कोहलपुर ।
भारतबाट नेपाल भित्रिने तरकारी र फलफूल आयातमा कडाई गरिएको छ । भारतीय नाका रुपैडिहा भएर नेपाल भित्रिने गुणस्तरहिन र विषादीयुक्त तरकारी र फलफूलमा नेपाल आयात तथा चेकजाँचमा कडाई गरिएको हो । अहिले नेपाल भारत नाकामा ४२ वटा भ्नदा बढि तरकारी बोकेका ट्रकहरुलाई चेकजाँचको लागि रोकिएको छ । भारतबाट तरकारी र फलफूल बोकेर नेपाल भित्रिँदै गरेका ट्रकहरुलाई चेकजाँचको गर्नको लागि सीमा मै रोकिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख शान्तिराम निरौलाका अनुसार नेपालतर्फको नाका जमुनाहामा मात्रै १७ वटा र भारतीय सीमा नाका रुपैडिहामा २५ वटाभन्दा बढी ट्रक रोकिएको हो ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको परिपत्र अनुसार तरकारी बोकेका भारतीय मालबाहक सवारीमा नेपाल आगमनमा कडाई गर्नु भन्ने निर्देशन अनुसार प्रक्रिया थालिएको बताए ।‘विषादी परिक्षण नगरिएका ट्रकहरुलाई नेपाल प्रवेशमा रोक लगाउनु भन्ने परिपत्र आएको छ’ उनले भने,‘ परिपत्र आएलगत्तै हामीले ती ट्रकहरुको जाँचपास दिएका छैनौं ।’
अहिले नेपाल भारत नाका मै ट्रकहरु रोकिएको र परिक्षण प्रश्चात मापदण्ड पुरा गरेकालाई नेपाल प्रवेश गराईने र विषादीयुक्त भेटिने फिर्ता पठाईने प्रमुख निरौलाको भनाई छ । उनले विषादी परिक्षणका लागि तरकारी तथा फलफुलको नमुना संकलन गरेर नेपालगन्जस्थित विषादी अन्वेषण द्रुत विश्लेषण इकाई कार्यालय बाँकेमा पठाइएको जानकारी दिए । परिक्षणको क्रममा गुणस्तर हिन र विषादी युक्त भेटिएमा प्रवेश रोक लगाईने छ । विगतमा विना रोकटोक भारतीय सवारी नेपालमा निर्वाद भित्रिने गरेकोमा अब भने जाँचपास पछि मात्रै अनुमती पाउने उनको भनाई छ ।
निर्णय कार्यान्वयन हुने अपेक्षा
विगतमा पनि सिमा क्षेत्रमा यस्ता प्रयास नभएका भने होईनन् । निर्णय कार्यान्वयनमा निकै चुनौती थियो । निर्णय कार्यान्वयन नहुदा त्यसको प्रत्यक्ष असर बाँके लगायतका नागरिकलाई परेको छ । तर अब गुणस्तर मापन गर्ने कार्यालय नेपालगन्ज मै भएपछि वर्षो देखीको अन्यौलता हट्ने भएको छ । यता नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सरकारले गरेको निर्णय कार्यान्वयन हुनेमा सरोकारवालाले विश्वास व्यक्त गरेका छन् । उनले आम नागिरकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले गरेको निर्णयले सधैं निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
‘आज निर्णय गर्ने भोली कार्यान्वयन नहुने अवस्था नहोस् । यस्ता निर्णयले आम नागरिकलाई आत्मनिर्भरताको बाटोतर्फ प्रेरित गर्छन्’ उनले भने, ‘स्वदेशमै उत्पादन बढाउनुपर्छ भन्ने सन्देश दिन्छ ।’ दुई दिनमात्रै तरकारी र फलफूल बोकेका ट्रकहरु नेपाल नभित्रिएपछि नेपालगन्जमा तरकारीको भाउ बढ्न थालेको छ । माग अनुसार आपूर्ति हुन नसक्दा भाउ बढ्न थालेको हो ।
आयात रोकिएपछि व्यवसायीहरुले भाउ बढाउन थालेका छन् । भारतमा भान्टा, परवर, आलु, मुला, काउली, करेला, गोलभेडा, काँक्रो, फर्सी, प्याज, धान, गहुँ, मकै लगायतका खाद्यान्न तथा बेमौसमी तरकारी बालीमा विषादीको प्रयोग धेरै गर्ने गरिएको छ । मानव शरीरलाई सबैभन्दा बढी षोषण तथा भिटामिन दिने हरियो तरकारीमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने विषादीहरुको प्रयोग रोक्न विज्ञहरुको सुझाव छ ।
नेपालमा वर्षेनी १० देखि २० प्रतिशतका दरले विषादीको प्रयोग बढ्दै गएको सरकारी तथ्यांक छ । लामो समयसम्म बिषादीयुक्त तरकारी तथा खाद्यान्न प्रयोगले रगत तथा छालाको क्यान्सर हुने जोखिम उच्च हुने भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे बताउँछन् ।