20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

‘बैकल्पिक माध्यमबाट नयाँ शैक्षिक सत्रपछि पठनपाठन शुरु हुन्छ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ २४, २०७८  

कोरोनाका कारण देश ठप्प छ । देशका सबै क्षेत्र विगत लामोसमयदेखि बन्द अवस्थामा रहेका छ । कोरोना महामारीले देशका सम्पूर्ण क्षेत्र सहित शिक्षा क्षेत्रलाई समेत प्रभाव पारेको छ । अहिले पनि देशभर विद्यालय, विश्व विद्यालयहरु बन्द अवस्थामा रहेका छन् । जसका कारण लाखौँ विद्यार्थीहरुको भविश्य अन्यौलग्रस्त छ । अझै कहिले विद्यालय खुल्ने हुन सरकार समेत अलमलमा देखिएको छ । अर्कातिर कोरोनाका तेस्रो लहरको समेत सम्भावना तीव्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयको सुझाव छ, यो भाइरसले सबै भन्दा बढी प्रभावित बालबालिका हुन सक्छन्, र उनीहरुका लागि देशभर २० प्रतिशत आइसोलेसन तयार गर्नुपर्छ । पहिलो र दोस्रो चरणमा बृद्धबृद्धा र यूवाहरुलाई कोरोनाका खोप लगाइएको तेस्रो चरणको कोरोनाको समयमा बालबालिकालाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ । सरकारले कोरोनाका कारण प्रभावित भएको शिक्षा क्षेत्रलाई प्राथमिकता दिइरहेको छ । नयाँ शैक्षिक सत्र शुरु हुँदै लाग्दा आन्तरिक मुल्यांकनबाट परिक्षाफल प्रकाशित गर्ने तयारी गरिरहेको छ । यस्तै तयारी स्थाानीय सरकारले समेत गर्न लागेका छन् । यस्तै कोहलपुर नगरपालिकाले आन्तरिक मुल्यांकन मार्फत परिक्षाफल प्रकाशित गर्नको लागि कोहलपुर नगरपालिकाले विद्यार्थी मुल्यांकन तथा नतिजा प्रकाशन कार्यविधि २०७८ जारी गरेको छ । सोही अनुसार कोहलपुरका सरकारी र निजी विद्यालयहरुले जेठ ३० गते प्रकाशन गर्ने समेत उल्लेख गरिएको छ । नजिकिदो नयाँ आर्थिक वर्षमा शैक्षिक क्षेत्रको प्राथमिकता, नयाँ शैक्षिक सत्रमा कसरी पठनपाठन शुरु हुन्छ भन्ने विषयमा कोहलपुर नगर शिक्षा शाखाका प्रमुख अनन्तकुमार पौड्यालसँग मिसन टुडे दैनिककाले गरेको कुराकानीको सम्पादित अंश :

१. कोरोनाको महामारीमा तपाईंको दैनिकी कसरी बितिरहेको छ ?

कोरोनाका कारण केही समय कार्यालय बन्द रहयो । केही समय अघि देखि हामी कार्यालयमा आउने गरिरहेका छौँ । कोरोना भएपनि कार्यालय त आउनै प¥यो । कोरोना महामारीको समयमा हामीले उच्च सतर्कता अपनाएर काम गरिरहेको अवस्था छ । विद्यालयका विभिन्न कामहरु भइरहेका छन् । तलब निकासा लगायतका विषयमा सबै साथीहरु दैनिक कार्यालयमा आएर काम गरिरहेका छन् । हामीले कार्यालयमा हुने प्रशासनका कामहरु निरन्तर गरिरहेका छौँ । म पनि दैनिक कार्यालयमा आउछु । कार्यालयका र भैपरी आउने सबै काम भइरहेको छ । विद्यालयलाई सेवा प्रवाह गर्ने काम भइरहेको छ । यस्तै बीमाको लागि सिफारिस लगायतका काम पनि भइरहेका छन् । विद्यालय खोल्ने सन्दर्भमा हामी नेपाल सरकारको आधिकारिक पत्रको पखाईमा छौँ । विद्यालयका अन्य आन्तरिक काममा व्यस्त रहेको अवस्था छ । हामी परिक्षाफल प्रकाशनको समेत तयारी अवस्थामा रहेका छौँ ।

२. परिक्षाफल प्रकाशन आन्तरिक मूल्यांकन मार्फत गर्ने भन्ने भएको छ, शिक्षा शाखाहरुलाई कस्तो खालको निर्देशन प्राप्त
भएको छ ?

