीले दिवा खाजाको लागि एउटा कम्पनीसँग सम्झौता भएको जानकारी दिए । ‘नगर शिक्षाकै सहमतिमा उच्चत्तमका तयारी आहारहरु राम्रो भएको बताएपछि सम्झौता गरिएको थियो,’ उनले भने, ‘अहिले उसैले उत्पादन गरेका ६ प्रकारका खानेकुराहरु खाजाको रुपमा खुवाउने गरेका छौं ।’

उनका अनुसार कात्तिक महिनामा कम्पनीले ६/७ महिनालाई पुग्ने तयारी खानेकुराहरु ल्याएर विद्यालयमा छोडिदिएको छ । ‘हामीले पहिले हेर्नको लागि तीन महिना सम्झौता गरेका थियौं,’ प्रअ ओलीले भने, ‘स्कुलमा ६÷७ महिनालाई पुग्नेगरि कम्पनीले ल्याइदिएको छ । विद्यालय बन्द भइसक्यो, कहिले खुल्ने हो थाहा छैन ।’

विद्यालयमा ल्याइएका खानेकुराको रकम भने भुक्तानी नभएको उनले जानकारी दिए । विद्यार्थीहरुको स्वास्थ्यको लागिको साथै स्थानीय कृषकको आय स्तरमा सुधार गर्ने उद्देश्यले सरकारले स्थानीय स्तरमा उत्पादन भएका खाद्य वस्तुहरुको उपयोग गरी खाजा खुवाउनु पर्ने मापदण्डमा बनाएको थियो ।

स्थानीय स्तरमा उत्पादन भएका खाद्य वस्तुहरुको उपयोग गरी विद्यालयले साप्ताहिकरुपमा खाना मेनु तयार गरेर मापदण्डबमोजिम पकाएर ताजा सफा र सन्तुलित खाजा खुवाउने व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

‘विद्यालयलाई निर्णयाधिकार छ’

नगर शिक्षा शाखा कोहलपुरका प्रमुख रविलाल मिजारले दिवा खाजामा के राख्ने भन्नेबारे विद्यालयले नै निर्णय गर्नसक्ने बताए । विद्यार्थी हाजिरीको आधारमा दिवा खाजाको रकम विद्यालयमा जाने भन्दै उनले के खुवाउने के नखुवाउने विषयमा विद्यालय नै जिम्मेवार हुनुपर्ने बताए ।

‘दिवा खाजाको विषय हामीले भन्दा पनि विद्यालयले नै निर्णय गर्छ,’ शाखा प्रमुख मिजारले भने, ‘स्थानीय उत्पादनलाई मेनुमा राखेर खाजा खुवाउनुपर्ने हो, तर यहाँका अधिकांश विद्यालयहरुले एउटा कम्पनीसँग सम्झौता गरेका छन् ।’

के कति रकममा तयारी खाजा खरिदको सम्झौता कम्पनीसँग भयो भन्नेबारे सम्बन्धित विद्यालयलाई बुझ्नुपर्ने उनले बताए । विद्यालयअनुसार फरक फरक मेनु राखेर दिवा खाजा विद्यार्थीहरुलाई दैनिकरुपमा ताजा खाजा खुवाउन सकिने उनी बताउँछन् ।

‘स्थानीय उत्पादन प्रयोग गरेर पनि ताजा खाजा खुवाउन सकिन्छ,’ शाखा प्रमुख मिजारले भने, ‘नगरका अधिकांश स्कुलले एउटा कम्पनीसँग सम्झौता गरिसकेका रहेछन् ।’

विद्यार्थीले मन पराउँदैनन् तयारी खाजा

कोहलपुर नगरपालिकाभित्रका अधिकांश सामुदायिक विद्यालयले अहिले खुवाउँदै आएको खाजा विद्यार्थीहरुले भने मन पराएका छैनन् । विद्यार्थीहरुले प्याकेटमा राखिएको लिटो प्रजातीको खानेकुरालाई खास्सै विद्यार्थीहरुले मन नपराएको एक सामुदायिक विद्यालयका शिक्षकले मिसन टुडेलाई जानकारी दिए ।

