20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाँकेका आठै पालिकामा स्थानीय विषयको नाममा अंग्रेजी र कम्प्यूटर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज ६, २०७८  

डिल्ली शाही ।

बाँकेका ८ वटै स्थानीय तहले स्थानीय विषय निर्माण गर्न सकेको छैन । नेपाल सरकारले विगत दुई वर्षदेखि स्थानीय विषय निर्माण गरी अध्यापन गराउने भनेपनि कार्यन्वयनमा उदासिन्ता देखिएको छ ।

स्थानीय सरोकारवालाहरुको सहभागिता तथा आवश्यकता र औचित्यका आधारमा तयार गरिने योजना हो स्थानीय विषय । स्थानीय भन्ने बित्तिकै स्थानीय व्यक्तिको आवश्यकता, विषयवस्तु तथा निर्माणमा स्थानीय विज्ञ वा व्यक्तिको संलग्नता हो । स्थानीय सञ्चालन ऐन २०७४ को दफा ११ मा १८ औं बुदामा स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रबद्र्धन र स्तरियकरण गर्ने नितिगत प्रावधान रहेको छ ।

यस्तै पाठ्यक्रमले कक्षा ६—८ को पाठ्क्रमका ७.३ बुदामा स्थानीय विषयको पाठ्क्रम र पाठ्सामग्री विद्यालयले स्थानीय तहको सहयोग र समन्वयमा स्थानीय विज्ञ तथा अभिभावकको संलग्नतामा विकास गरी कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्था रहेको छ । आधारभुत शिक्षा (कक्षा ६—८) पाठ्क्रम, २०७७ को अनुसार उक्त पाठ्क्रम अनुसार स्थानीय विषय अन्तर्गत मातृभाषा, स्थानीय रितिरिवाज तथा संस्कृति, संस्कृत भाषा, स्थानीय ज्ञान, सीप, कला, तथा प्रविधिमा आधारित विषेशतामा सम्बन्धीत क्रियाकलाप पर्ने उल्लेख छ ।

यस्तै कक्षा १ —३ को एकीकृत पाठ्क्रममा पाठ्यघण्टा ५ र वार्षिक कार्यघण्टा १६० को मातृभाषिक सिप वा स्थानीय विषयबस्तु सम्बन्धी क्रियाकलाप गराउने व्यवस्था छ । यसैगरी ४—५ को पाठ्यक्रमको पाठ्यघण्टा ४ र वार्षिक कार्यघण्टा १२८ को स्थानीय विषयअनन्तर्गत मातृभाषा, स्थानीय ज्ञान, सिप, कला, संस्कृति र प्रविधिमा आधारित विषयसंग सम्बन्धित क्रियाकलापहरु पर्ने उल्लेख छ । यस्तै कक्षा ६—८ को पाठ्क्रममा पाठ्यघण्टा ४ र वार्षिक कार्यघण्टा १२८ को मातृभाषा, स्थानीय कला, संस्कृति, संस्कृत भाषाको ज्ञान सिप र प्रविधि पेसा तथा व्यवसाय अभिमुखीकरण सम्बन्धी विषयबस्तु समेटन सकिने व्यवस्था छ ।

यसैविषयमा नेपालगञ्ज उपमहानगर पालिकाका शिक्षा शाखा प्रमुख गोेर्ख बहादुर थापाले स्थानीय विषयको नाममा अंग्रेजी र कम्प्यूटर विषय अध्यापन गराइराखेको बताए । उनका अनुसार स्थानीय विषय निर्माण गर्नका लागि उपमेयरको संयोकत्वमा समिति गठन गरेको छ र सो समितिले २०७९ सालदेखि स्थानीय विषय पठनपाठन गर्र्ने थापाले बताए ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख अनन्त कुमार पौड्यालले २०७९ साल बैशाख देखि स्थानीय विषय बालबालिकाले पठनपाठन गर्न पाउने बताए । उनका अनुसार कोरोना कारणले गर्दा यो शैक्षिक सत्रबाट स्थानीय विषय निर्माणमा समस्या आएको हो । कोहलपुरका सामुदायिक र निजी विद्यालयहरुलाई पाठ्यक्रमभन्दा बाहिरका विषयहरु अध्यापन नगर्न नगराउनुहुन भन्दै सूचना समेत निकालेका छन् ।

यस्तै शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामसुरेश यादवले स्थानीय विषय निर्माण नभएको बताए । कोरोनाका कारणले यो शैक्षिक सत्रबाट सुरु हुन सकेन, बाँकेका सबै पालिकाहरुले अंग्रेजी र कम्प्यूटरलाई नै स्थानीय विषयको रुपमा अध्यापन गराउँदै आइरहेका यादवले बताए ।

प्रकाशित मितिः बुधबार, अशोज ६, २०७८     10:28:49 AM  |