सञ्जिला तामाङ ।
अहिले देशभर दिनहुँजसो बलात्कारका घटना सार्वजनिक भइरहेका छन्। बलात्कारका घटनाविरुद्ध अहिले नागरिक समाज जुरुक्कै उठेको छ। बलात्कारको घटनामा संलग्नलाई फाँसीको सजाय दिनुपर्नेसम्मका माग सडकबाट उठेको छ।
बलात्कारको घटनामा संलग्नलाई फाँसीकै सजाय नभए पनि नेपालमा यस्ता घटनामा संलग्नलाई दिने सजाय त्यति कमजोर भने छैन। तथापि, बलात्कारका घटना कम हुनुको साटो दिनदिनै बढ्दो छ। पछिल्ला समय यस्ता घटनमा संलग्नमाथि कारबाहीसमेत हुन छाडेका छन्। यसको ज्वलन्त उदाहरण हो : निर्मला पन्त हत्याकाण्ड।
बलात्कार नेपालको मात्रै समस्या नभएर विश्वव्यापी समस्या हो। विकसित र विकासोन्मुख दुवै मुलुकको लागि बलात्कार साझा समस्या बन्दै गएको छ। आखिर किन यसरी बलात्कारका घटना बढिरहेका छन्, यसको मुख्य जड के हो? के – के कारणले गर्दा बलात्कारले प्रश्रय पाइरहेको छ त? विशेषगरी बलात्कारलाई समाज, सामाजिक संरचना र सामाजिक सन्दर्भसँग जोडेर हेर्नुपर्छ।
साधारण शब्दमा सहमति बेगर वा बलपूर्वक यौन सम्बन्ध स्थापित गर्नुलाई बलात्कार भनिन्छ। बलात्कारका घटनाहरू आधुनिक युगका उपज भने होइन। बलात्कारका घटनाहरू आदिकालदेखि नै हरेक समाज र संस्कृतिमा हुँदै आएको देखिन्छ।
उदाहरणको लागि सामन्तवादी समाजमा राजा महाराजाहरूले आफूलाई मन पर्ने जुनसुकै महिलालाई उपयोग गर्न सक्थे। त्यो एक प्रकारको संस्कृति नै थियो। महिलाले चाहेर वा नचाहेरै त्यस्ता कार्यमा संलग्न हुनुपर्थ्यो। त्यसलाई मानिसले संस्कृतिको रूपमा एडप्ट गरे र त्यो कार्यलाई सामान्य रुपमा लिइयो। वास्तवमा त्यो पनि बलात्कार नै थियो।
अहिले समाज परिवर्तन भइसकेको छ। समान्तवादबाट पुँजीवादको युगमा आइसकेको छ। यो युगमा आइपुग्दा बलात्कार जस्तो घृणित कार्यले चर्चा पाएको हो। पहिला यस्ता घटनाहरू लुकाएर, दबाएर राखिन्थ्यो। यतिसम्म की बलात्कार भयो भन्ने चेतना मानिसमा नै थिएन। यसलाई सजिलै ग्रहण गरिन्थ्यो। बलात्कारलाई सामान्य मानिन्थ्यो। तर आजकाल चेतना अभिवृद्धिले गर्दा यस्ता घटनाहरू बाहिर आउन थालेको छ। यसरी घटनाहरू बाहिर आउन थालेकाले मात्रै बलात्कारका घटनाका संख्या बढेको देखिएको हो। अतः बलात्कार हिजो पनि थियो र आज पनि छ। बलात्कारलाई एउटा जघन्य अपराधको रूपमा मानिन्छ।
बलात्कारका घटनाहरू यसरी बढ्नुका पछाडि स्वयं समाज दोषी छ। समाज भन्नाले सामाजिक संरचना जस्तो राज्यको चरित्र, त्यहाँको उत्पादन प्रणाली, अर्थ राजनीति, धर्म, संस्कृति, वर्ग, जातजाति, लैङ्गिकता, परम्परा, मूल्य, मान्यतालाई जनाउँछ। समाजको चरित्र र संरचना कस्तो छ भन्ने कुराले त्यो समाजले कस्ता मान्छे उत्पादन गर्छ भन्ने थाहा पाउन सकिन्छ। यस मानेमा कि कुनै खास समाजमा, खास समय र परिस्थितमा यस्ता घटनाहरू हुने गर्दछ।
हुर्कँदै बढ्दै जाँदा समाजबाट मानिसले सबै कुरा सिक्छ। यसमा सामाजिकीकरणको ठूलो भूमिका हुन्छ। त्यो घरपरिवारको आर्थिक अवस्था, शैक्षिक अवस्था र संस्कृतिले पनि प्रभाव पार्छ। कुनै पनि बच्चाको स्वभाव कस्तो बनाउने भन्ने कुरा उसको अभिभावकको हातमा हुन्छ। उसलाई सानैदेखि कस्तो संस्कार सिकायो, कस्तो ज्ञान, शिक्षा दियो भन्ने कुराले मानवता वा व्यक्त्विको निर्माण हुँदै जान्छ।
