8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

३८ प्रतिशत व्यावसायिक प्रतिष्ठान ऋणबाट सञ्चालित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार २३, २०७६  

नेपालगञ्ज ।

बाँके जिल्लामा सञ्चालनमा रहेका करिब ३८ प्रतिशत विभिन्न व्यवसायिक प्रतिष्ठानहरु ऋण लिएर सञ्चालन गरिएको पाइएको छ ।  तथ्यांक विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७५ को प्रतिवेदन अनुसार जिल्लामा ३८.९ प्रतिशत व्यावसायिक प्रतिष्ठानले कारोवारका लागि बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएका छन् । जिल्लामा रहेका १८ हजार ६ सय ६६ व्यावसायिक प्रतिष्ठान मध्ये ७ हजार ८ सय ८३ व्यावसायिक प्रतिष्ठानले ऋण लिएको प्रतिवेदनमा उल्लेख रहेको छ ।

आर्थिक गणना २०७५ को प्रतिवेदन अनुसार ऋण लिने व्यावसायिक प्रतिष्ठानमा ३ हजार ६ सय ३० प्रतिष्ठानले बैंक, फाईनान्स, लद्युवित्तबाट र ३ हजार ४ सय ५३ प्रतिष्ठानले सहकारी र व्यक्तिगत रुपमा ऋण लिएका छन् । पहिलोपटक गरिएको आर्थिक गणना २०७५ को प्रतिवेदन तथा सरोकारवालहरुसँग अन्तरक्रिया गर्दै आइतबार बाँकेको नेपालगञ्जमा तथ्यांक कार्यालय बाँकेले प्रतिवेदन सार्वजनिक गरेको थियो ।

कार्यक्रममा बोल्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले आर्थिक गणना देशको समृद्धीका लागि कोशेढुङ्गा सावित हुने बताए । ‘नेपालमा पहिलोपटक आर्थिक गणना गरिएको छ’ उनले भने, ‘स्थानीय देखि केन्द्र सरकारले आगामी योजना बनाउदा आर्थिक गणनाको तथ्यांक कोशेढुङ्गा सावित हुन्छ ।’

व्यवसायिक प्रतिष्ठान मध्ये सबैभन्दा धेरै थोक तथा खुद्रा व्यापार, मोटरगाडी, मोटरसाईकल मर्मतका ११ हजार १ सय ९२ अर्थात कुल प्रतिष्ठानमा ६० प्रतिशत रहेको छ । उत्पादन क्षेत्रमा जम्मा २ हजार ५१ अर्थात ११ प्रतिशत मात्र रहेको छ । सार्वजनिक आर्थिक गणनाको तथ्यांक अनुसार जिल्लामा अनुत्पादक क्षेत्रका प्रतिष्ठानहरु धेरै रहेको देखिन्छ । प्रतिवेदन अनुसार बैंक तथा वित्तिय क्षेत्रको संख्या बाँकेमा २ सय २१ वटा रहेको छ । जिल्लाका व्यावसायिक प्रतिष्ठानमा ६४ हजार ८ सय ८२ जनाले रोजगारी पाएका छन् । बाँकेमा पछिल्लो समय साना ठूला उद्योग, कलकारखाना खुल्ने क्रम बढेसँगै रोजगारी समेत थपिदै छ ।

तथ्यांक विभागका अनुसार देशभरमा ९ लाखभन्दा बढी प्रतिष्ठान आर्थिक क्रियाकलापमा संलग्न रहेको देखाएको छ । ती प्रतिष्ठानले ३२ लाख २८ हजार ४ सय ५७ रोजगारी सिर्जना गरेका छन् । कुल रोजगारमध्ये पुरुषको संख्या २० लाख १२ हजार २ सय ३७ र महिलाको संख्या १२ लाख १६ हजार २२० रहेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार, २०७२ सालयता मात्र बाँकेमा ९ हजार २६ वटा व्यावसायिक प्रतिष्ठान सञ्चालन आएका छन् । यो कुल व्यावसायिक प्रतिष्ठानको ४८.४ प्रतिशत हो ।

जिल्लामा सबैभन्दा धेरै थोक, खुद्रा र सवारी मर्मतका रहेका छन् भने कम कला, मनोरन्जन तथा मनोविनोदन क्रियाकलापका रहेका छन् । थोक, खुद्रा र सवारी मर्मत केन्द्रको संख्या ११ हजार १ सय ९२ र कला, मनोरन्जन केन्द्रको संख्या १९ रहेको छ ।  उत्पादनमूलक उद्योगको संख्या भने २ हजार २१ वटा मात्र रहेको छ । तथ्यांक विभागका अनुसार, २०७२ सालयता सबैभन्दा धेरै व्यावसायिक प्रतिष्ठान खुलेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले निजी राजनीतिक अस्थिरता भएका कारण धेरे व्यावसायिक प्रतिष्ठान खुलेको बताए । बाँकेमा २०४४ साल अघि ३६४, २०४५–२०५४ सम्म ५५८, २०५५–२०६४ मा २१९६ र २०६५–२०७१ मा ६२४० वटा व्यावसायिक प्रतिष्ठान सञ्चालनमा आएका छन् ।

प्रकाशित मितिः सोमवार, असार २३, २०७६     5:15:58 PM  |