7 September 2024  |   शनिबार, भदौ २२, २०८१

नेपालगञ्ज विमानस्थलमा जहाज दुर्घटना, जहाजको इन्जिनबाहेक अरु संरचना काम नलाग्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ११, २०७७  

कोहलपुर ।

नेपाल वायु सेवा निगमको चिनियाँ जहाज (वाइ–१२ ई) तत्कालका लागि उडान अयोग्य ठहरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको शंका गरिएका बिरामीको स्वाब लिन नेपालगञ्ज आएको जहाज गत चैत १५ गते अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको थियो । दुर्घटनामा मानवीय क्षती भने भएको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत एयर वर्दिनेस डिपार्टमेन्टले गरेको अध्ययनअनुसार उक्त जहाजको इन्जिनबाहेकका सबै संरचना क्षतिग्रस्त भएको हो ।

नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको जहाज फाइल फोटो

दुर्घटनाका बेला मानवीय क्षति नभए पनि जहाजका मुख्य पार्टपुर्जा नै काम नलाग्ने अवस्थामा रहेको प्राधिकरणका एयर वर्दिनेस उपनिर्देशक प्रभाकरचन्द्र मल्लिकले जानकारी दिए । जहाज धावनमार्ग नपुग्दै चिप्लिएर ८० मिटर भन्दा टाढा घाँसे मैदानमा पुगेको थियो । इन्जिनलाई कुनै क्षति नपुगे पनि जहाजको विङ (पखेटा), सेन्ट्रल बडी पार्ट, संरचना पूर्ण रूपले क्षतिग्रस्त रहेको उपनिर्देशक मल्लिकले बताए । ‘यो जहाज मर्मत हुने सम्भावना निकै कम छ,’ उनले भने, ‘मर्मत गरिएपनि निगमले एउटा यस्तै जहाज नै खरिद गर्न सक्ने लागत व्यहोर्नुपर्ने देखिएको छ ।’ कोरोना संक्रमण भएको आशंका गरिएका बिरामीको परीक्षणको लागि स्वाबका नमुना संकलन गर्न गएको यो जहाज त्यसबेला सामान्य घटनामा परेको मानिएको थियो ।

प्राधिकरणले अध्ययन गर्दा उडान गर्न नै नसकिने गरी क्षति भएको पाइएको हो । दुर्घटना हुँदा जहाजमा तीन जना चिकित्सक सहित चालक दलका सदस्यहरु रहेका थिए । उक्त जहाज वरिष्ठ क्याप्टेन केबी लिम्बु र को–पाइलट महेश पाण्डेले ९–एन–एकेयु कलसाइन जहाज उडान गरेका थिए । चार महिना अगाडि यही जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा जहाजको कन्ट्रोल कलुम (टायरमा कसिएको बोल्टसँगै जडान गरिएको तार) चुँडिएको निगमको इन्जिनीयरिङ विभागले जनाएको छ । ‘चार महिना अगाडि यात्रुसहित अवतरण गर्दा यो जहाजको कन्ट्रोल कोलुमै चुँडिएको थियो ।

यो विमानमा हुने रेयर समस्याका रूपमा मानिन्छ,’ इन्जिनीयरिङ विभागका एक कर्मचारीले भने । पाँच वर्षअघि चीन सरकारले दुईवटा (एउटा एमए–६० र एउटा वाइ–१२ इ) जहाज अनुदानमा दिएर चारवटा जहाज साढे तीन अर्ब रुपैयाँमा नेपाललाई बिक्री गरेको थियो । चीनबाट चारवटा १८ सीट क्षमताको वाई–१२ जहाज र दुईवटा एमए (मोडर्न आर्क) ६० गरी ६ वटा जहाज ल्याएको थियो । नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा भएको जहाजलाई प्राविधिकहरुले केही दिनमा नै दुर्घटनास्थलबाट पार्किङस्थलमा ल्याएका थिए । अहिले पनि उक्त जहाज नेपालगञ्ज विमानस्थलको पार्किङ बे मा रहेको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख ११, २०७७     7:12:58 AM  |