18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

लमहीको खर्च पन्ध्र प्रतिशत, राजश्व समेत लक्ष्यको आधा उठ्ने आंकलन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २८, २०७७  

शिवु खनाल । दाङ ।

दाङको लमही नगरपालिका बजेट खर्च र राजश्व असुलीको अवस्था कमजोर देखिएको छ । अहिलेसम्म नगरपालिकाले चालू आर्थिक वर्षको कुल बजेटको १७ प्रतिशत बजेट खर्च गर्दा पुँजीगत खर्च ११ प्रतिशत मात्रै गरेको हो । चालू आर्थिक वर्ष सकिन ४ महिनामात्र बाँकी रहँदा पुँजीगत खर्च ११ प्रतिशत मात्रै भएको नगरपालिकाले जनाएको छ ।

चालू आर्थिक वर्षमा ११ करोड ६२ लाख आन्तरिक राजश्व सकंलन गर्ने लक्ष्य नगरपालिकाले राखेपछि अहिलेसम्म २३ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । अहिलेसम्म २ करोड ७० लाख मात्रै राजश्व संकलन भएको नगरपालिकाको लेखा शाखाले जनाएको छ । मुख्य आम्दानीको स्रोत रहेको नदीजन्य पदार्थको बिक्री वितरण हुन नपाउँदा राजश्वमा कमी आएको हो । लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले नदीजन्य पदार्थको लागि खोला ठेक्का लगाउन नपाउँदा राजश्व संकलन दर कम रहेको बताए ।

‘ठेक्का लगाउनु पुर्व गर्नुपर्ने प्राविधिक काम बातावरण प्रभाव मुल्याङकन लगायतमा ढिलाई भएका कारण ठेक्का लगाउन सकिएन’ उनले भने, ‘चालू आर्थिक वर्षको राजश्व संकलन लक्ष्यको ५० प्रतिशतसम्म भेटाउन सकिन्छ भन्ने कुरो छ ।’ नदीजन्य पदार्थ बिक्रीबाट आउने राजश्व गुम्दा नगर क्षेत्रमा योजना कार्यान्यनमा समस्या भएको छ । यता लमही नगरपालिकाले पूँजिगत खर्चको अवस्था कमजोर हुनुको कारण पटक–पटक कार्यालयका प्रमुख प्रशासकिय अधिकृतको सरुवाले प्रभाव पारेको बताएको छ ।

फागुन महिनामै खर्च बढी देखिनुपर्ने समय नभएको लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नोखीराम ओलीले बताए । ‘ठूला संघ र केन्द्रका योजना ठेक्का लगाएका छौ’ रनिङ बिल उठाएर खर्च गरेको भए देखिन्थ्यो, अहिले त्यस्तो भएको छैन, धेरै योजनाहरु सम्झौता भएका छन् । काम हुने क्रममा छन्, काम हुन्छन् ।’ यसैबीच नगरपालिकाको तुलनामा देउखुरीका अन्य पालिकाको पूँजीगत खर्च बढाएको देखिएको छ । राजपुर गाउँपालिकाले चालू आर्थिक वर्षमा १८ प्रतिशत काम गरेको जानकारी दियो ।

राजश्व संकलनको अवस्था भने गाउँपालिकामा पनि कमजोर देखिन्छ । १ करोड ६४ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको पालिकाले हालसम्म जम्मा ३१ लाख मात्रै संकलन गरेको छ । यो लक्ष्यको १९ प्रतिशत मात्रै हो । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेमन्त खनालले नदीजन्य पदार्थमा ठेक्का लगाउन नसक्दा राजश्य संकलनको लक्ष्य नभेटिएको बताए ।

देउखुरीकै अर्को पालिका गढवा गाउँपालिकाले पूँजिगत खर्च २९ प्रतिशत र चालू खर्च ४२ प्रतिशत रहेको छ । ४ करोड ८० लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको पालिकाले १ करोड ६ लाख राजश्व संकलन गरेर लक्ष्यको २२ प्रतिशत मात्रै पूरा गरेको छ । यस्तै राप्ती गाउँपालिकाको चालू आर्थिक वर्षमा २९ प्रतिशत पूँजीगत खर्च गर्दा चालू खर्च ३३ प्रतिशत गरेको छ । राजश्व संकलनको लक्ष्य जम्मा एक करोड ७५ लाखको लक्ष्य लिएको पालिकाले अहिलेसम्म ६४ लाख २४ हजार मात्रै राजश्व संकलन गरेर ३६ प्रतिशत भेट्टाएको थियो ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २८, २०७७     10:29:24 AM  |