सुदीप अधिकारी । बर्दिया ।
जिल्लाका ८ वटै पालिकाहरुले जिल्ला बाहिर रहेका व्यक्तिहरुलाई उद्धार गरि घर ल्याउने क्रम बढेको छ । जिल्ला बाहिरबाट आएका व्यक्तिहरुलाई पालिकाहरुले अनिवार्य क्वारेन्टाइनमा राख्ने भनियो । सुरुसुरुमा आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा पनि राखियो । पछिल्लो समयमा मजदुरी गर्न काठमाण्डौ, पोखरालगाएतका शहरबाट जिल्लाबाट घर फर्केने मानिसहरुको संख्या बढ्दै गयो । दिननुदिन घर फर्कनेको संख्या बढ्दै गएपछि अहिले जिल्लाका सबै क्वारेन्टाइन भरिभराउँ भएका छन् ।
पछिल्लो समयमा घर फर्केका सबै व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न समस्या पर्न थालेपछि हालै घर फर्केकाहरुलाई सिधै घरमै पठाउन थालिएको छ । घर फर्केकाहरुको सामान्य स्वास्थ्य जाँच गरि घरमा सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गर्दै घर पठाउन थालिएको छ । क्वारेन्टाइनको व्यवस्थापन नगरी बाहिरी जिल्लाबाट घर फर्केकाहरुलाई सिधै घर पठाउँदा जोखिम बढेको छ । घर फर्केका केही मानिसहरु घरमा सेल्फ क्वारेन्टाइनमा नबसी यताउती डुल्ने गरेको स्थानियहरु बताउँछन् । जसका कारण गाउँघरका मानिस त्रसीत भएका छन् । घर फर्केकाहरुलाई जनप्रतिनिधी, गाउँका बडघर र चौकिदारले निगरानी गर्ने गरेको बताइएको छ ।
जिल्लाका आठ पालिकामा जम्मा ९१ स्थानमा क्वारेन्टाइन बनाइएको छ । जसमा हाल २ हजार ४ सय ६४ जना मानिस बसिरहेका छन् । जबकी लकडाउनको अवधीमा करिव १२ हजार ८८ जना मानिस घर फर्केको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पालिकाहरुले प्रयाप्त क्वारेन्टाइनको व्यवस्थापन गर्न नसक्दा उनीहरु सबै घरमै बसेका छन् । होम क्वारेन्टाइनमा पठाइएको सन्र्दभमा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ भन्छन्, ‘लकडाउन लम्बिदै गएपछि सोचे भन्दा धेरै मानिस घर फर्के । सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव देखिएन । सबैको स्वास्थ्य जाच गरिएको छ ।
जोखिम नभएको क्षेत्रबाट आएका व्यक्तिको पहिचान गरि उनीहरुलाई उच्च निगरानी रहने गरि पालिकाको जनप्रतिनिधीको रोहबरमा उनीहरुलाई घर पठाइएको हो ।’ बारबर्दिया नगरपालिकाले भने सामुदायिक क्वारेन्टाइन बनाएर राखेको छ । सामुदायिक क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई उनीहरुकै घर परिवारबाट खाना पानीको व्यवस्था मिलाइएको बारबर्दियाका नगरप्रमुख दुर्गाबहादुर थारुले बताए । उनले भने, ‘घर आएकालाई सिधै घर नपठाएर सामुदायिक क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेका छौ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई मोवाइल गस्ती गर्छन् ।’ जिल्ला भित्रने संख्या बढ्दै गएपछि सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव नभएपछि घरमै सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
क्वारेन्टाइनमा बसेका सबैको आरडिटी टेष्ट गरिएको छैन । जिल्लाको गुलरिया, मधुबन, बासगढी, बारबर्दिया, ठाकुरबाबा, बढैया ताल र गेरुवामा रहेको क्वारेन्टाइनमा रहेका मध्ये हालसम्म ३ सय ९१ जनाको मात्र आरडिटी टेस्ट गरिएको छ । भने ३६ जनाको स्वाब टेस्ट गरिएको छ । आरडिटी गरिएका सबैको रिर्पोट नगेटिम आएको र स्वाब टेष्ट गरिएका ३१ जनाको पनि स्वाब रिर्पोट नेगेटिभ भएको बाँकी ५ जनाको रिर्पोट आउँन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । आरडिटी र भिटिएम किट प्रयाप्त नहुँदा परिक्षणमा ढिलाई भएको बताइएको छ ।
संघिय सरकारबाट सोमबारसम्म किट उपलब्ध हुने भएकाले त्यस लगत्तै दु्रत गतिमा परिक्षण कार्य अघि बढाइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । उनले भने,‘ किट प्राप्त हुनासाथ जिल्लाका आठ वटै पालिकामा परिक्षण कार्य तिब्र पारिने छ । क्वारेन्टाइनमा १४ दिन पुरा गरेका सबैको र केही दिन अघि आएर होम क्वारेन्टाइनमा बसेका शंकास्पद व्यक्तिहरुको आरडिटी टेष्ट गरेपछि बल्ल जिल्लाको वास्तविक अवस्था थाहा हुने छ । अनी त्यसै अनुसार थप रणनिती बनाइने छ ।’ भारतिय छिमेकी जिल्ला उत्तरप्रदेशको कानपुर, बहराइचमा कोरोना संक्रमण देखिए पछि सीमा नाकामा उच्च सर्तकता अपनाइएको प्रशासनले जनाएको छ । सीमामा शसस्त्र र नेपाल प्रहरी परिचालन गरि निगरानी बढाइएको छ ।