7 September 2024  |   शनिबार, भदौ २२, २०८१

रिर्पोटरको कलमबाट… खुसी छैनन् घरभित्रका देउता !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २४, २०७७  

अछुत कोपिला

घर भन्न बित्तिकै इट्टाले बनाएको,परालले छाएको र टिन हालेको रुपमा मात्र बुझ्छौ हामी । बाहिरी आकृति हेर्छौ घरको ।खुला आकाशमुनिको झुपडिपनि घर हो । बालुवाटार र सिंहदरबार पनि घरै हुन् । त्यही घर राजा, महाराजा बस्दा दरबार र निवास कहलिन्छ । सामान्य नागरिक बस्ने घर कटेरो र झुपडिका नामले परिभाषित गरिन्छ । घर यति थोरै परिभाषाभित्र पर्दैन । घर त्यो हो, जुन घरभित्र शान्ति, प्रेम, भातृत्व, मातृत्व र आदर सम्मानको संस्कार हुन्छ । तर त्यो घरमा यी सबै कुरा छैनन् भने, त्यो केवल निर्जिव वस्तुहरुको पुञ्ज मात्रै हुन्छ। घर स्वर्ग र नर्कको अर्को नाम पनि हो।

एक मननीय युक्ति छ, ‘जहाँ नारी पुजिन्छन् । त्यहाँ देवता पनि खुसी हुन्छन् ।’ अर्थात नारी देवताका रुप हुन् । ठिक यहिबेला प्रश्नहरुको कारखाना बन्छ मनभित्र । हाम्रो घरमा देवता ‘नारी’ खुसी छन की छैनन् ? के हामीले छोरी, बुहारी र आमालाई पुज्ने गरेका छौ ? हाम्रो समाजले के देउतै मानेको छ त नारीलाई ? जबजब बलात्कारपछि हत्या गरिएका निर्मला, सम्झना र भागरथीहरु सम्झिन्छु ।प्रेम सम्बन्ध स्वीकार नगरेका कारण तेजाबको सिकार भएका मुस्कान खातुनहरुको याद आउँछ । कथित जातीय विभेदको सिकार बनेका मना सार्कीहरुको नियतीले पोल्छ। आफैसँग लडेर सफलता प्राप्त गरेका सपना रोकामगरको साहस याद आउँछ ।

पार्वती बुढा, झुमादेवी शाही, डिक्रादेवी ढकाल, रतनदेवी विक, झुप्री ढोली लगायत छाउगोठले निलेका किशोरीहरुको सम्भना मन भत्भती पोल्न थाल्छ । मनै न नै हो, दुःखी हाल्दो रैछ । अनि सम्झिन थाल्छु, विद्यादेवी भण्डारी र नौरती अन्टीहरुलाई तुलना गर्नु पुग्छु, उनीहरुको जन्म, जीवन र कर्मलाई। दुवै जना महिला हुन् । छोरी, बुहारी र आमा हुन् दुवैजना । एकजना देशको राष्ट्रपति अर्की आधा दशकदेखि कालापहाडमा जीवन बिताइरहेकी नारी । जब जब नारी दिवस आउँछ, ठिक त्यही बेला मलाई नौरती अन्टीको याद आउँछ । आज भन्दा ६ वर्ष अघिको त्यो घटना । उनले भोगेको हिंसा । उनका श्रीमानले गरेको घरेलु हिंसा । उनीहरुका नाबालक छोराछोरीहरुको मस्तिष्कमा कस्तो छाप प¥यो होला । अहिले सम्झिदा पनि मलाई आङ सिरिङ भएर आउँछ ।

आज भन्दा ठिक ६ वर्ष अघिको कुरा हो । त्यसदिन म सदरमुकामबाट घर आएको थिएँ । साँझ हामीले झरोको आगो बोलेर ताप्दै थियो । आमा, बुवा, म र भाइ र बहिनी सबैजना थियौ । त्यतिबेला बुवा बित्नु भएको थिएन । राती अबेर भइसकेको थियो । त्यही ८ बजेतिर हो, बाहिर कोही रोइरहेको आवाज आयो । ठूलो स्वरमा एक जना महिला र स– साना बालिकाहरु कराइरहेका थिए । के भएछ भने बुवा बाहिर निस्कनु भयो । आमा पछि सँगै हिड्नु भयो । म पनि पछिपछि बाहिर निस्किए । उनीहरुको हाम्रो घर तिरै आउँदै थिए । उनीहरुको हाउभाउ हेर्दा ठूलै विपत्ति परेको प्रष्टै बुझ्न सकिन्थ्यो । दुई वर्षे छोरी काखमा च्याएकी पछि उनका दुई छोरी र एक छोरा थिए । उनी सिधै हाम्रो घरभित्र पसिन् ।

