नेपाल सरकारले होम स्टेलाई प्रवद्र्धन गरिरहेको छ । देशका विभिन्न क्षेत्रमा स्थापना गरिएका होम स्टेहरुले प्रयर्टन प्रवद्र्धन तथा संस्कृति संरक्षणमा भूमिका खेलिरहेका छन् । ती होम स्टेहरुमा आन्तरिक तथा बाह्य पर्यटक समेत आउँछन् । यो पर्यटन प्रवद्र्धनको एक शसक्त माध्यम समेत हो । सरकारले पनि होम स्टे सञ्चालनका लागि अनुदान प्रदान गर्छ । तर कतिपयले निजी लगानीमा राज्यलाई पर्यटन प्रवद्र्धनमा अघाइरहेका छन् ।बाँके जिल्लामा समेत होम स्टे सञ्चालनको लहर नै चलेको छ ।बाँकेमा पछिल्लो समय होम स्टेहरुको संख्या समेत बढ्दै गएको छ । पछिल्लो समय थपिएको छ, कोहलपुर नगरपालिका १४, थापा टोलमा, अर्गानिक होम स्टे । यसका सञ्चालक हुन् दिनेश थापा । तीन वर्ष बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा बसेका उनी फर्किएर देशको अर्गानिक ब्राण्डको प्रचार प्रसारमा जुटेका छन् । युवा व्यवसायी थापासँग बैदेशिक रोजगारीको अनुभव,अर्गानिक होम स्टेका विशेषता लगायतका विषयमा शुभाकर विश्वकर्माले गरेको कुराकानी :-
१. तपाईंको दैनिकी कसरी बितिरहेको छ ?
सुरुवात गर्न थालेको दुई साता पुग्न लाग्यो । हामीले अर्गानिक होम स्टेको एक जना मुटु रोगी महिलालाई आर्थिक सहयोग गरेर सुरुवात गरेका थियौ । अहिले हामी खास व्यवस्थापनमा बढी सक्रिय रुपमा लागिरहेका छौ । होम स्टेमा ग्राहक पनि केही संख्यामा आइरहनु भएको छ । प्रचार प्रसारको क्रममा छ भनौ । नयाँ वर्षबाट एक ढंगबाट अघि बढाउने हामीले कोशिस गरिरहेका छौ ।
२. तपाईंको व्यक्तिगत जीवन बारे केही बताइदिनुस न ?
म कोहलपुर नगरपालिका वडा नम्बर १४ को स्थानीय हुँ । मेरो सानो परिवार पनि छ । मेरो शैक्षिक योग्यता भनेको प्लस टु पास हो । म राम माविमा अध्ययन गरेको हो , मावि तह । पछि हाइस्कूलबाट प्लस टु गरे । ब्याचलर जोइन्ट त गरेको हो । पढाइलाई निरन्तरता दिन सकिएन । म विदेश गए । त्यहाँ तीन वर्ष बसे । साउदी अरबमा गएको थिए । म त्यहाँ मेकानिकलको रुपमा काम गर्थे । विभिन्न सामग्रीहरु बनाउने काम गरे मैले ।
३. यति सानै उमेरमा होम स्टे व्यवसायमा कसरी जोडिनु भयो नि ?
म नीन वर्ष बाहिर बसे । म बस्ने देशमा पुरै मरुभूमि भएको ठाउँ छ । त्यस्तो मरुभूमि मैले कहिल्यै देखेको पनि थिइन् ।त्यहाँ मैले बालुवामा पनि बोट बिरुवा, बालीहरु उब्जनी गरेको देखे ।सागपात खान पाइन्थ्यो मरुभूमिमा उब्जाएको । अनि मलाई लाग्यो । हाम्रो देशमा प्रसस्तै माटो छ ।नदीनाला छन् । पानी छ । युवा भरी विदेशिएका छन् ।जमिन बाझो भइसक्यो । सम्भावनाहरु ओझेलमा पर्ने अवस्था भइसक्यो । लगत्तै म विदेश फर्किए । आफ्नेै देशमा केही न केही व्यवसाय गर्नुपर्छ भनेर म फर्किएको हो । यहाँ आएर बुबा र ममीसँग सल्लाह गरे । परिवारमा धेरै सल्लाह पनि भयो ।अन्तिममा हामीले अर्गानिक वस्तु र होम स्टे नै रोज्यौ । धेरै पूर्वतयारी, भिजन र मिसनका साथमा मैले यस क्षेत्रमा हात हालेको हो । यसरी नै जोडिएको हो म यस क्षेत्रमा । आफ्नै देशमा केही गरेर देखाउछु भन्ने दृढ विश्वासका साथ अघि बढेको छु ।
४.अर्गानिक होम स्टेका विशेषता बारे अवगत गराइनुहोस न , के के पाउँछ यहाँ ?
