‘तीन वर्षमा कर्णाली अन्धकार मुक्त’



चेतनारायण पाण्डेय । सुर्खेत ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशलाई तीन वर्ष भित्र अन्धकार मुक्त पारिने बताएका छन् । विद्युत् प्राधिकरणका कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न शनिबार सुर्खेत पुगेका उनले यस्तो बताएका हुन् । ‘हामी कर्णालीलाई तीन वर्षमा उज्यालो बनाउन बजेटको अभाव हुन दिने छैनौं’ उनले भने, ‘अहिले कोहलपुरदेखि सुर्खेत, कालिकोट वा आवश्यकता अनुसार माथिल्लो क्षेत्रसम्म १२४ केभी प्रसारण लाइनको टेन्डर आव्हान गर्न लागत मूल्यांकन गरिरहेका छौं ।’ प्रसारण लाइन बनेको खण्डमा कर्णालीमा विद्युतको समस्या हल हुने कार्यकारी निर्देशक घिसिङले दाबी गरे । प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई कर्णाली प्रदेश डिभिजन कार्यालय अन्तर्गतका वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको हो ।

कार्यकारी निर्देशक घिसिङसँग डिभिजन कार्यालय प्रमुख सुरेन्द्र प्रसाद अग्रहरीले कार्यसम्पादन सम्झौता गरेका थिए । त्यसैगरी वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखले सम्झौता गरेका थिए । कार्यसम्पादन सम्झौतामा विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमितामा राखी अंकभार ५० राखिएको छ । कार्यसम्पादनमा राखिएका सूचकहरुको वस्तुनिष्ठ मूल्याकंन गरी केन्द्र प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था समेत गरिएको छ । वितरण केन्द्र प्रमुखसँगको सम्झौतामा विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, स्तरिय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने लगायतका कार्यसम्पादन सूचांक निर्धारण गरिएको छ ।

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणमा ध्यान लगाएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए । ‘सुर्खेत वितरण केन्द्रलाई स्रोत साधन सम्पन्न बनाउन बजेट अभाव हुन दिइने छैन’ उनले भने, ‘वित्तीय अनुशासनमा रहेर कार्यालयको खर्चमा मितव्यीता अपनाउनुहोस् ।’ उनले जथाभावी रुपमा सामान खरिद नगर्न केन्द्र, लेखा र स्टोर प्रमुखलाई निर्देशन समेत दिएका थिए । कार्यकारी निर्देशक घिसिङले विगतका वर्षमा प्राधिकरणका कर्मचारीले वैशाख र जेठमा कोटेसनमार्फत काम गराउने सम्झौता भएकाले छानबिन भइरहेको जानकारी दिए । ‘८ महिना हात बाँधेर बस्ने अनि अन्तिम समयमा कोटेसनमार्फत करोडौंको काम भएको पाइयो’ उनले भने, ‘त्यसबारेमा हामी छानबिन गरिरहेका छौं । ठूलो समस्या भए वा प्राधिकरणलाई ठूलो क्षति हुने अवस्था बाहेक तपाईहरू कोटेशन मार्फत बिल्कुल काम नगराउनुहोला ।’

कर्णालीका ५ जिल्लामा हाल सम्मपनि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । कर्णालीका सल्यान, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत र दैलेखमा मात्रै लाइन पुगेको छ । यस्तै शनिबार नै कार्यकारी निर्देशक घिसिङले सुर्खेतको औद्योगिक क्षेत्रको अवलोकन निरीक्षण गरेका छन् । ९० रोपनी जग्गा फैलिएको औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरूले विद्युतको सेप्रेट डेडिकेटेड फिडर लाइन ल्याउन माग गरेका छन् । देशका अन्य औद्योगिक क्षेत्रमा विद्युतको सेप्रेट डेडिकेटेड फिडर लाइन भए पनि सुर्खेतमा बजार र औद्यागिक क्षेत्रको लागि एउटै विद्युतीय लाइन रहेको छ । घिसिङले प्रादेशिक कार्यालयका प्रमुख अग्रहरीलाई डेडिकेटेड लाइनको लागि स्टेमेट सहित छिटो काम अगाडी बढाउन निर्देशन दिएको औद्योगिक क्षेत्र सुर्खेतका प्रमुख जीव नारायण बन्जाडेले जानकारी दिए । २०३८ सालमा स्थापना भएको सुर्खेतको औद्योगिक क्षेत्रमा विभिन्न प्रकृतिका २७ वटा उद्योगहरू रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस ६ गते आइतबार