लामोसमयको बन्दाबन्दीले बारीमै तरकारी खेर जाने अवस्था आउन थालेपछि किसानले उत्पादन गरेको तरकारी टोलटोलमा लगेर बिक्रि गर्न थालिएको छ । किसानले उत्पादन गरेको तरकारी खेर जान नदिन यहाँ घुम्ती सेवामार्फत तरकारी बिक्रि गर्न लागिएको हो ।
ठाकुरबाबा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहजीकरणमा किसानले उत्पादन गरेको तरकारी बिक्रिका लागि घुम्ती सेवा सुरु गरिएको छ । लकडाउनका लम्बिदै जाँदा किसानको तरकारी बारीमै खेर नजावस् भनेर ठाकुरबाबा नगरपालिकाको सहजीकरणमा तरकारी संकलन तथा विक्रि वितरण घुम्ती सेवा संचालन गरिएको कृषि शाखाका प्रमुख ध्रुवराज बमले जानकारी दिए ।
नेउलापुर कृषि उपज बजार समितिले किसानको बारीमै पुगेर तरकारी संकलन गर्ने गर्छ । संकलन भएको तरकारी नगरपालिकाले गाडीमा राखेर नगरको टोलटोलमा पुर्याउने गरेको छ । विहान ९ बजेदेखि साझ ६ बजेसम्म टोलटोलमा पुर्याएर तरकारी बिक्रि गर्ने गरिएको छ । नगरका टोलबासीलाई पायक पर्ने १० स्थानमा गाडी रोकेर तरकारी बच्ने गरिएको छ । एउटा टोलमा करिव एक घण्टादेखि डेढ घण्टासम्म गाडी रोकेर गरेर बिक्रि गर्ने गरिएको छ ।
नगर क्षेत्रका विभिन्न किसानले उत्पादन गरेको लौका, बोडी, भिण्डी, करेला, काक्रो, फर्सी र सागपातजस्ता हरिया तरकारी बिक्रि हुने गरेको कृषि शाखाले जनाएको छ । नेउलापुर कृषि उपज बजार समितिले तरकारी संकलन र बिक्रि उपसमिति बनाई त्यो उपसमितिलाई किसानको तरकारी संकलन र बिक्रिको जिम्मेबारी दिएको छ ।
किसानसँग बारीमै तरकारीको मूल्य तय गरि तरकारी भए बिक्रि गरेर अर्को दिन किसानलाई भुक्तानी दिने गरिएको गरिएको नेउलापुर कृषि उपज बजार समितिका सचिब सविन जंग शाहीले बताए । तरकारीको बिक्रि मूल्य नेउलापुर कृषि उपज बजार समिति र कृषि शाखाको समन्वयमा तय गर्ने गरिएको छ ।
तरकारीको थोक तथा फुटकर मूल्य कायम गरि बिक्रि वितरण गर्ने गरिएको छ । तरकारी बिक्रिको हरहिसाब उपसमितिले राख्ने गर्छ । नगरको कृषि शाखाले बजारीकरण तथा प्रविधिक सहयोग गर्ने गरेको छ ।
घुम्ती सेवामार्फत बिक्रि हुने तरकारी बजार मूल्य भन्दा कम हुने गरेको कृषि शाखाका प्रमुख ध्रुवराज बमले जानकारी दिए । नगरका ९ वटै वडाका किसानको तरकारी आलोपालो गरेर संकलन गर्ने गरिएको छ । नगरमा तरकारी धेरै संकलन भएमा अन्य पालिका तथा बाहिरी जिल्लामा समेत घुम्ती सेवा संचालन गर्ने योजना रहेको कृषि शाखा प्रमुख बमले बताए ।
लकडाउनले बजार तथा होटेल व्यवसाय बन्द भएपछि किसानको तरकारी बिक्रि हुन सकेको थिएन । तरकारी बिक्रि नभएर बारीमै सड्ने चिन्ताले पिरोलिएका तरकारी किसान बारीबाटै तरकारी बिक्रि हुन थालेपछि खुशी भएका छन् ।
भने उपभोक्तालाई पनि तरकारी किन्न बजार जानु पर्ने बाध्यता हटेको छ । बारीबाटै तरकारी उठ्न थालेपछि निकै सहज भएको तरकारी उत्पादक किसान बलबहादुर थापाले बताए । उनले भने, ‘लकडाउन लम्बिदै जाँदा तरकारी बारीमै सडने अवस्था थियो ।
घुम्ती सेवा सुरु भएपछि किसानलाई तरकारी बिक्रि गर्न समस्या नहुने भयो ।’ थोरैकेही किसानले अझै पनि साइकलमा तरकारी राखेर टोलटोल घुम्ने गरेका छन् । बजार भन्दा सस्तोमा गाउँ टोलमै ताजा हरियो तरकारी किन्न पाएपछि नगरबासी पनि खुशी भएका छन् ।