17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

कोरोना संक्रमण नियन्त्रण गर्ने दीर्घकालीन समाधान निषेधाज्ञा होइन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ ६, २०७७  

मान्छेलाई घरभित्र थुन्दैमा कोरोना भाग्ने थियो भने नेपालमा यतिबेला सङ्क्रमितको सङ्ख्या शून्यमा झरिसकेको हुन्थ्यो । आमनागरिक ढुक्क भएर आफ्नो दैनिकीमा फर्किसकेका हुन्थे । तर १ सय २० दिनसम्म देशैभर लकडाउन हुँदा पनि कोरोनाको सङ्क्रमण घटेन । झन्झन् बढ्न थाल्यो । सङ्क्रमित बढे भनेर फेरि सरकारले काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा लगाएको छ ।

बिहीबारसम्म २८ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक रुपमा निषेधाज्ञा लगाइएको छ । सङ्क्रमित बढे भनेर निषेधाज्ञा लगाउने सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि ठोस र प्रभावकारी योजना बनाएर नागरिकलाई आश्वस्त बनाउन सकेको छैन । कोरोनाको सङ्क्रमण फैलन नदिन सरकारले गएको चैत ११ गते लकडाउन घोषणा गर्यो । त्यतिबेला देशभर दुईजना मात्रै सङ्क्रमित थिए । सुरुमा एक हप्ताको लागि लकडाउन घोषणा गरेको सरकारले पटक-पटक थप्दै १ सय २० दिनसम्म पुर्यायो । त्यतिबेलासम्म सङ्क्रमितको सङ्ख्या हजार नाघिसकेको थियो ।

कोरोना रोकथाम र नियन्त्रणको लागि लकडाउन मात्रै विकल्प होइन भन्ने ठानेर सरकारले दैनिक जीवनयापन सहज बनाउन भन्दै जेठको अन्तिमदेखि लकडाउन खुकुलो बनाउँदै लग्यो । साउनको पहिलो हप्तादेखि त लकडाउन नै सकिएको घोषणा भयो । लकडाउन अन्त्य भएको घोषणा भएको समयमा हरेक दिन एक सयभन्दा धेरै कोरोना सङ्क्रमित थपिन थालेका थिए । सरकारले लकडाउनको यसरी अन्त्य भएको घोषणा गर्यो, मानौँ कोभिडको सङ्क्रमण नियन्त्रण भैसक्यो । मानिसले सङ्क्रमण सकिएको बुझे र त्यसै भावमा घर बाहिर निस्के । सडकमा चहलपहल ह्वात्तै बढ्यो । सार्वजनिक गाडी चल्न थाले । सरकारी कार्यालय खुल्न थाले । गाडी र कार्यालयमा घुइँचो हुन थाल्यो । स्वास्थ्य सम्बन्धी मापदण्ड पालना भएन ।

सरकारले लकडाउन सुरु गरेकै दिनदेखि नै कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणको काम योजनाबद्ध तरिकाले गरेको भए, अहिले अवस्था बेग्लै हुने थियो । तर, सरकारले लकडाउनबाहेक अरु उपाय देखेन र देख्न वा बुझ्न चाहेन । देश लकडाउनको चपेटामा छँदा भारतीय नाकाहरु अनियन्त्रित भइरहे । आफ्ना नागरिकलाई नेपालमा ल्याएर व्यवस्थापन गर्ने जिम्मेवारी पूरा गर्न छाडेर सरकारले के गरौँ र कसो गरौँमा अलमलियो । लकडाउनको तीन महिनासम्म विदेशमा रहेका नेपाली नागरिक अलपत्र परे, विपद्मा पर्नेहरुको ठूलो संख्या अहिले पनि विदेशमै अलपत्र छ ।

लकडाउन हटेको घोषणा गर्दा आइसोलेशन, भेन्टिलेटर, बेड र आवश्यक जनशक्तिको पर्याप्तता हुनुपर्ने थियो । तर सरकारले यो महत्वपूर्ण समय आमनागरिकलाई साबुनपानीले हात धुन, मास्क लगाउन, भौतिक दूरी कायम गर्न र स्यानिटाइजर दल्न आग्रह गरेरै गुजारी दियो । र, अन्तत : विना तयारी लकडाउन लगाएको सरकारले त्यसैगरी विना तयारी लकडाउन हटायो । अब जे हुनु भैसक्यो, आउने दिनमा त्यो गल्ती दोहोर्याउनु हुँदैन । अब परीक्षणका दायरा बढाउनुपर्छ । जहाँ संक्रमण उच्च छ भन्ने थाहा हुन्छ, त्यो सीमित ठाउँलाई सिल गर्ने अथवा कसरी हुन्छ कडाइ गर्नुपर्छ । कुनै सङ्क्रमण नै नभएका अरु ठाउँको जीवनयापन सहज बनाउनुपर्छ ।

अहिलेसम्मका घटनाक्रमहरुले सरकार आफ्नै गतिविधिका कारण महामारी विरुद्धको लडाइँमा नागरिकबाट एक्लिँदै गएको स्पष्ट पार्छन् । नागरिकको विश्वास विना सरकार एक्लैले कोभिड नियन्त्रण गर्न असम्भव छ । त्यसैले, लकडाउन, निषेधाज्ञा जस्ता कठोर कदम चाल्दा निर्वाचित नागरिक संस्थाको नेतृत्व र संलग्नता अपरिहार्य छ । नेपालको कर्मचारीतन्त्र र सुरक्षा निकायहरुको नेतृत्वमा हुने निषेधाज्ञा र नियन्त्रणले रोगको रोकथाम गर्न सक्दैन भन्ने कुरा पटक पटक पुष्टि भैसकेको छ । त्यसैले कानूनको होईन, विवेक र चेतनाको बलले महामारी नियन्त्रण गर्ने उपायहरुको प्रयोग हुनु आवश्यक छ ।

तर, अहिलेसम्म सरकारले न त निर्वाचित नागरिक संस्थाको नेतृत्वमा सङ्क्रमण नियन्त्रण गर्न सकिन्छ भन्ने इच्छाशक्ति नै देखाएको छ न त कोभिडसँग जुध्न दीर्घकालिन योजना नै बनाएको छ । त्यसैले कोभिड नियन्त्रण गर्न अब नागरिक सर्वोच्चताको संरचना र दीर्घकालिन योजना बनाउन र सार्वजनिक गर्न ढिलो गर्नु हुँदैन । र, यस्तो दीर्घकालिन योजनाले कोभिड सङ्क्रमणको रोकथाम, उपचार, समुदायको सक्रिय सहभागिता, नागरिक सजगता र अर्थतन्त्रलाई चलायमान बनाउने विधिहरु स्पष्ट दिशानिर्देश गर्नुुपर्छ । -ujyaaloonline

प्रकाशित मितिः शनिबार, भदौ ६, २०७७     1:17:57 PM  |