अन्तर्राष्ट्रिय विमानस्थल, सुख्खा बन्दरगाहा, विशेष औद्योगिक क्षेत्र, रिङ रोड, नेपालगन्ज विश्वविद्यालय
र हुलाकी सडकजस्ता नेपालगन्जको विकासका आधार लामो समयदेखि अलपत्र अवस्थामा छन् । तर ती योजनाहरूलाई कार्यान्यनको तहमा लैजान सक्ने आँट र क्षमता मेयर राणाबाट देखिएको छैन ।
शुभाकर विश्वकर्मा । नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बधाइ लिन काठमाडौं पुगेका डा. धवलशम्शेर राणाले एक निजी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भनेका थिए, ‘एउटा सुन्दर, सुरक्षित, विकसित, भ्रष्टाररहीत र सुशासित सहर बनाउने अवधारणा लिएको छुँ ।’
सुन्दरताभित्र के¬–के पर्छ, विकसित, भ्रष्टाररहीत र सुशासित कसरी बनाउने भन्ने प्रस्तोताको प्रश्नमा उनी लामो जवाफ दिँदै भन्छन्, ‘बाटोघाटो राम्रो हुनुप¥यो । पहिला पनि बनाएकै हो । बाटो खाल्डोरहीत, वातावरण र पार्कहरू राम्रो हुनुपर्छ । गुण्डागर्दी र हप्ता उठाउन नदिने, म सुरक्षित छु भने जनतालाई अनुभूति गराउनुपर्छ ।’
मेयर डा. राणाले यी संवाद केवल टेलिभिजनमा मात्र गरेका होइनन्, यही सवाल र विषयलाई चुनावताका चुनावी एजेण्डा पनि बनाएका थिए । उनले व्यापार व्यवसायको सुरक्षादेखि फोहोर व्यवस्थापनसम्मको र सुन्दर बस्नलायक, विकसित र महानगर उन्मुख सुन्दर सहर बनाउने सुन्दर सपना बाँडे ।
यतिबेला मेयर राणाले बाँडेका सुन्दर सपनाको समीक्षा गर्नेबेला आएको छ । के नेपालगन्जका मेयर राणाले परिकल्पना गरेजस्तो सुन्दर, सुशासित, भ्रष्टाचाररहीत र महानर उन्मुख सहर छ त ? उनको चार बर्से कार्यकाललाई फर्केर हेर्दा उनका सपनानुसार बदलिएको जस्तो आभाष नागरिकले गर्न पाएका छैनन् । दैनिक चोरीका घटनाले यहाँका नागरिक असुरक्षित महसुस गरिरहेका छन् ।
हत्या, अपहरण जस्ता घटना न्यूनीकरण भएको भए मृतक नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मीको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै पीडित परिवार र महिला अधिकारकर्मीहरू न्यायका लागि काठमाडौंको चिसो सिरेटोमा धर्ना बस्नु पर्ने अवस्था हुने थिएन ।
नाागरिकलाई यतिबेला ठूल्ठूला राजनीतिक विकास र ठूलो परियोजनाहरुको अपेक्षा गरेका छैनन् । नागरिकले सामान्य दैनिक निर्वाहदेखि सुरक्षित बसोबासको आश गरेको चार वर्ष पुगिसक्यो । अवस्था जहाँको तहीँ । ‘जनप्रतिनिधि आएपछि रोजगारी पाइन्छ । हाम्रो जीवन बदलिन्छ भन्ने हल्ला थियो,’ नेपालगन्ज उपमहानगरपालिका–१८ की एक महिलाले भनिन्, ‘चुनावमा भोट होलेको चार वर्षसम्म पनि मेरो अवस्था उस्तै छ ।’ उनी ज्याला मदजुरी गरेर दैनिकी चलाउँछिन् ।
त्यतिबेला पनि महिनाभरि काम पाउँदैन्थिन् अहिले पनि महिनामा १०-१२ दिनमात्र काम पाउँछिन् । मेयर रानाको कार्यकालमा नगरभित्रका सडकहरू कालोपत्रे भएका छन् । तर, ति कालोपत्रे नगरको योजना कमै मात्रामा हुन् । स्वर्गीय शुसिल कोइराला प्रधानमन्त्री हुँदा एडीबी परियोजनाले काम थालेको थियो । स्थानीय तहको चुनावभन्दा अघि कागजी प्रक्रियामा थियो । चुनावपछि उक्त परियोजनाले फिल्डमा काम गरेको थियो । पुरानो योजनाको फाइदा मेयर राणाले लिन खोजेको देखिन्छ ।
‘नगरभित्रका सडक बनाउने योजना कांग्रेसको बलबुतामा आएको हो,’ नेपाली कांग्रेसका एकजना नेताले भने, ‘यदी पूर्वप्रधानमन्त्री स्वर्गीय कोइराला र नेपाली कांग्रेस नलागेको भए यो परियोजना अन्य जिल्लामा जान्थ्यो ।’ आफू प्रधानमन्त्री हुँदा स्वर्गीय कोइरालाले उक्त परियोजना ठूलो कसरतपछि नेपालगन्ज भिœयाएका थिए । उक्त परियोजनाले नेपालगन्जको सडक विस्तारमा भने ठूलो राहत पु¥याएको छ ।
