शिवु खनाल दाङ,
बाह्रकुने दह र पाण्डवेश्र धारपानी दाङको प्रसिद्ध पर्यटकीय क्षेत्र हुन् । पछिल्लो समय ती क्षेत्रमा आउने पर्यटकको रोजाइ देउखुरीको जखेराताल बन्न थालेको छ । लुम्बिनी प्रदेशको राजधानी भालुबाङबाट २१ किलोमिटरको दुरीमा रहेको जखेराताल चुरे पहाडको काखमा अवस्थित छ ।
तालमा डुङ्गाबाट सफारीका लागि आउने पर्यटकको रोजाइ त्यतातिर हुन थालेको स्थानीय बताउँछन् ।जखेरातालमा डुङ्गा सफारीसहित अन्य गतिविधि पिकनिक, नाँचगानमा रमाउने पर्यटकको रोजाइ हुने गरेको ताल संरक्षण समितिका महासचिव लोकमणी बन्जाडेले बताए । कोरोना भाइरस(कोभिड १९) का कारण जखेराताल प्रवेशमा करिब सात महिना रोक लगाइएको थियो । खुला गरेसँगै दिनप्रतिदिन पर्यटकहरुको संख्या बढ्दै गएको छ ।
ताल अवलोकन तथा ढुंगा सफारीको लागि बर्सेनी ५ लाखभन्दा बढी पर्यटक भित्रिने गरेका छन् । दैनिक ८ देखि १० वटा बस पर्यटक लिएर जखेराताल छिर्ने गरेको महासचिव बन्जाडेले बताए । तालमा डुङ्गा सफारी गरि मन्दिर दर्शन गर्न उपयुक्त भएसँगै जखेरातालमा पर्यटकको संख्या बढ्दै गएको महासचिव बन्जाडेको भनाइ छ ।
जखेरातालमा थप पर्यटकीय गतिविधि सञ्चालन गरेर आउने पर्यटकको बसाइ लम्ब्याउने, जखेरातालमा आगमन बढाउने विषयमा समितिमा छलफल भइरहेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठान सदस्य केशवराज पोख्रेलले जानकारी दिए । लमही नगरपालिका वडा नम्बर ३ टिकु लिगण जखेरातालस्थित प्रसिद्ध धार्मिक स्थल शिव मन्दिर दर्शन गर्न आउने तिर्थालुहरूको संख्या बढ्दै गएको छ ।
शिव मन्दिरको दर्शन र घुम्नको लागि प्रायःजसो शुक्रबार र शनिबार यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्छ । पहिलेकै जस्तो चहलपहल बढ्दै गएको महासचिव बञ्जाडेको भनाइ छ ।
उनले भने,‘जखेराताल अवलोकन गर्न आउने पर्यटकहरू तालमा रहेको दुईवटा ढुंगाबाट शिव मन्दिरको दर्शन गर्छन् । समेत गर्छन् ।’ जखेराताल अवलोकन गर्नको लागि पश्चिम बाँके, बर्दिया, कैलाली, कञ्चनपुरबाट बढी पर्यटकहरू आउने गरेको छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई मन्दिर दर्शनका लागि खुला गरिएको महासचिव बञ्जाडेले बताए ।