‘हाम्रा विद्यार्थीहरुले तयारी खाजा मन पराएका छैनन्,’ ती शिक्षकले भने, ‘६ वटा परिकार भए पनि तातोपानीमा घोलेर खुवाउँदा विद्यार्थीले मन पराएनन् ।’ उनका अनुसार बेलाबेलामा खाजा खाएपछि केही विद्यार्थीहरुमा पेट दुख्ने समस्यासमेत देखिएको थियो ।

नगर शिक्षा शाखा कोहलपुरका एक कर्मचारीका अनुसार विद्यालयले खुवाइरहेको खाजाको बारेमा गुनासो आउने गरेको छ । ‘अधिकांश विद्यालयहरुले खाजाको लागि नयाँ कम्पनीसँग सम्झौता गरेपछि दिवा खाजाको विषयमा गुनासो आइरहेको थियो,’ मिसन टुडेसँग ती कर्मचारीले भने, ‘यस्तै हो भने सम्झौता सकिएपछि विद्यालयहरुले स्थानीय उत्पादनबाट नै खाजा खुवाउँछन् होला ।’

कोहलपुर–१५ मा रहेको नेपाल राष्ट्रिय विद्यालय चण्डहवाका प्रअ भोजेन्द्र बुढाक्षेत्रीले परिकारहरु विद्यार्थीले मन पराउन छोडेको जानकारी दिए । ‘सबैले राम्रो छ भनेर सम्झौता गरिएको हो,’ उनले भने, ‘अहिले त विद्यार्थीहरुले खाजा मन पराउनसमेत छोडिसकेका छन् । विद्यालय पनि बन्द भइसक्यो । अब गर्ने भन्नेबारे नै निर्णय हुन बाँकी छ ।’

विद्यालयहरुका अनुसार प्याकेटमा तयार भएको आएको पीठोजस्तो पदार्थलाई केहीबेर तातोपानीमा उमालेर खुवाउँदा कतीपय विद्यार्थीहरु बिरामी हुने गरेका छन् ।

‘हामीलाई धेरै दबाब आयो’

विद्यालयसँग सम्झौता भएअनुसार नेपाल स्वस्थ फुड उद्योग मोरङले ६ वटा तयारी खाजा उपलब्ध गराउँछ । सातामा दैनिक फरकफरक खुवाउने लक्ष्यका साथ कम्पनीले ६ वटा तयारी परिकार विद्यालयलाई दिने गरेको हो ।

उद्योगले उच्चत्तम ब्राण्डमा ६ वटा लिटो आइटम उत्पादन गर्दै आएको छ । विद्यार्थीहरुलाई मिक्स खिचडी, सादा खिचडी, मीठो हलुवा र सादा हलुवा, सादा खिर र स्पेशल खिर खुवाइने गरेको छ । ती परिकारहरु ताजा विद्यालयमै बनाएर खुवाउनेभन्दा पनि कम्पनीले प्याकेट हालेर पठाएकोलाई तातोपानीमा उमालेर विद्यार्थीलाई खाजाको रुपमा दिइन्छ ।

‘प्याकेटभित्र महिनौं पहिले नै बनाइएको धुलो जस्तो पदार्थ हुन्छ, त्यही नै तातोपानीमा उमालेर विद्यार्थीहरुलाई दिन्छौं,’ एक सामुदायिक विद्यालयका शिक्षकले मिसन टुडेसँग भने, ‘पहिले शिक्षा शाखाका प्रमुखज्यूले यही कम्पनीसँग जसरी पनि सम्झौता गर्न दबाब दिनुभयो । यो खाजा खुवाउँदा हामीलाई मन छैन । बाध्यताले विद्यार्थीलाई खुवाउँनु परेको छ ।’

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १३ गते बिहीबार