25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

तरकारी खेतीमा जमेका चौधरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २७, २०७८  

शिवु खनाल । दाङ ।

व्यवसाय गर्न इच्छा भए उमेरले फरक पार्दैन भन्ने उदाहारण बनेका छन् दाङको घोराही उप–महानगरपालिका वडा नम्बर, ६ पक्वैका बसन्त चौधरी । २२ वर्षको उमेर हुँदा घरमा तरकारी खेती सुरु गरेका चौधरी अहिले बल्ल ३४ वर्षका पुगे । घरमा सानो बारीमा खानका लागि तरकारी लगाएका हुन्थ्ये । तर बारीमा तरकारी राम्रै उत्पादन भइरहेको हुन्थ्यो । घरमा लगाएको तरकारी खेती देखेर उनलाई पनि तरकारी खेतीलाई व्यवसायिक बनाउनुपर्छ भन्ने सोच आउन थाल्यो । ‘तीनवर्ष तरकारी खेतीको व्यवसाय गर्दै अभ्यास गरे ।

पहिलो वर्षमै ३५ कठ्ठा जग्गाबाट तरकारी खेति सुरु गरेको थिए । राम्रोसँग उत्पादन हुन थालेपछि व्यवसायिक गर्नुपर्छ भन्ने आँट आयो’ चौधरी भने । त्यहि ३५ कठ्ठा जग्गाबाट व्यवसायीक रूपमा सुरु भएको तरकारी खेती अहिले देउखुरीको सतवरीयामा पाँच विगाहा आठ कठ्ठा जग्गामा फैलिएको छ । अहिले बेमौसमी तरकारी उत्पादनमा जोड दिइएको छ । अझै यो व्यवसाय विस्तार गर्न चाहेको चौधरीले बताए ।

उनको बारीमा अहिले हेमसोना जातको टमाटर, कर्मा सात सय ४८ जातको खुर्सानी, नामधारी जातको लौका, घिरौला, काक्रा, फलेका छन् । उनले वार्षिक एक लाख पचास हजारको सम्झौतामा जग्गा भाडामा लिएका छन् । ‘दुई वर्षको समय उत्पादन र सिकाईमा बित्यो, तेस्रो वर्षमा तरकारी उत्पादनमा वृद्धि र मूल्य पनि राम्रो पाए । तरकारी खेतिबाट राम्रो आम्दानी गर्नुको साथै तीन वर्षमा सोह्र कठ्ठा पुर्जासहितको जग्गा जोड्न सफल भएको छु’ चौधरीले भने ।

सुरुमा पाँच लाखको लगानीबाट व्यवसायीक रूपमा तरकारी खेति सुरु गरेका उनले अहिलेसम्म २२ लाख लगानी भइसकेको जानकारी दिए । उनका अनुसार दुई विगाहा जग्गामा ६ लाख बराबरको ९५ कुन्टल खुर्सानी, एक लाख बराबरको एक सय ३८ कुन्टल टमाटर बिक्रि भइसकेको छ । गतवर्ष १८ लाखको कारोबार गरि करिब पाँच लाख आम्दानी गरेका चौधरीले यसवर्ष असारको अन्तिम सम्म ३० लाख बराबरको कारोबार गरि करिब पन्ध्र लाख आम्दानी गर्ने अनुमान गरेका छन् । उत्पादित तरकारीहरू धनगढी, कोहलपुर र नेपालगञ्ज, घोराही, लमहीका व्यापारीहरू खरिद गर्न आउने गर्दछन् ।

मजदुरलाई वार्षिक आठ लाख ज्याला

पाँच विगाहा आठ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गरेका चौधरीले सिजनमा करिब तीस जना स्थानीयलाई रोजगारी दिदै आएका छन् । ‘अहिले आठदेखि नौजनासम्म स्थानीयलाई रोजगार दिएको छु । सिजनमा तीस जना भन्दा माथि नै हुन्छन्’ उनले भने, ‘प्रती व्यक्ति पन्ध्र हजारका दरले कामदारलाई मात्रै वार्षिक आठ लाख ज्याला दिने गरेको छु ।’

जग्गा थप गर्ने योजना

व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएका चौधरीले पाँच विगाहा जग्गा अपुग भएको भन्दै थप जग्गा थप गर्ने योजनामा रहेका छन् । ‘हाल पाँच विगाहा जग्गामा व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएको छु’ उनले भने, ‘दश कठ्ठा जग्गा थप गरिसकेको छु । पुनः जग्गा थप गरेर सिमला मिर्चा उत्पादन गर्ने योजना छ ।’

प्रकाशित मितिः बिहिबार, जेष्ठ २७, २०७८     7:52:00 AM  |