उनी रहिछिन्, नौरती अन्टी । उनको र मेरो घर १५ मिटरको फरकमा छ । बीचमा ग्रामीण सडक छ । माथि उनको घर छ भने ठिक तल मेरो छ । उनी विरुप भएकी थिइन् । कपाल पुरै गुजुल्टिएको अवस्थामा थियो ।लूगा समेत राम्रो सँग लगाएकी थिइनन् । चोलीका खुटाहरु पुरै खुस्किएको थियो । कम्मरमा बाँधेको पटुकी पनि आधा भुईमा लत्रिएको थियो । खुट्टामा चप्पल पनि थिएन । उनको नाकमा समेत फुली थिएन । रक्ताम्मे थियो अनुहार । उनी निरन्तर रोइरहेकी मात्र थिइन् ।

पछि विस्तारै बुझ्दै जाँदा उनका श्रीमानले खाना राम्रो नबनाएको भन्दै पिटेका रहेछन् । रक्सी खाएर आएका उनले धेरै कुट्न थालेपछि उनी ज्यान बचाउनको लागि घरबाट निस्कनु परेको थियो ।उनका छोराछोरीको अवस्था हेर्दा एकदमै नाजुक थियो ।बुवाले सम्झाई बुझाइ गर्दा उनीहरु सबैजना शान्त भए ।

केही समयपछि रक्सीको नसाले मात्तिएका उनका श्रीमान समेत श्रीमती र छोराछोरी खोज्दै मेरै घर आइपुगे । त्यतिबेला सम्म रक्सीको नसाले टिल थिए, उनी । मेरो घरमा आउँदा समेत उनले श्रीमतीलाई नै झम्टिए । बुवाले झगडा नगर्ने आग्रह गर्दा उनले पनि मानेनन् । पछि हामीले उनलाई सम्झाउनु परेको थियो । केहीछिन् पछि उनी रक्सीको नसामा श्रीमती र छोराछोरी छाडेर हाम्रो घरबाट निस्किए ।

उनीहरु मेरो सबै भन्दा नजिकका छिमेकी हुन् । घरमा मिठो मसिना पाक्दा समेत साटासाट हुन्छ । त्यसैले उनको पारिवारिक अवस्थाका विषयमा जानकारी नहुने कुरै भएन । उनको परिवारको झगडा नौलो थिएन । मलाई जानकारी भएसम्म नौरती अन्टीका श्रीमान, जुत्ता नफुकाली दिएको, पालिस नलाइदिएको, नातेदार पुरुषसँग कुरा गरेको निउमा निकै समयदेखि घरेलु हिंसा गरिरहेका थिए । जुन कुरा मैले उनको घरमा भएको श्यामश्वत टिभीमा घरबाट लुकीलुकी, पढ्न छाडेर फिल्म हेर्न जाँदा समेत देखेको थिए ।

भोलीपल्ट मेरो बुवाले उनीहरुको पुर्नमिलन गराइदिनु भयो । आगामी दिनमा झै झगडा नगर्ने सर्त सहित । तर ‘बाह्र वर्ष कुुकुरको पुच्छर बाङगाको बाङगै’ भनेझै उनी सुध्रिएनन् । त्यसको केही महिनापछि उनको घरमा त्यस्तै लफडा भयो । दाजुभाइको परिवारको पारिवारिक मिलन भइरहेको बेला उनले नौरती अन्टीलाई रक्सीको मातमा दुव्र्यवहार गरे । उनका दाईले मिलाउन खोज्दा मुढा प्रहार गरेर आँखा नै फुट्ने गरी हिर्काइदिए । भाउजुलाई अपशब्द प्रयोग गरे । त्यो बेला पनि ठूलै झगडा भयो । पछि उनका दाईले प्रहरी नै ल्याएका थिए ।

