19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

के हो कोरोना संक्रमितको ज्यानै लिनसक्ने :कालो ढुसीु, कस्तो छ नेपालको अवस्था 

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८  

काठमाडौँ : कोरोना भाइरसबाट संक्रमित भएका बिरामीहरुमा पछिल्लो समय ब्ल्याक फंगस (कालो ढुसी) अर्थात् म्यूकोर्माइकोसिसको समस्या देखिन थालेको छ ।

संक्रमणबाट निको भइसकेपछि बिरामीलाई यस्तो समस्याले सताउने गर्छ । विशेषगरी भारतमा यस्ता बिरामीको संख्या बढ्दैगएकोमा स्वास्थ्यकर्मीहरु चिन्तित छन् । कालो ढुसीले गर्दा बिरामीको ज्यान जोगाउन आँखा नै काट्नुपर्ने हुनसक्छ ।

भारतको आंकडा अनुसार ११ हजार जनामा कालो ढुसीको समस्या देखिएको छ । तीमध्ये आधाजसोको ज्यान नै गएको छ । यसरी आँखामा कालो ढुसी फैलिँदै जाँदा यसबाट संक्रमण नाक हुँदै मस्तिष्कसम्म पुग्ने र बिरामीको मानसिक र शारीरिक चेतना नै गुमाउन पुग्ने चिकित्सकहरु बताउँछन् ।

भारतीय चिकित्सकहरुका अनुसार यस्तो समस्या केही घण्टाभित्रै शरीरभर फैलिनसक्छ । त्यसैले पनि यसलाई खतरनाक मानिन्छ । कतिपय अवस्थामा आँखा काटेर नफाल्दा त्यसले जीवनभर नै सताउन सक्ते चिकित्सकहरु बताउँछन् ।

कोभिडको उपचार गर्दा चिकित्सकहरुले बिरामीमा स्टेरोइडको अत्यधिक मात्रामा प्रयोग गरेका कारण कालो ढुसी लागेको हुनसक्ने बताइन्छ । यद्यपि यसबारे वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । पछिल्लो समय यस्ता बिरामीको संख्या बढेको हुनसक्ने बताइन्छ ।

नेपालको अवस्था

नेपालमा पनि यस्तो संक्रमण फाट्टफुट्ट देखिन थालेको चिकित्सकहरु बताउँछन् । बीबीसी नेपालीमा प्रकाशित समाचार अनुसार म्यूकोर्माइकोसिस अर्थात्‌ कालो ढुसीको सङ्क्रमण नेपालमा अहिलेसम्म झन्डै एक दर्जन मानिसमा पुष्टि भएको छ ।

विभिन्न ठाउँका गरी हालसम्म नेपालमा १२ वटा म्यूकोर्माइकोसिसका केस आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

पौडेलका अनुसार वीरगन्ज, नेपालगन्ज र काठमाडौँ लगायत ठाउँका अस्पतालका बिरामीमा कालो ढुसीको सङ्क्रमण देखिएको बीबीसीमा समाचार छ ।

नेपाली अधिकारीहरुका अनुसार नेपालमा सुरुमा सीमा क्षेत्र वीरगन्जबाट यस्ता संक्रमित देखिन थालेका हुन् । त्यहाँका अस्पतालले कालो ढुसीका संक्रमितबारे नेपाल सरकारलाई जानकारी गराएका थिए ।

स्वास्थ्य मन्त्रालयले यस्ता संक्रमणलाई निगरानी थालेको जनाएको छ । साथै कालो ढुसीको सङ्क्रमण रोकथाम र उपचारबारे एउटा कोर टीम नै बनाएर काम गरिरहेको मन्त्रालयले जनाएको छ ।

कालो ढुसीबाट सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि भने महंगो र सर्वसुलभ नभएको पनि बताइन्छ । विशेषगरी कालाजारको उपचारमा प्रयोग हुँदैआएको औषधि एम्फोटेरिसिन बीु औषधि यस्तो संक्रमणका बिरामीमा प्रयोग गरिएको चिकित्सकहरु बताउँछन् । तर उक्त औषधि पनि सर्वसुलभ छैन ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८     4:58:46 PM  |