हाम्रो पहिलो प्राथमिकता भनेको पर्यटक÷ सेवाग्राहीहरुको माग अनुसार अघि बढ्ने हो । यहाँ आउने सेवाग्राहीले जे माग्छन् । हामी उपलब्ध गराउँछौ । मैले समय सापेक्ष, माग अनुसार अघि बढ्ने योजनामा छु । म अहिले हामीले के के कुरा दिन सक्छौ त भन्ने कुरा सिकिरहेको छु । धेरै अग्रजहरुबाट सल्लाह पनि लिने गरेको छु । यहाँ क्याम्प फायरिङ, फिसिङ, साइकल रायडिङ र टे«किङको पनि व्यवस्था गर्ने योजनामा छु । यहाँ आउने पर्यटकहरुलाई लामो समय कसरी राख्न सकिन्छ । यसबाट पर्यटन प्रवद्र्धन कसरी हुन्छ भनेर पनि प्याकेज निर्माण गरेको छु । अहिले चाही हामीले खसी, लोकल कुखुरा र माछा प्रदान गरिरहेका छौ । यहाँ कर्णालीका अर्गानिक देखि थारु, मुस्लिम लगायतका समुदायका विशेष परिकार समेत यहाँ पाइन्छ । शान्त वातावरण यहाँको विशेषता समेत हो ।
५. यसको नाम नै अर्गानिक होम स्टे राख्नु भएको छ ? यहाँको संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनलाई कसरी जोड्न खोज्नु भएको हो ?
म थापामगर, यहाँ मगर समुदायमा मात्रै पाइने परिकार पाइदैन । यहाँ विविधता छ । यसमा हरेक चीज अटाउँछ । हामीले एउटै जात र समुदायलाई ‘रिप्रिजेन्ट’ गर्दैनौ । हामी सिंगो नेपाली समाजलाई नै समेट्न खोजिरहेका छौ । यस क्षेत्रमा रहेको मधेशी,थारु र अन्य समुदायमा पाइने परिकार पाइन्छ । यहाँ संस्कृति संरक्षणदेखि लिएर अर्गानिक वस्तुहरुको समेत प्रचार प्रसार र प्रवद्र्धन गर्ने काम हुन्छ । हामीले नयाँ वर्षको अवसरमा यसै सम्बन्धि सांस्कृतिक कार्यक्रम समेत गर्दैछौ । यहाँको मौलिकता, संस्कृति र अर्गानिक वस्तुहरु पनि शो हुन्छन् । यो क्षेत्र कर्णालीका मानिसहरुको बाहुल्य क्षेत्र पनि हो । त्यसैले अर्गानिक वस्तुहरुको बाहुन्य यहाँ हुनेछ । ढिडो देखि सिस्नो पनि पाउनु हुनेछ । हामीले अहिले आन्तरिक पर्यटकलाई केन्द्रीत गर्न खोजिरहेका छौ । यति भन्छु । जो यहाँ आउनु हुनेछ । तपाई खुसी भएर जानुहुनेछ ।
६.नेपाली युवाहरुको गन्तव्य नै वैदेशिक रोजगार बनिरहेको बेलामा तपाईं आफ्नै देशमा व्यवसायमा लाग्नु भएको छ, देशमा सम्भावना छैन भन्नेहरुलाई के भन्नुहुन्छ ?