प्रहरीले उनलाई केही समय नियन्त्रणमा समेत लियो । यता उनकी श्रीमतीले बारम्बारको दुव्र्यवहार सहन नसक्ने भन्दै डिभोर्स दिने बताइरहेकी थिइन् । पछि डिभोर्स स्वीकार भएको भए उनले त सुख पाउने थिइन् होला । उनका छोराछोरीको बिचल्ली हुने निश्चित थियो । पछि समाजले उनलाई मिल्नको लागि प्रोत्साहन गर्नु परेको थियो । उनले पनि आफ्नो गल्ती स्वीकार गरे । श्रीमानको अगाडि । उनीहरु अहिले रोजगारीको शिलशिलामा भारतको हिमाञ्चल प्रदेशमा पल्लीदारी गर्छन् । जेठी छोरीको विवाह गएर नाती जन्मेको छ । छोरा विवाह गर्ने उमेरमा पुगिसकेको छ । अन्य दुई छोरीहरु पनि किशोरा अवस्थामा पुगिसकेका छन् ।

पहिला जस्तो उग्र नभएपनि उनले रक्सीको नसा भने अझै पनि छोड्न सकेका छैनन् । पछि श्रीमानबाट पाएको यातनाले नौरती अन्टी अझै पनि सन्तुष्ट हुन सकेकी छैनन् । श्रीमानलाई रक्सीको नसा छुटाएर खुसमय दाम्पत्य जीवन बिताउने उनको सपना अझै पुरा हुन सकेको
छैन । यो त एउटा प्रतिनिधि उदाहरण हो । यहाँ हरेक दिन महिलाहरु कुनै न कुनै हिंसाको सिकार भइरहेका छन् । नेपालमा पछिल्लो समय हिंसाका प्रकृति पनि फेरिएको छ । अहिले महिला हिंसाका प्रकार एसिड आक्रमणदेखि बलात्कारपछि हत्या सम्म छ । नेपालमा हरेक दिन सात जना किशोरी बलात्कारको सिकार हुन्छन् ।

घरेलु हिंसा परिवारका कुनै सदस्यबाट अर्काे कुनै सदस्यमाथि गरिने हिंसा हो । अर्काे शब्दमा भन्नुपर्दा परिवारका सदस्यद्वारा परिवारकै सदस्यविरुद्ध गरिने शारीरिक, मानसिक, आर्थिक सामाजिक र यौनजन्य क्रियाकलापहरूलाई घरेलु हिंसाको श्रेणीमा राखिएको छ । घरेलु हिंसा पीडितका रूपमा महिला, बालबालिका, पुरुष, एवं तेस्रोलिंगी जो कोही पनि हुन सक्छ । घरेलु हिंसाबाट मुलतः महिला नै पीडित भइरहेको पाइन्छ । वर्तमान समयमा घरेलु हिंसाले कुनै राष्ट्र विशेष मात्रको समस्या नभएर यो विश्व भरिकै समस्याको रूपमा अगाडि आएको छ । विभिन्न अनुसन्धानका अनुसार हरेक ३ जना महिलामध्ये ९ जनाले आफ्नै परिवारका सदस्यबाट दुव्र्यव्यहार भोगिरहेको हुन्छन् भन्ने तथ्य विभिन्न अध्ययन अनुसन्धानले सार्वजनिक गरेका छन् ।

नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०६६/०६७ मा ९ सय ८३ वटा घरेलु हिंसाका घटना दर्ता भएका थिए । त्यो संख्या आर्थिक वर्ष २०७६÷०७७मा ११ हजार सात सय ३८ पुगेका छन् । यो संख्या २०६६÷०६७ को भन्दा ११ गुणाले बढी हो । यो भनेको निकै भयानक अवस्था हो । नेपालको आधा जनसंख्या भन्दा बढी भएका महिलाहरु यसरी हरेक दिन विभिन्न कारणले हिंसा भोगिरहेका छन् ।

हिंसा र प्रकार र प्रकृति समेत फेरिएका छन् । अझ महिलाहरु घरभित्रै सुरक्षित छैनन् । नारीहरुलाई घरभित्रैका आफन्तबाट बढी असुरक्षा छ । यस्तो अवस्थामा परिवर्तनका जस्ता सुकै नारा लगाएपछि हामीले महिला प्रति हेर्ने दृष्टिकोण र सोच गरिवर्तन नभएसम्म महिला माथि हुने हिंसा रोकिने छैन । त्यसैले घरका देउतालाई खुसी नबनाएर समृद्ध नेपाल, खुसी नेपालीको नारा लगाउनु व्यर्थ हुनेछ । त्यसैले संसार बदल्नु छ भने शुरुवात आफैबाट गरौ भने जस्तै महिला हिंसा न्युनिकरण, हिंसा विरुद्धको अभियान आजैबाट शुरु गरौ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २४, २०७७     5:11:52 PM  |