कुनैबेला मध्य र सुदूरपश्चिमका २४ जिल्लाको केन्द्रका रूपमा रहेको नेपालगन्ज संघीय तथा प्रदेश राजधानीका लागि प्रस्तावितसम्म भएन । अन्तर्राष्ट्रिय विमानस्थल, सुख्खा बन्दरगाहा, विशेष औद्योगिक क्षेत्र, रिङ रोड, नेपालगन्ज विश्वविद्यालय र हुलाकी सडकजस्ता नेपालगन्जको विकासका आधार लामो समयदेखि अलपत्र अवस्थामा छन् । तर ती योजनाहरूलाई कार्यान्यनको तहमा लैजान सक्ने आँट र क्षमता मेयर राणाबाट देखिएको छैन ।
सामान्य काममा चुकेका डा. धवललाई अब बाँकी एक वर्षमा काम गर्न कठिन छ । चार वर्षसम्म रुमलिएका उनलाई अब चुनावी वर्षमा काम गर्न सकस छ । पाँच वर्षका लागि निर्वाचित भएका उनको साढे चार वर्ष सकिएको छ । बाँकी समयमा चुनावी छ ।
नेपालगन्ज सहरभित्र पैदल यात्रु असुरक्षित भएर हिँड्न बाध्य छन् । फुटपाथसमेत नगरपालिकाले व्यवस्थित गर्न सकेको छैन । पैदलयात्री हिँड्ने फुटपाथ व्यापारीको कब्जामा छ । सडकभरि यत्रतत्र अव्यवस्थित पार्किङ छ ।
जसलाई छिचोल्दै सर्वसाधारण असुरक्षित भएर हिँड्नु पर्ने अवस्था छ । फुटपाथलाई व्यवस्थित गरेर नागरिकलाई सुरक्षित फुटपाथमा हिँडउन जस्तो सामान्य काममा समेत नगर चुकेको छ । छाडा पशुचौपायाले यात्रामा जोखिम बढाएको छ ।
कार्यकाल सफल भएको दाबी
नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणाले आफ्नो कार्यकाल अत्यन्त सफल भएको दाबी गरेका छन् । साढे चार वर्षको अवधिमा नेपालगन्जको मुहार फेरिने गरी काम भएको उनको दाबी छ ।
उनका अनुसार नेपालगन्जलाई समृद्धिको बाटोमा उन्मुख गराउन ठूला गौरवका आयोजना सम्पन्न भएको छ । जनताले प्रत्यक्षरुपमा महशुस गर्ने नाला, बाटा, पार्क तथा बसपार्क निर्माण गरिएको प्रमुख राणाको भनाइ छ । यस्तै विभिन्न किसिमका बेथितिहरुको अन्त्य गरेर सुशासन कायम गरिएको उनले बताए ।
नेपालगन्जलाई महानगर बनाउने योजनामा त असफल हुनुभयो नी ? भन्ने मिसन टुडे दैनिकको प्रश्नमा उनले भने, ‘यो बिलकुल राजनीतिक निर्णय हो । यो सरकारले गर्ने कुरा हो । मैले गर्ने कुरा होइन ।’ यस्तै उनले आफूले चुनावको बेलामा महानगर बनाउने भनेको र सोहीअनुसार अहिले पनि प्रयास जारी रहेको जनाए ।
नेपालगन्जलाई महानगर बनाउन संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरे पनि आफू सफल नभएको उनले स्वीकार गरे । महानगर बनाउन कोहलपुर नगरपालिकाको सहयोगको विषयमा भने उनी बोल्न चाहेनन् ।
नेपालगन्जलाई महानगर बनाउने विषयमा उनले कोहलपुर नगरपालिकाको साथ मागेका थिए । तर, कोहलपुरका जनता र नगरले समेत उनलाई साथ दिएनन् । नगरपालिकाले त नगरसभामार्फत महानगरको लागि नेपालगन्जसँग नमिसिने निर्णय नै ग¥यो ।
जनताले धवलशम्शेरले चुनावी घोषणाअनुसार काम गर्न सकेनन् भन्ने गुनासो सुनिन्छ भन्ने प्रश्नमा उनले खै कहाँका जनताले भने थाहा छैन, यहाँको जनताले भनेको छैन भन्दै आफ्नो बचाउ गरे । आफूले गरेको कामप्रति नेपालगन्जका जनता सन्तुष्ट छन् जस्तो लाग्ने मेयर राणाले बताए ।
आफू लामो समयदेखि नेपालगन्जको विकासका लागि क्रियाशील भएर काम गरेको उनको भनाइ थियो ।
पुनः प्रमुखमा दोहोरिँदैनः राणा
कार्यकालको अन्तिमतिर रहेकाबेला नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणाले अब नेपालगन्जको प्रमुखका लागि इच्छुक नरहेको जानकारी दिएका छन् ।
नेपालगन्ज महानगर बनेमा फेरि दोहोरिने चर्चाबारे उनले महानगर बनाउने कुरा बिलकुल राजनीतिक निर्णय भएको र सरकारले बनाउने कुरा भएको भन्दै आफू सरकारमा नरहेको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्