युवाहरुलाई म के भन्न चाहन्छु भने, मानिसले गल्तीबाट धेरै कुरा सिक्छ । अरुबाट पनि धेरैबाट सिक्न सकिन्छ । मैले मरुभूमिमा गएर दुःख सिकेर आए । दुःख आफ्नै देशमा गर्नुपर्छ । यहाँ पनि पैसा कमाउन सकिन्छ भन्ने शिक्षा सिके । त्यसैले म यहाँ आएको हो । आफ्नै देशमा स्वरोजगार बन्ने कोशिस गरिरहेको छु । तपाईंहरु पनि कोशिस गर्नुहोस । युवाले अर्काको देशमा समृद्धि देख्नुहुदैन । अग्रजबाट पनि धेरै कुरा सिक्न सकिन्छ । जीवन नै सिकाइ हो । सिक्दै जाने हो । एक दिन अवश्य सफल भइन्छ । त्यसैले काम गरौँ । हामी युवाहरुले वर्तमान मात्रै होइन भविष्य पनि हेर्नुपर्छ । यस्तै म को हुँ । म आज कसका कारण यहाँ छु भन्ने पनि बुझ्नुपर्छ । देशको विकास र आर्थिक रुपमा समृद्ध हुनको लागि आफू स्थापित हुन पनि जरुरी छ । हामी हुनै पनि माध्यमबाट अघि बढ्न सक्छौ । एउटै फिल्डमा सक्रिय रुपमा लाग्नुपर्छ । अवश्य सफल भइन्छ । आज नहोला भोली सफल भइन्छ । आफ्नो अगाडिको मान्छेलाई आइकन बनाउनु होस एक दिन अवश्य सफल भइनेछ । मैले पनि त्यही गरिरहेको छु ।
७. अहिले पनि व्यवस्थापन कै क्रममा हुनुहुन्छ, आगामी योजना के छ ?
मैले धेरै योजना बनाएको छु । मेरा धेरै योजना छन् । फिसिङ सुरु गर्ने योजना छ । त्यसको लागि जग्गा व्यवस्थापन भइसकेको छ । अरु तयारी गर्न बाँकी छ । यहाँ आउने पर्यटकले त्यो सुविधा पाउनेछन् । ‘बारबी क्यू’को समेत व्यवस्था हुनेछ । सिजन अनुसार क्याम्प फायरको अवस्था गरिनेछ । यसमा युवाहरुको निकै आर्षकण छ । यो चिसो समयमा बढी चल्छ । इन्टरनेटको समेत व्यवस्था गर्दैछौ । सफ्टेवरहरु समेत हुनेछ । शान्त वातावरण हुनेछ । बाह्रै महिना हरियाली बनाउने योजनाका साथ अघि बढिरहेका छौ ।
८.तपाईलाई यसमा परिवारको कत्तिको साथ छ ?
ठिक प्रश्न गर्नुभयो । अहिले व्यवसायमा जोडिएको छु ।त्यो मेरा आमा बुबा कै कारण हो । आमा बुबा लामो समयदेखि व्यवसायमा
हुनुहुन्छ । अहिले पनि व्यवसाय गरिरहनु भएको छ । मलाई धेरै साथ दिनु भयो ।कहिले पनि मेरो इच्छा विपरित काम गर्नु भएन । मेरो कामलाई साथ दिदै आउनु भएको छ । अहिले पनि बुबा दिनभर काममा सघाउनुहुन्छ । म व्यवसायमा आएको छु । उहाँहरु निकै खुसी हुुनुहुन्छ ।
९. अन्त्यमा सम्पूर्ण पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?
सम्पूर्णलाई मेरो आग्रह छ, तपाईहरु अर्गानिक होम स्टेमा आउनुहोस । तपाईंहरुले चाहे अनुसारको परिकार दिन सेवाको गर्नको लागि हामी तत्पर छौ । सेवा र सत्कार र सदभावको लागि हामी पर्खेर बसेका छौ । तपाईलाई फेरी आउने बनाउनेछौ । एकपटक अर्गानिक होम स्टेमा तपाईहरुलाई स्वागत छ । अन्त्यमा मिसन टुडेलाई धेरै धन्यवाद अवसरका लागि ।