भोली फागुन २२ गते शनिवार कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ । संघको नयाँ नेतृत्वको लागि व्यवसायीका दुई प्यानलहरु चुनावी मैदानमा उत्रिएका छन् ।
त्यस्तै एउटा समूह रहेको लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रिक समावेशी व्यवसायी समूह । पौडेलले यसअघि पनि संघका अध्यक्ष बाहेक अन्य विभिन्न पदमा बसेर समेत काम गरिसकेका छन् । सोही समूहबाट संघको अध्यक्ष पदका प्रत्याशी पौडेलसँग निर्वाचन केन्द्रित रहेर कृष्ण ओलीले गरेको कुराकानी ।
१. कोहलपुर उद्योग बाणिज्य संघमा तपाईको उम्मेदवारी किन ?
यहाँका उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्ने मुख्य उद्देश्यका साथ नै मैले संघको अध्यक्ष पदमा उम्मेदवारी दिएको
हुँ । कोहलपुर उद्योग बाणिज्य संघमा रहेको बेथिती, उद्योगी व्यवसायीहरुको संरक्षण, लगानीमैत्री वातावरण निर्माण, व्यवसायीक सुरक्षा लगायतका लागि मेरो उम्मेदवारी हो । कोहलपुर क्षेत्रमा औद्योगिकरणको लागि समेत मैले कोहलपुर उद्योग बाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । यी लगायतका अन्य कारणहरु समेत रहेका छन् ।
२. संघको अध्यक्ष पदमा चुनाव जित्ने तपाईका आधारहरु के–के हुन् ?
सबैभन्दा मुख्य आधार भनेको त हाम्रा व्यवसायीहरु नै हुनुहुन्छ । जो कोहलपुर उद्योग बाणिज्य संघमा आबद्ध हुनुभएको छ । उहाँहरुले फागुन २२ गते गर्ने मत प्रकट नै मुख्य आधार बन्ने हो ।
अन्य कुरामा भारतीय बजारसम्म नेपाली उपभोक्ता जानबाट रोक्ने, फुटपात व्यवसायलाई करको दायरामा ल्याउँदै व्यवस्थित गर्ने लगायतका कामहरु नै हुन्छन् ।
अहिले फुटपातमा रहेका व्यवसायीहरुलाई करको दायरामा ल्याउनसके जो सटर भाडामा बस्नुभएको छ उहाँ व्यवसायीहरुलाई सहज हुन्छ । आज के भइरहेको छ भने, कर छली गरेर ल्याएर घर घरमा लत्ताकपडा पु¥याइदिने प्रचलन बढिरहेको छ । निर्वाचन जितिसकेपछि त्यस्ता कामहरुलाई निरुत्साहन गर्ने कामहरु गर्नेछु ।
कोहलपुर उद्योग बाणिज्य संघमा जो आवद्ध हुनुहुन्छ र जसले राज्यलाई कर तिर्नुभएको छ । घरको भाडा तिर्नुभएको छ । उहाँहरुको चाँही व्यवसायीक सुरक्षा हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
उहाँहरुले राज्यलाई कर तिर्दैगर्दा २ रुपैयाँ कमाउने बातावरण बन्नुपर्छ । लगानी चाही खेर जान दिनुहुँदैन । उद्योगी व्यवसायीका यस्ता समस्याहरुमा समेत मेरो ध्यान जानेछ ।
३. लकडाउनले गर्दा धरासायी भएको व्यापार व्यवसाय अझै माथि उठ्न सकेको छैन ? व्यापार व्यवसायलाई माथि उकास्न तपाईका योजना कस्ता छन् ?
हामिले लकडाउनकै बीचमा उद्योगी व्यवसायीहरुका समस्याहरुलाई लिएर उद्योग बाणिज्य संघमा ज्ञापनपत्र बुझाएका थियौं । हामीले त्यतीबेला राखेका मागहरु कार्यान्वयन गरिएको भए अहिले व्यवसायीहरुलाई केही सहज हुन्थ्यो ।
त्यो चाँही हुन सकेन । ती व्यवसायीहरु जो हिजो लकडाउनको समयमा विस्थापित नै हुनुभयो भने आज चाँही जो धरासायी हुने अवस्थामा हुनुहुन्छ । अब उद्योग बाणिज्य संघले तिनिहरुको पहिचान गर्नुपर्छ ।
जो चाँही धरासायी हुनुभएको छ, उहाँहरुलाई नेपाल सरकारबाट हुने अथवा नीजि क्षेत्रबाटै हुनसक्ने आर्थिकदेखि लिएर अन्य व्यवसायसँग सम्बन्धित बिषयबस्तुहरुलाई उजागर गर्नुपर्छ र उहाँहरुलाई संरक्षण गर्नुपर्छ भन्ने नै हो । यसतर्फ समेत निर्वाचित भएमा मेरो ध्यान जाने नै छ ।
४. कोहलपुर ठूला उद्योग नभएको विकासउन्मुख शहर हो ? ठूला व्यवसायी घरानाका साथै ठूला उद्योगहरु स्थापनाको लागि तपाईका योजनाहरु के हुन् ?
