प्रहरी ‘कैद’ मा बुद्धको मुर्ति



चेत नारायण पाण्डेय । सुर्खेत ।  बुद्धको मुर्ति प्रहरी कार्यालयमा कैदी जस्तै बाँधेर राखिएको छ भन्दा सबैलाई अम्चम लाग्न सक्छ । तर यो सत्य कुरा हो, त्यो पनि ८ वर्षदेखी । विश्वमा शान्तिको बिगुल फुक्ने बुद्ध सबैका शान्तिप्रिय मानिन्छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको बुद्धको मुर्तिलाई देख्दा लाग्छ, बुद्ध नै हुन् अपराधी । उनले गरेको सजाय दिईएको छ उनको पुर्ण कदको मुर्तिलाई, जिल्ला प्रहरी कार्यालय प्रवेश गर्ने हर कोहीलाई त्यो मुर्तिको विषयमा कौतुहलता हुन्छ ।

आखिर किन कैदीबन्दी जस्तै बाँधेर राखिएको छ त्यो मुर्तिलाई । यही नै हुने गरेको सबैको प्रश्न ? वि.सं. २०६८ साल देखी बुद्धको मुर्ति फलामे तारले बाँधेर राखिएको छ । सुर्खेतको पर्यटकीय क्षेत्र कांक्रेबिहार संरक्षित वनमा स्थापना गर्न ल्याइएको मूर्ति विवादका कारण प्रहरीले नियन्त्रणमा लिएको थियो । बौद्ध धर्मावलम्बीले मूर्ति प्रतिस्थापन गर्न ल्याएको बुद्धको मूर्तिको विषयमा विवाद भएपछि प्रहरीले नियन्त्रणमा लिएको ८ वर्ष पुगिसकेको छ ।

मुर्ति विवादलाई लिएर त्यतिखेर बौद्ध धर्मावलम्बी र प्रहरी बीच झडप भएछि विवाद अदालत सम्म पुग्यो । पछि जिल्ला अदालत सुर्खेतले ०६९ मा फैसला ग¥र्यो, हाललाई मुर्ति कार्यालय परिसर भित्र सुरक्षित रुपमा राख्नु । अदालतको आदेशपछि उक्त मुर्तिलाई कैदीबन्दीजस्तै गरी बाँधिएको छ । अदालतको फैसलापछि मूर्ति काँक्रेविहार क्षेत्रमा अझै प्रतिस्थापन हुन सकेको छैन् । बेला बेलामा यस विषयमा स्थानीय स्तरबाट अदालत र प्रहरीको व्यापक आलोचना समेत हुने गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष सुरेश मानन्धर नेपाललाई शान्तिको सन्देश फैलाउने राष्ट्र भनेर चिनाउने बुद्धको मुर्ति स्थापना गर्न नदिई थन्क्याउनु अपमान भएको बताउँछन् ।

स्थानीय सरकार आए पश्चात बिभिन्न समुदायका मानिसहरुसँग छलफल पश्चात कांक्रेविहार मन्दिर क्षेत्रको संरक्षित वनमा राख्न नसकिने र मन्दिरको गेटमै राख्न सकिने निर्णय भएको उनले बताए । तर कानुनी जटिलताका कारण अझै मुर्ति कैदी जस्तै बाँधिएको अवस्थामा रहेको छ । ‘भ्रमण वर्ष सुरु भएको छ, काँक्रेविहारमा लिएर राखेको भए, पर्यटकको आगमन बढ्थ्यो’ अध्यक्ष मानन्धरले भने । तत्कालिन समयमा भएको फैसला पुनरालोकन गर्नुपर्ने भएकाले सबैको आधिकारीक सहमतिमा अदालतमा निबेदन दिने तयारी समेत गरिएको छ ।

सुर्खेतका सामाजिक अभियान्ता जीवन कुमार शाक्यका अनुसार २०६९ को बुद्ध जयन्तीको अवसरमा काँक्रेविहार वनमा राख्न भनेर भारतको देहरादुनबाट नेपाल सरकारको करिब ७ लाखको लागतमा बुद्धको मुर्ति ल्याईएको थियो । शाक्यले मूर्ति व्यवस्थापन गर्न प्रदेश सरकारसँग बारम्बार आग्रह गर्दा पनि प्रदेश सरकारले कुनै चाँसो नदिएको गुनासो गरे । कैदि सरह राखिएको भन्दै त्यसले सुर्खेतमा काँक्रेबिहार छ भन्दा शोभा नदिएको उनले टिप्पणी गरे । त्यस्तै नेपाल अहिंसावादी विश्वशान्ति बौद्ध धर्म संघ चक्रका सचिव एवं बौद्ध गुरु प्रेमदोर्जे लामाले बुद्ध जन्मिएको देश भनेर विश्वभरी परिचित भए पनि सरकारले चिन्न नसकेको भन्दै दुःख व्यक्त गरे ।

उनले मूर्ति काँक्रेविहारमा राख्न केन्द्रसँग गुहार्दा कुनै सुनुवाइ नभएको भन्दै प्रदेश सरकारले मन्दिर व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । सरकारले यसै बर्ष भित्र मुर्ति कांक्रेविहारमा व्यवस्थापन गर्न नसके चितवनको देवघाट वा धादिङमा मूर्ति राखिने उनको भनाई रहेको छ । काँक्रेविहारमा मूर्ति राख्दा हिन्दु, बौद्ध र इसाइ धर्मलावम्बी बीच द्वन्द्वको स्थिति भएकाले सबैले सहमति गरे व्यवस्थापन गर्न आफूहरु सक्दो सहयोग गर्ने स्थानीय प्रशासन बताउँछन् ।

डिभिजन वन कार्यालय सुर्खेतले सामाजिक समस्याका कारण काँक्रेविहारमा बुद्ध मूर्ति राख्न नसकिएको जनाएको छ । कुनै पनि संरक्षित क्षेत्रमा मुर्ति राख्नका लागि सबै सरोकारवालाको सहमति चाहिने र पहिला नै बिवाद भएका कारण वनले संरक्षित क्षेत्रमा मुर्ति राख्ने अनुमति नदिएको हो । १५ मिटर अग्लो पिरामिड शैलीमा मन्दिर निर्माणको काम सकिए पनि रङ्ग रोहन र सरसफाईको काम भने बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २३ गते बुधबार