19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

कोरोना परीक्षण गर्न नमानेका दुईको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८  

पाँचथर, २१ जेठ (रासस) : कोरोनाको परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ । एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको समयमा परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका–८ का दुई पुरुषको बिहीबार मृत्यु भएको हो ।

उनीहरूलाई कोरोनाको लक्षणसँग मिल्ने स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो । फिदिम–८ को कागते र घुमाउनेटार घर भएका क्रमशः ७२ र ६२ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर नेम्वाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार लक्षण देखिएका उनीहरूको परीक्षण हुन सकेको थिएन । “वडामा टोली आउँदा परीक्षण गराऔँ भनेर मैले नै भनेको हुँ, मान्नुभएको थिएन”, वडाध्यक्ष नेम्वाङले भन्नुभयो, “हिजो दुःखद घटना भयो ।” उनीहरूमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता स्वास्थ्य समस्या थिए । एकको बिहीबार अपराह्न ३ः०० बजे घरैमा नै मृत्यु भएको थियो भने अर्कालाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि फिदिम ल्याउने क्रममा राति ९ः०० बजे बाटैमा मृत्यु भएको वडाध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।
–––
४९– न्यायपूर्ण, सभ्य, एवं समतामूलक समाज निर्माणका लागि सांस्कृतिक रूपान्तरणको खाँचो छः राष्ट्रपति

काठमाडौँ, २१ जेठ(रासस)ः राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । विसं २०६३ जेठ २१ गते मुलुकलाई जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको दिनको स्मरण गर्दै हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ ।

नेपालको संविधान तथा अन्तर्गतका कानूनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, वञ्चितीकरण र हिंसालाई अपराधका रूपमा लिँदै त्यसलाई निषेध गरे पनि समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यूनचेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको समूल अन्त्य हुन नसकेकामा राष्ट्रपतिले चिन्ता व्यक्त गर्नुभएको छ ।

छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य रहेको र सो प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाँचो औँल्याउँदै राष्ट्रपतिले यसका लागि सबै पक्षको एकताबद्ध र निरन्तर प्रयासको आवश्यकतामा जोड दिनुभएको छ ।

जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरूद्धको अपराध भएकाले सो प्रथाविरूद्ध दृढतापूर्वक क्रियाशील रहन राष्ट्रपतिले सम्बद्ध सबैमा आह्वान गर्नुभएको छ । सामाजिक जागरणबाट सबैमा समभावको विकास गर्न तथा सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन समेत आजको दिवसले सबैलाई अभिप्रेरित गर्नेछ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आजको दिनले सामाजिक तथा रुढिवादी सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता, सद्भाव र सहिष्णुता अभिवृद्धि भई छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८     5:03:36 PM  |