तपाईले भनेको जस्तै ठूला उद्योगहरु कोहलपुर क्षेत्रमा आएनन् । यसका लागि एउटा स्थानीय सरकारले जग्गा चाँही चटनी, अचार बाँडेको जस्तो गरी बाँड्ने चीज होइन । बाँड्नु पनि हुँदैन । मिनी औद्योगिक नगरका रुपमा कोहलपुरलाई चिनाउँदै गर्दाखेरी केही विगाहा जग्गा छुट्याइनुपर्छ । हामीले हेर्दाखेरी १४, १५ नम्बर वडामा केही जग्गाहरु छन् ।
अहिले कुनै औद्योगिक घरानाले कोहलपुरमा जग्गा किनेर उद्योग खोल्न सक्ने अवस्था छैन । उद्योग खोल्नको लागि औद्योगिक घरानाले रकम जग्गा किन्नमा नै खर्च गर्नुपर्ने अहिलेको बाध्यता रहेको छ । त्यसैले नगरपालिकाले लिजमा दिने गरी औद्योगिक नगरीका रुपमा विस्तार गर्नुपर्छ भन्ने कन्सेप्ट गरिदियो भने केही औद्योगिक घरानाहरुको आकर्षण बढ्न जान्छ ।
५. अहिले कोहलपुर उद्योग बाणिज्य संघ र स्थानीय सरकारबीच सम्बन्ध सुमधुर नभएको बताइन्छ ? तपाई निर्वाचित भएपछि संघले स्थानीय सरकारसँग कसरी समन्वय र सहकार्य गर्छ ?
मान्छेले कसरी बुझ्छ भन्ने कुरा पनि एउटा रहन्छ । मेरो स्वभाव भनेको के हो भन्ने कुरा व्यवसायीहरुलाई पनि थाहा छ । किनभने गलत कुरा जहिल्यै पनि गलत नै हुन्छ । आज नगरपालिका हाम्रो स्थानीय सरकार हो ।
स्थानीय सरकारसँग यहाँका कुनै पनि संघ संस्थाहरुले जोडी खोज्नु तथा मनमुटाव गर्नु वा कसैको व्यक्तिगत कुरा नमिल्दैमा संस्थाप्रति आँच आउनेगरी जानुहुँदैन भन्ने मेरो मान्यता छ ।
त्यसलाई म मिलाएर लैजान सक्छु । मेरो आफ्नो सोच सम्रग कोहलपुरको विकासको लागि हुन्छ । कोहलपुर नगरपालिका र उद्योग बाणिज्य संघको सुमधुरता, सम्बन्ध लक्ष्मणराज पौडेल आएपछि चाँही दिन सक्छौं भन्ने नै हो ।
६. कोरोना महामारी केही कम भएसँगै व्यवसाय र बैंकबीच फेरी समस्या देखिन थालिसकेको छ ? यसको हल संघको नेतृत्वले कसरी गर्ला ?
बैंकमा सञ्चालक समिति वा व्यवस्थापनको भन्दा राष्ट्र बैंकको गाइडलाइन महत्वपूर्ण भूमिका हुन्छ । जनताका निक्षेपलाई लगानी गरेर थोरै प्रतिफलका लागि ठूलो जोखिम मोल्नुपर्ने अवस्था छ । केन्द्रीय बैंकमार्फत नीतिगत सहजीकरण हुने हो भने सुलभ ब्याजदरमा कर्जा असम्भव पनि छैन । बैंकको ब्याजदर झार्ने भनेर हामीले बारम्बार आवाज उठाइरहेका छौँ ।
तर त्यसको व्यवहारमा कमै कार्यान्वयन भएको छ । वित्तीय क्षेत्र र उत्पादन एवम् सेवा क्षेत्र एकअर्काका प्रतिस्पर्धी नभएर आर्थिक स्रोत व्यवस्थापन एवम् परिचालनमा परिपूरक हुन् भन्ने हामीले बुझ्नुपर्छ ।
बैंकिङ र उत्पादनमूलक क्षेत्रले आरोप–प्रत्यारोप होइन समन्वयात्मक सहकार्य गर्नुपर्छ । बैंक र उद्योगी व्यवसायीबीच देखिएका समस्याहरु हलको लागि म निर्वाचित भइसकेपछि स्थानीय भन्दा पनि केन्द्रीय तहबाट नै समस्याको हल खोज्ने प्रयास गर्नेछु ।
७. संघको नेतृत्वले संस्थागत हितभन्दा व्यक्तिगत स्वार्थ र आफ्नो व्यापार व्यवसायको फाइदाका लागि मात्र काम गरेको भन्ने गुनासो सुनिन्छ ? यस्ता गुनासालाई कसरी हल गर्नुुहुन्छ ?
