7 September 2024  |   शनिबार, भदौ २२, २०८१

बारबर्दियाका स्थानीयले बनाए ‘सामुदायिक क्वारेन्टाइन’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख ९, २०७७  

सुदीप अधिकारी बर्दिया।

मुलुकमा लकडाउन लम्बिएसँगै ज्याला मजदुरीका लागि बाहिर गएका मजदुरहरु पैदल हिडेर घर फर्कने क्रम पनि बढ्दो छ । यहाँको स्थानिय सरकारले यो अवधीमा घर फर्केका सबैलाई अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने नियम बनाएको छ । जसले गर्दा विभिन्न स्थानिय तहमा बनाइएका क्वारेन्टाइन भरिभराउ भएका छन् । कतीपय स्थानिय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा हम्मेहम्मे परेको छ ।

यस्तो अवस्थामा बारबार्दिया नगरपालिकाका स्थानिय जनता भने सरकारको मुख नताकि समुदायस्तरमै क्वारेन्टाइन स्थापना गरि यसको व्यवस्थापनमा जुटेका छन् । यहाँका स्थानियले क्वारेन्टाइनको सरकारी मापदण्डअनुसार नै समुदायस्तरमा २५ वटा क्वारेन्टाइन स्थापना गरि सरकारसँग समुदायको सम्बन्धलाई बलियो बनाएका छन् ।

नगरपालिकाले स्थापना गरेको ४ वटा क्वारेन्टाइन भरिभराउ भएपछि स्थानियबासी स्वस्फूर्तरुपमा समुदायस्तरमै क्वारेन्टाइन बनाएर सेवा प्रदान गर्न जुटेका हुन् । नगरपालिकाको ११ वटै वडामा समुदायले सामुदायिक क्वारेन्टाइन बनाएका छन् । प्रत्यक वडामा कम्तीमा २ वटा क्वारेन्टाइन स्थापना गरिएको छ । क्वारेन्टाइनका लागि सामुदायिक विद्यालय र सामुदायिक वनका भवन प्रयोग गरिएको छ । समुदायले व्यवस्थापन गरेको २५ वटा क्वारेन्टाइनमा हाल २ सय जना र नगरपालिकाले स्थापना गरेको ४ वटा क्वारेन्टाइनमा ७३ जना व्यक्ति रहेका छन् ।

जिल्ला बाहिरबाट धरै स्थानिय जोखिम यात्रा गरेर घर आएका छन् । आएका सबै क्वारेनटाइनमा बसुन् । जसले गर्दा समुदायमा कोरोनाको जोखिम नहोस् भनेर समुदायस्तरमा क्वारेन्टाइन बनाइएको बारबार्दिया वडा नं ५ का वडाध्यक्ष मनिराम थारुले बताए । जिल्ला बाहिर रहेका व्यक्तिहरु धमाधम घर फर्कन थाले पछि नगरपालिकाले बनाएको क्वारेनटाइनले थेग्न नसकेपछि नगरबासीले स्वस्पूmर्तरुपमा समुदायस्तरमा क्वारेन्टाइन बनाएर व्यवस्थापन गरिरहेको बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गबहादुर थारुले बताए ।

क्वारेन्टाइन व्यवस्थापनका लागि हरेका वडास्तरमा गाउँको बडघरको संयोजकत्वमा समिति निमार्ण गरिएको छ । यो समिति नै क्वारेनटाइन व्यवस्थापनको मुख्य जिम्मेवार रहने बताइएको छ । क्वारेनटाइनमा बसेकाहरुलाई खाना खाजा पानीलगाएत सबै व्यवस्था समुदायस्तरबाटै हुने गरेको छ । समुदायिका मानिसहरुले आफनो पालो अनुसरा क्वारेनटाइनमा खानपिनको व्यवस्था मिलाउने गरेका छन् ।

क्वारेनटाइनमा समुदायस्तरबाट प्रदान गरिने हरेक सेवा नेपाल सरकारले तोकेको मापढण्ड अनुसार नै हुने गरेको नगरप्रमख दुर्गाबहादुर थारुले बताए । क्वारेनटाइनमा सेवा प्रदान गर्ने समुदायका मानिसले आफनो स्वास्थ्य सेवाको सबै मापदण्ड पुरा गर्ने गरेको बताउँदै नगरप्रमुख थारुले भने, ‘ नगरपालिकाले संचालन गरेकै मापदण्ड अनुसार समुदायले कवारेन्टाइन संचालन गरेका छन् । यसमा कुनै कमी कमजोरी छैन । ’ समुदायस्तरमा स्थापना गरिएको क्वारेन्टाइनमा नगरपालिकाले तन्ना, झुल, म्याट, साबुन र सेनेटाइजरको व्यवस्था गरेको
छ । अन्य सबै व्यवस्थापन समुदायबाट हुने गरेको छ ।

क्वारेनटाइन व्यवस्थापनका लागि हरेका क्वारेन्टाइनमा स्थानिय ५÷ ५ जना युवाहरु आलोपालो खटिने गरेका छन् । क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको नियमित स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मीको मोबाइल टिम परिचालन गरिएको छ । स्वास्थ्यकर्मीको टिमले नियमितरुपमा हरेका क्वारेनटाइनमा स्वास्थ्य जाँचका लागि जाने र नियमित रिर्पोटिग गर्ने गरेको छ । यसैगरि क्वारेनटाइनको सुरक्षा गतिविधी हेर्नका लागि प्रहरी निरिक्षकसहितको मोबाइल टोली परिचालन हुने गरेको छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख ९, २०७७     9:17:29 AM  |