कोहलपुर ।
नेपाली राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको १ सय ६ औं जन्म जयन्तीको अवसरमा वृक्षारोपण गरिएको छ । दिवसको अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरी र बर्दियाको बाँसगढी नगरपालिका ८ मा वृक्षारोपण गरिएको थियो । ढकेरीमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ को आयोजनामा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको काँग्रेसका नेता निम बहादुर चलाउनेले जानकारी दिए । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ को कार्यालय परिसरमा रहेको खाली स्थानमा विरुवाहरु रोपिएको थियो । उक्त कार्यक्रममा कोहलपुर तथा राप्तीसोनारीका नेता तथा कार्यकर्ताहरुको साथै काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो ।
बर्दियाको बाँसगढी नगरपालिका ८ रहेको रामजानकी माविको परिसरमा वृक्षारोपण गरिएको प्रतिनिधीसभा क्षेत्र नम्बर १ प्रदेश निर्वाचन क्षेत्र क नेपाली काँग्रेसका सभापति मानबहादुर ओलीले जानकारी दिए । केन्द्रीय प्रतिनिधीको रुपमा आएका नेता शंकर गिरी उपस्थितीमा विद्यालय परिसरमा वृक्षारोपण गरिएको उनले बताए । दुवै कार्यक्रममा बोल्ने काँग्रेसका नेताहरुले विपीको योगदानको चर्चा गरेका थिए । विद्यालय परिसरमा १ सय भन्दा बढी विभिन्न प्रजातीका विरुवाहरु रोपिएको थियो । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण ठानिएको छ विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका साथै नेपाली साहित्य जगतमा पनि विशिष्ट व्यक्तित्वका रुपमा स्थापित भए । विसं २०१५ सालको आम निर्वाचन पश्चात् १८ महिना नेपालका प्रधानमन्त्री बनेका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय नेतृत्व गरेका थिए ।
भारतमा रहँदा तत्कालीन समयमा चलेको स्वतन्त्रता आन्दोलनबाट प्रभावित स्वर्गीय कोइरालाले सो आन्दोलनमा सक्रिय रहनुका साथै नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गरेकोमा त्यो पछि गएर नेपाली काँग्रेस पार्टीमा रुपान्तरित भएको थियो । विसं २००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेका कोइरालको नेतृत्वमा २००७ सालको क्रान्तिले सफलता प्राप्त गरेको थियो । विसं २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात् कुनै मुद्दा बिना नै आठ वर्ष कैदमा राखिएका कोइरालाले तत्पश्चात् लामो समयसम्म निर्वासनमा बसेर २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फर्किएका थिए । साहित्यकार कोइरालाका तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदिआइन, हिटलर र यहुदी र बाबु, आमा र छोरा उपन्यास प्रकाशित छन् । कोइरालाका दोषी चश्मा, श्वेतभैरवी कथा सङ्ग्रहका साथै आफ्नो कथा र जेल जर्नल आत्मबृतान्त एवम् जीवनी सङ्ग्रह प्रकाशित छन् । नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानलाई भित्रयाएका कोइरालालाई मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गर्ने साहित्यिक व्यक्तिको श्रेय पनि जान्छ । कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।