यसअघि भन्दा पनि अहिलेको अवस्थामा संघले गर्नुपर्ने मुख्य काम दुई वटा काममा आम व्यवसायीको हकहित तथा सुरक्षा र नीतिगत पैरवी हो । सरकारका आर्थिक नीतिले लगानीमैत्री वातावरण बनाउन संघले नीतिगत पैरवी गर्दछ ।
हामीले अहिलेसम्म बाटो बिराएका छैनौं । तर जति गर्न सकिन्थ्यो त्यो गर्न नसकेको अवस्था हो । यसमा हाम्रा आन्तरिक कमजोरी प्रशस्तै छन् यसलाई नयाँ नेतृत्वले चिर्दै अगाडी बढ्छ । व्यक्तित स्वार्थ होइन संस्थागत हकहितको लागि काम गरेर अगाडि बढ्नेछु ।
८. तपाईले चुनावी घोषणामै आर्थिक समृद्घिका लागि निजी क्षेत्र र सरकारको साझेदारीका एजेण्डा उठाउनुभएको छ ? चुनाव जितेमा सरकारसँग कसरी सहकार्य गर्ने सोच बनाइरहनुभएको छ ?
यो के हो भने हामीले व्यक्तिगत रुपमा कोहीसँग साझेदारी गर्ने भन्ने कुरो अठ्यारो हो । तर संस्थागत हिसाबले हामी गर्न सक्छौं । नेपाल सरकारका निकायहरु जुन छन् नी, उहाँसँग हामीले हाम्रा व्यवसायीहरु जसले सामूहिक रुपबाट काम गर्न खोजिरहनुभएको छ ।
उहाँहरुसँगको सहकार्यमा नै नेपाल सरकारसँग साझेदारी गर्ने हो । कतीपय सानो लगानी पनि आफुले लगाउन नसक्ने तर कसैले लगानी गरिदिए काम गर्नेहरुका लागि उद्योग बाणिज्य संघले भूमिका निर्वाह गरिदिन्छ ।
जस्तै अहिले हेर्ने हो भने महिलाहरुलाई बैंकले ३ प्रतिशत ब्याजका दरले ऋण दिइरहेको छ । यो कतिपयहरुलाई थाहा छैन । यस्ता बिषयहरुमा संघले उद्योगी व्यवसायीहरुलाई जानकारी दिने काम गर्छ ।
९. तीन वटा प्रदेशको केन्द्रमा रहेको कोहलपुरलाई व्यवस्थित शहर बनाउनको लागि तपाईका एजेण्डा के–के हुन् ?
कोहलपुरलाई तीन वटै प्रदेशको प्रवेशद्धार समेत मानिन्छ । कोहलपुर ट्रान्जिट पोईन्ट समेत हो ।
म कोहलपुर उद्योग बाणिज्य संघमा जाँदै गर्दाखेरी व्यवस्थित र सुन्दर कोहलपुर बनाउनको लागि संघले समन्वयकारी भूमिका खेल्छ । मैले भन्ने गरेको छु, कोहलपुर नगरपालिका स्थानीय सरकार हो ।
नगरपालिका सँगसँगै हिड्नसक्ने एउटा संस्थाको रुपमा रहेको उद्योग बाणिज्य संघ कोहलपुरले एउटा समन्वयकारी भूमिका खेल्नुपर्छ । छुट्टै किसिमको पहिचान बोकेको कोहलपुर विस्तारै आफै बन्दैछ ।
आफै विकास हुँदै गइरहेको कोहलपुरलाई फन्को मार्नको लागि कोहलपुर उद्योग बाणिज्य संघको महत्वपूर्ण भूमिका हुन्छ । त्यो भूमिका संघले खेल्छ ।
१०. अन्तमा आम मतदाताहरुलाई के भन्न चाहानुहुन्छ ?
सम्पूर्ण मतदाताहरुले भोली २२ गते हुन गइरहेको संघको निर्वाचनमा आफ्नो स्वविवेक प्रयोग गर्न पाउनुहुन्छ ।
२२ गते शनिबार आफ्नो मत प्रकट गर्दै गर्दाखेरी तीन वर्ष पस्ताउनुपर्ने अवस्था नहोस् । लक्ष्मणराज पौडेल र लक्ष्मणराज पौडेलको लोकतान्त्रिक समावेशी व्यवसायी समूहका उम्मेदवारहरुलाई मतदान गरिदिनुहोस् । धन्यवाद ।