कोहलपुर नगरपालिकाले के गरेको छ भने, कक्षा १–५, कक्षा ६–७ र कक्षा ९ को लागि चाहीँ सबै संस्थागत तथा सामुदायिक विद्यालयहरुलाई विद्यालयले गर्ने मूल्यांकनमा आफैले कार्यविधि बनाउने र समितिबाट पास गर्ने अनि शिक्षा शाखाबाट बुझाउने भनेका छौँ । त्यसै अनुसार वार्षिक परिक्षाफल विद्यालय विद्यार्थीको आन्तरिक मूल्यांकन गरेर प्रकाशन गर्ने तयारीमा रहेको अवस्था हो । सोही अनुसार कोहलपुरमा रहेको संस्थागत तथा सामुदायिक विद्यालयहरुलाई निर्देशन गरिएको छ । यसमा विद्यालयहरुले गृहकार्य समेत गरिरहनु भएको छ । उहाँहरुले एकैदिन परिक्षाफल प्रकाशन गर्नुहुन्छ । हामीले जेठको ३० गते एकमुष्ट रुपमा परिक्षाफल प्रकाशन गर्नको लागि भनेका छौँ । सोही अनुसार निर्णय पनि भएको छ । उक्त निर्णयका आधारमा नगरपालिकाका सम्पूर्ण विद्यालयहरुमा आन्तरिक मूल्यांकनका आधारमा परिक्षाफल प्रकाशित हुन्छ । यो निर्णय कोहलपुर नगरपालिकाले मूल्यांकन समितिले निर्णय समेत पास गरिसकेको छ । सूचना जारी गरेर हामीले सम्पूर्ण विद्यालयलाई जानकारी समेत दिनेछौँ । यस्तै कक्षा ८ को परिक्षाफलको सन्दर्भमा नगर कार्यपालिकाले निर्णय समेत गरेको छ । विगतदेखि नै नगरपालिकाले परिक्षाफल प्रकाशित गर्दे आएको छ । कक्षा ८ को वार्षिक मूल्यांकनको सन्दर्भमा कोहलपुर नगरपालिकाले विद्यार्थी मुल्यांकन तथा नतिजा प्रकाशन कार्यविधि २०७८ जारी गरेको छ । उक्त कार्यविधि नगरकार्यपालिकाले पास गरिसकेको अवस्था छ । सोही कार्यविधि अनुसार विद्यालयलाई वार्षिक मूल्यांकनका लागि विद्यालयमा समिति गठन गरिनेछ । उक्त समितिको नाम विद्यार्थी मूल्यांकन समिति रहनेछ । र त्यो समितिले मूल्यांकन गरेर शिक्षा शाखामा पठाउँछ । हामीले त्यसको अध्ययन र विश्लेषण गरेर स्तरीकरण गछौँ । नतिजा प्रकाशित हुन्छ । उक्त विवरण विद्यालयलाई उपलब्ध गराउनेछ । यसलाई कक्षा ८ को विद्यार्थी मूल्यांकनको लागि बाह्य ६०, आन्तरिक १५, प्रयोगात्मक २५ को मूल्यांकन प्राप्त अंक रहेको छ । त्यही अनुसार विद्यालयहरुले क्रैमासिकमा ४० र अर्धवार्षिकमा ६० प्रतिशत मूल्यांकन गर्छन् । तिनीहरुको एकजुष्ट प्राप्त अंक तालिका बनाएर नगरशिक्षामा पेस भएपछि नगर शिक्षा समितिले मूल्यांकन समन्वय समितिको अनुमोदनपछि नतिजा प्रकाशित हुन्छ । यो कार्यविधि संस्थागत र सामुदायिक दुवै विद्यालयहरुका लागि लागू हुन्छ ।

३. आन्तरिक मूल्यांकन विधिबाट परिक्षाफल प्रकाशित गर्दा विद्यार्थीलाई फेल गराउने पनि हुन्छ की हुँदैन ?

