17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

नेपालगञ्जमा लकडाउन जारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७८  

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्ज उप–महानगरपालिका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । द्रुत गतिमा कोरोना संक्रमण फैलिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले एक साताका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

बुधबार राति १२ बजेदेखि आगामी बैशाख १५ गते राति १२ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेशमा उल्लेख गरिएको छ ।

यसअघि मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले कोरोना संक्रमण दरको साङलो तोड्नको लागि एकसाता लकडाउन वा निषेधाज्ञा जारी गर्न प्रजिअलाई सिफारिस गरेको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा बुधबार जारी गरिएको आदेशमा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८–०१–०६ को आदेश, संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम र २०७८–०१–०७ बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेको विश्लेषण एंव सिफारिसका आधारमा कोरोनाको फैलावटको साङ्लो तोड्नको लागि निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

गेलालद्धारा जारी आदेशमा अत्यावश्यक सेवा र सो का लागि आवश्यक साधन बाहेक सबै प्रकारका सेवा बन्द गर्ने बताइएको छ । ‘अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तीय संस्थासमेत), सवारी साधन, पसल व्यवसाय सञ्चालन र अत्यावश्यक कामबाहेकको हिँडडुलमा समेत निषेध गर्ने’, प्रशासन कार्यालयबाट जारी आदेशमा भनिएको छ ।

प्रशासन कार्यालयका अनुसार नेपालगञ्ज क्षेत्रमा मात्रै बुधबारसम्मको तथ्यांक अनुसार ७३५ जना सक्रिय संक्रमित पुगिसकेका छन् ।

विश्वव्यापी रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को हालका दिनमा बाँकेमा तीव्र दरमा बढिरहेको र नेपालगञ्ज उप–महानगरपालिकामा मात्र संक्रमित अध्यधिक रहेको र अस्पतालका बेड समेत भरिभराउ भएको अवस्थामा गम्भीरताका साथ लिएर निधेषाज्ञा गरिएको बताइएको छ ।

यी सेवामा छैन निषेध

जिल्ला प्रशासन कार्यालय बाँकेको आदेशमा सञ्चालन गर्न पाइने सेवा एंव कार्य र साधनहरु बारेपनि उल्लेख गरिएको छ ।

उक्त आदेश अनुसार निषेधाज्ञा अवधिभर स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल र बैंकका एटिएम जस्ता अत्यावश्यक सेवाहरु सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परिक्षा र हवाई सेवा सञ्चालन हुनेछन् ।

यस्तै उक्त अवधीमा एम्बुलेन्स, शववाहन, झण्डावाल गाडी र निलो (कुटनीतिक) प्लेटका सवारी साधनहरु, लामो दुरीका सवारी, मालबाहक साधनहरु, निर्माण ढुवानीका साधनहरु, अत्यावश्यक सेवामा खटिएका जनशक्तिले प्रयोग गरेको सवारी साधन, अनुमति (पास) प्राप्त साधनहरु रहेका छन् ।

आदेशमा उल्लेख गरिएको सेवा एवं कार्यमा संलग्न कर्मचारी, व्यक्तिले अनिवार्य रुपमा कर्मचारी परिचय पत्र एवं अन्य सान्दर्भिक साथमा राखेको हुनुपर्ने पनि उल्लेख गरिएको छ ।

साथै अनिवार्य मास्क लगाएको हुनुपर्ने, भौतिक दुरी लगायतका जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पुरा गरी दैनिक उपभोग्य वस्तु (तरकारी, खाद्य, दुध र त्यसका पसल) विहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

प्रजिअ गेलालद्धारा हस्ताक्षरित आदेश पत्रमा उल्लेखित कुराको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पु¥याउने, व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन,२०२८ अनुसार कारबाही हुने बताइएको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७८     9:25:46 AM  |