हेमन्त केसी । जाजरकोट ।
स्थानीयवासीलाई पायक पर्ने ठाउँमा खाद्यान्न आपूर्ति गर्न नसकिएकाले यहाँका छ ठाउँमा नयाँ डिपो राख्न प्रस्ताव गरिएको छ । हाल रहेका डिपो पायक पर्ने ठाउँमा नहुँदा सर्वसाधारणलाई खाद्यान्न उपलब्ध गराउन कठिन भएकाले नयाँ डिपो स्थापना गर्न प्रस्ताव गरिएको हो । जिल्लाको कुशे गाउँपालिका– ३को टापुचौर, जुनिचाँदे गाउँपालिका–७ को रजुतरा, शिवालय गाउँपालिका–२ को शिवालय, भेरी नगरपालिका–९को पोख्रा, कुशे गाउँपालिका–६ को घरङ्गा, छेडागाड नगरपालिका– १२ को काँडामा नयाँ डिपोका लागि प्रस्ताव गरिएको उक्त संस्थानका शाखा प्रमुख धर्मबहादुर बस्नेनतले बताए ।
छेडागाड नगरपालिकाको दशेरा, जुनिचाँदे गाउँपालिकाको ताँगा, बारेकोट गाउँपालिकाको नायकवाडा घाट तथा घोगी र नलगाड नगरपालिकाको चौखामा डिपो छन् । अघिल्लो वर्ष मात्र स्थापना गरिएको नलगाड नगरपालिकाको कालीमटी डिपोमा यो आर्थिक वर्षमा खाद्यान्न आपूर्तिका लागि बोलपत्र आह्वान भएको छैन । छरिएर रहेका बस्ती र यातायातको सहज पहुँच नहुँदा जिल्लाका अधिकांश ठाउँमा चामल टाढाबाट बोकेर ल्याउन समस्या हुनाका साथै खाद्य डिपोबाट चामल लिनका लागि पाँच घण्टाभन्दा बढी लाग्ने गरेको स्थानीयवासी बताउँछन् । डिपोमा गएर चामल लिनुभन्दा गाउँ नजिकै महङ्गोमा चामल खरीद गर्दा समयको बचत हुने भन्दै स्थानीयवासी डिपोमा जान नचाहेकाले अव नयाँ प्रस्ताव गरिएका डिपोबाट सबैलाई पायक पर्नेे ठाउँमा डिपो माग गरिएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए ।
साविकका ३० गाविस र अहिलेका सात स्थानीय तहलाई पायक पर्ने ठाउँमा डिपो स्थापना गरेमा सबैको पहुँचमा खाद्यान्न पुग्ने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । सहुलियतमा पाइने खाद्यान्नको चामल सबै जनताको पहुँचमा नपुगेसम्म निजी क्षेत्रबाट पाइने महङ्गो चामलले सर्वसाधारणलाई समस्या पर्ने उनले बताए । खाद्यान्न कम उत्पादन हुने र धान कम फल्ने जाजरकोटमा आयतित खाद्यान्न आपूर्ति बढी हुने गरेको छ ।
वर्षेनि उत्पादन घटदै गएकाले पनि थप समस्या परेको हो । खेतीयोग्य जमीनमा प्रर्याप्त सिँचाइ सुविधा नहुनु र वर्षेनि एउटै जातको बीउ प्रयोग गर्दा उत्पादनमा गिरावट आएकाले नयाँ जातको बीउ सिफारिस गरी नयाँखेती तथा प्राविधि प्रयोग गरेमा आयतित खाद्यान्न घटाउन सकिने थियो तर पनि त्यसतर्फ कसैको पनि चासो नगएको यहाँका कृषि प्राविधिकले बताए ।
पायक पर्ने ठाउँमा कृषि कार्यालय नहुँदा र भएका ठाउँमा पनि कृषि प्राविधिक नभएका कारण उत्पादनमा सहयोग नपुगेको यहाँका कृषकको भनाइ थियो । माटो जाँच गरी सोही अनुसारको बीउ सिफारिस गरेमा उत्पादन वृिद्ध हुने भए पनि ठिमाहा बीउका कारण वर्षेनि उत्पादन घट्दै गएकाले कृषिमा लगानी गरेर कृषिजन्य वस्तुको उत्पादन बढाएमा आयतित अन्न किन्न नपर्ने र रकमको पनि सदुपयोग हुने स्थानीय सरकारको भनाइ थियो । रासस