यो कार्यविधिको दफा १३ मा यस वर्ष उर्तिण अनुउर्तिणको व्यवस्था नरहने उल्लेख छ । त्यसमा भने पनि भनिएको छ भने, विद्यार्थीले प्राप्त गर्ने प्रमाणपत्रमा उर्तिण र अनुउर्तिणको व्यवस्था रहने छैन । सो को सट्टा विषयगत तथा समग्रमा श्रेणीकरण दिइनेछ । र विद्यार्थीले प्राप्त गरेको श्रेणीको विषयमा भने उल्लेख हुन्छ । त्यो ग्रेट र जिपिएमा समेत प्रकाशित हुन्छ । यसैगरी असार १ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने भन्ने नेपाल सरकारको निर्देशन रहेको छ । सोही कुरालाई दृष्टिगत गरी हामीले जेठ ३० गते एकमुष्ट रुपमा परिक्षाफल प्रकाशित गर्ने तयारी गरिरहेका छौँ । परिक्षाफल प्रकाशित गरेर आगामी शैक्षिक सत्रको लागि तयारी अवस्थामा रहने हाम्रो मानसिकता रहेको छ । सोही अनुसार सम्पूर्ण विद्यालयहरुलाई जानकारी समेत गराइरहेको अवस्था छ । र आगामी शैक्षिक सत्रको सन्दर्भमा विद्यार्थी भर्ना र अभिलेखिकरणका लागि विद्यार्थी स्कूलमा नआएपनि विभिन्न माध्यमबाट अभिलेखकरण र भर्ना गर्न सकिन्छ । विद्यालय सञ्चालनको सम्बन्धमा कोहलपुर नगरपालिकाको आगामी वार्षिक नीति तथा कार्यक्रम र बजेटमा बैकल्पिक विधिबाट भएपनि विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिने र बालबालिकालाई निरन्तर शिक्षा पाइरहने अवस्थाको सिर्जना गर्नको लागि यसतर्फ विशेष ध्यान दिइएको छ । सायद यो कुरा आगामी वर्षको बजेट र नीति तथा कार्यक्रममा सम्बोधन हुनेछ भन्ने अपेक्षा गरेका छौँ ।

४. नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउँदैछ, शिक्षा क्षेत्रको विकासका लागि कस्ता विषय प्राथमिकता हुन्छन, कस्तो गृहकार्य भइरहेको छ ?

हामीले मुलत आगामी वर्षको लागि बैकल्पिक माध्यमबाट भएपनि विद्यार्थीको पठनपाठनलाई निरन्तरता प्रदान गर्नको लागि विद्यालयलाई बैकल्पिक माध्यमबाट सञ्चालन गर्ने र पठनपाठनको तयारी, जनशक्ति विकास, पूर्वाधार विकास, त्यसको परिचालन र सञ्चालनमा विशेष ध्यान दिनइनेछ । र अन्य कुरा पनि प्राथमिकता अनुसार कामहरु हुनेछन् । यस्तै तपाईंले भन्नु भए जस्तै कोहलपुर नगरपालिकाको हकमा बालविकास केन्द्रका शिक्षिकाहरुका लागि विगत वर्षदेखि नगरपालिको आर्थिक क्षमता अनुसार प्रोत्साहन गर्दै आएको छ । नेपाल सरकारको आगामी वर्षको बजेटमा पनि केही रकम स्थानीय तहले पनि व्यहोर्ने भनेको छ । सो सम्बन्धमा अहिले नगरपालिकाको बजेट निर्माण गर्ने क्रममा त्यस कुरालाई के कसरी सम्बोधन गर्न सकिन्छ भनेर छलफल समेत भइरहेको छ । अब आउने बजेट र नीति तथा कार्यक्रम केही कुराहरु समेटिन्छन् । कुनै न कुनै हिसाबमा समेट्ने आशा गरौँ ।

५. अन्त्यमा, सम्पूर्ण अभिभावक, विद्यार्थीहरुलाई स्वअध्ययनको लागि के सुझाव दिन चाहनुहुन्छ ?

सम्पूर्ण अभिभावक ज्यूहरुलाई म के निवेदन गर्न चाहन्छु भने, हामीले बालबालिकाहरुलाई निरन्तर शिक्षा दिनको लागि हामीले प्रयत्नरत छौँ । त्यसको लागि हामीले बालबालिकाहरुलाई विद्यालयमा पठाएर, पाठ्यपुस्तक किनेर, ड्रेस किनेर, खाजा खाने पैसा दिएर कापी कलम समेत दिएर सहभागिता बढाउने कोशिस गरिरहेको हो । अब विद्यालयमा विद्यार्थीलाई पठाइ रहने अवस्था नहुँदाखेरी त्यो खर्च कम भएको छ । त्यो खर्च बैकल्पिक माध्यमका साधनहरुमा यहाँहरुले ध्यान दिनु भयो भने राम्रो हुनेछ । यसले दीर्घकालसम्म खर्चमा मेन्टेन गर्छ । बैकल्पिक व्यवस्था आर्थिक रुपमा पनि उपयोगी र किफायती छ । तपाईहरुलाई बहुआयमिक सिकाई गराउन सक्नुहुन्छ । यस्ता प्रकाकार माध्यमको प्रयोग गर्न मेरो सुझाव रहेको छ ।अभिभावक आफै शिक्षक भएर बालबालिकाहरुको भविश्य उज्जवल बनाउनको लागि पढाई कुनाको व्यवस्था गर्न पनि अनुरोध गर्न चाहन्छु । यस्तै पढ्नको लागि मिनी लाईबे्ररीको समेत व्यवस्था गरिदिनु भयो भने राम्रो हुन्छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २४, २०७८     7:46:41 AM  |