29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

नेपालगञ्जमा आधुनिक ल्यान्डफिल साइट सञ्चालनमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६  

नेपालगञ्ज ।

ल्यान्डफिल साइटको उद्घाटन गर्दै सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राई                                  तस्बिरः जावेद अन्सारी

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा देशकै पहिलो ठूलो एकिकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (ल्यान्डफिल साइट) निर्माण भएको छ । नेपालगञ्ज उपमहानगरपालिका २३ हिरमिनियामा १३ बिगाहा ५ कठ्ठा जग्गामा निर्माण भएको ल्यान्डफिल साइटको बिहीबार संघिय सरकारका सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले उद्घाटन गरे । एसियाली विकास बैंक (एडिबि) को सहयोगमा एकीकृत सहरी विकास कार्यक्रम अन्तर्गत करिब ३९ करोड रुपैयाँ लगानीमा आधुनिक ल्यान्डफिल साइट निर्माण भएको हो । यो परियोजनामा एडिबि, नेपाल सरकार र नेपालगञ्ज उपमहानगरपालिकाले ३८ करोड ९३ लाख ४२ हजार रुपैयाँ लगानी लगाएका छन् । ल्यान्डफिल साइटको उद्घाटन गर्दै मन्त्री राईले यो परियोजना देशकै लागि नमुना र उदाहरण बनेको दाबी गरे ।

‘यही मोडेलका परियोजनाहरु देशका अन्य सहरहरुमा समेत निर्माण भइरहेका छन्’ उनले भने, ‘ती ठाउँहरुमा विभिन्न कारणहरुले ढिलाई भइरहेको छ । तर नेपालगञ्जले भने सबैभन्दा पहिला सञ्चालनमा ल्याएर उदाहरण प्रस्तुत गरेको छ ।’ शहरको सुन्दरताका लागि फोहोरमैला व्यवस्थापन मुख्य बिषय रहेको बताउँदै मन्त्री राईले अबदेखि नेपालगञ्जमा फोहोरमैला व्यवस्थापनको समस्या नहुने विश्वास व्यक्त गरे । फोहोर फाल्ने ठाउँ नभएर सधैँ समस्यामा पर्ने गरेको नेपालगञ्ज उपमहानगरपालिकालाई आधुनिक ल्याण्डफिल साइट बनेपछि राहत मिल्नेछ । उद्घाटन समारोहमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवल शमसेर राणाले अब फोहोरमैला व्यवस्थापन गर्न सजिलो हुने बताए । ‘हामी निर्वाचित भएर आएलगत्तै नगरको फोहोरमैला व्यवस्थापन गर्नको लागि खाल्डा खोज्दै हिड्नुपरेको थियो’ उनले भने, ‘अब आधुनिक एकिकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र सञ्चालनमा आएपछि मुक्ति मिलेको छ ।’

नेकपा बाँकेका अध्यक्ष तथा प्रदेश सांसद इन्द्रप्रसाद खरेल (आइपि) ले जनप्रतिनिधी आउँनुभन्दा पहिला नै सुरु भएको परियोजना अहिले आएर पूरा हुनु खुसीको कुरा भएको बताए । ‘हामीले यो ठूलो योजनालाई नेपालगञ्जमा नै रोक्नको लागि राजनितिक दलहरुको तर्फबाट ठूलो भुमिका खेलेका थियौं’ उनले भने, ‘विगतमा विवादका कारण नै यहाँबाट बाहिर जाने गरेको देखेपछि सबै दलहरु एकढिक्का भएर भुमिका खेलेका थियौं । अहिले त्यसले पुर्णता पाउँदा खुसी लागेको छ ।’ अब आधुनिक एकिकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्रलाई नियमित सञ्चालनको लागि उपमहानगरपालिकाले भुमिका खेल्नुपर्ने सांसद खरेलले सुझाव दिए । सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले नेपालमा नै पहिलोपटक यती ठूलो र आधुनिक फोहोरमैला व्यवस्थापन र प्रशोधन केन्द्र निर्माण भएको जानकारी दिए । ‘नेपालका अन्य ठाउँहरुमा फोहोरमैला डपिम्ङ साइटमात्र रहेका छन्’ उनले भने, ‘यहाँ बनेको साइटमा फोहोरमात्र फालिदैन फोहोरबाट मोहोर समेत उत्पादन गरिन्छ ।’

नेपालगञ्ज सहर भरी उत्सर्जन हुने फोहरलाई सो केन्द्रमा लगेर छुट्याई जैविक मल उत्पादन गरिनेछ । उत्पादन भएको मल उपमहानगरपालिकाको दिगो आम्दानीको श्रोत समेत हुने उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरी प्याकुरेलले जानकारी दिए । उनका अनुसार २३ वडा रहेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रबाट हाल दैनिक ३२ टन फोहोर उत्पादन हुने गरेको छ । ल्यान्डफिल साइट निर्माण नहुँदा उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्ने ठाउँको अभावका कारण कुनै निश्चित ठाउँमा नभएर खाली जग्गामा फोहोर फाल्दै माटोले पुर्दै आएको थियो ।

इट्टा, ढुंगा लगायतका नकुहिने फोहोर भने सेलमा राखेर माटोले च्यापिनेछ । त्यसका लागि आवश्यक संरचना र चारवटा सेल निर्माण गरिएको छ । फोहोर व्यवस्थापनका लागि स्थानीयलाई सचेत बनाउँदै ५ हजार ५०० बाल्टिन घरमा र करिब एकसय थान ठूलो खालको डस्टबिन वितरण गरिने छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६     8:51:04 AM  |