त्यसैले मानव जाति समाजको प्रतिफल अनुसार अगाडि बढिरहेको हुन्छ। जसमा कोही मान्छेहरू गलत दिशातिर लागिरहेका हुन्छन् भने कोही मानिसहरू सही बाटोमा लागिरहेका हुन्छन्। बलात्कार पनि त्यस्तो एउटा कार्य हो जुन खराब मानसिकताबाट उत्पन्न हुन्छ।
व्यक्तिले समाज बनाउने हो र समाजले नै सामाजिक संरचना बनाउने हो। समाज र व्यक्ति बिच दोहोरो सम्बन्ध हुन्छ। त्यसैले यस्ता घटनाहरू बढ्नुमा हाम्रो समाज र हामी स्वयं नै दोषी देखिन्छ। बलात्कारका घटना केलाउँदा व्यक्ति र समाजलाई नै जोडेर हेर्नु पर्छ।
वास्तवमा पुरुषले महिलालाई यौन सन्तुष्टिको साधन मानेका कारण नै बलात्कारको घटना घट्ने गर्छ। महिलामाथि आफ्नो नियन्त्रण कायम राख्ने एउटा माध्यम बलात्कार हुन पुगेको छ। आफ्नो शक्ति प्रदर्शन गर्ने, अरूलाई डोमिनेट गर्ने, मानवको अवमूल्यन गर्ने, हिंसा गराउने अभिप्रायले बलात्कार हुने गर्दछ। बलात्कार नितान्त यौन इच्छाले हुने गर्दैन यो त महिला माथि दमन, शोषण, उत्पीडनलाई निरन्तरता कायम राख्न गरिन्छ। त्यसकै फलस्वरूप बलात्कारको उत्पादन र पुनरुत्पादन भइरहेको छ।
यो सत्य हो कि बलात्कारको लागि यौन अंग प्रयोग भएको हुन्छ।
यो अन्ततः गएर जोडिने भनेको पुरुष सत्तासँग हो। त्यो पुरुष सत्तावादको एउटा उत्पादन बलात्कार हो। बलात्कार भनेको महिलामाथि पुरुषको नियन्त्रण जमाउने एउटा खेल हो। जसले सधैँ महिलाहरूलाई असुरक्षित र कमजोर बनाइदिएको छ। पुरुषसत्तावादी सामाजिक संरचना नै बलात्कारी जन्माउने एउटा कारखाना हो। जुन कारखानाबाट दिनहुँ बलात्कारीहरू जन्मिरहेका छन्। त्यो संरचनाले बलात्कारीलाई प्रश्रय दिइरहेको छ।
बलात्कार एक जटिल र बहुआयामिक अपराध हो। यसलाई विभिन्न दृष्टिकोणबाट हेर्न सकिन्छ। व्यक्तिको मनोबैज्ञानिक, सामाजिक सांस्कृतिक पक्षबाट पनि हेर्न सकिन्छ। बलात्कार महिला हिंसाको एउटा पाटो हो। बलात्कार र हाम्रो सामाजिक संरचना जोडिएको हुन्छ। जस्तै बलात्कारलाई लिङ्ग, लैङ्गिकता, जातजाति, वर्ग, उमेर, क्षेत्र, अपाङ्गता आदिबाट व्याख्या गर्न सकिन्छ। लिङ्ग र लैङ्गिकताको हिसाबले हेर्ने हो भने प्राय बलात्कारमा महिलाहरू नै परेका छन्। महिलामा पनि निम्न वर्गका महिलाहरू बढी पीडित भएका छन्।
जातीय हिसाबले हेर्ने हो भने दलित, त्यसपछि जनजाति र गैह्र जनजातिहरू रहेका छन्। वर्गीय हिसाबले निम्न र मध्यम वर्गका महिलाहरू बढी पीडित हुने गरेका छन्। क्षेत्रगत हिसाबले हेर्ने हो भने शहर भन्दा ग्रामीण क्षेत्रमा बढी बलात्कारका घटना भएका छन्।
हाम्रो सञ्चार माध्यम पनि पितृसत्तात्मक सोच भन्दा बाहिर छैन। किनभने बलात्कारको समाचार बनाउँदा महिलालाई डराएको, त्रास, चिच्याएको, कमजोर बनाएर चित्र देखाइन्छ भने पुरुषलाई बलियो बनाएर देखाइन्छ। यसले गर्दा पनि महिलाको मनोबल कमजोर बनाइन्छ। यसबाट पनि प्रस्ट हुन्छ की महिलालाई हामीले कसरी चित्रित गरेका छौँ।
बलात्कार लैङ्गिक असमानताको एउटा परिणाम हो। जुन सदियौदेखि कायम छ। महिलाको शिक्षा, रोजगारी, पेशा, पहुँच र कानुनी हैसियत जस्ता कुरा सिधै बलात्कारसँग सम्बन्धित हुन्छ। महिलाको सामाजिक आर्थिक हैसियतले पनि बलात्कारका घटनामा प्रभाव राख्दछ। बलात्कारी मानसिकता निर्माण हुनुमा लैङ्गिकतामा आधारित कामको विभाजन र सामाजिकीकरण मुख्य कारण हुन्।
बलात्कार प्राय विकासशील देशहरूको मात्रै समस्या होइन। बलात्कृत हुने शीर्ष देशमा विकसित र शिक्षित देश पनि रहेका छन्। यो सत्य हो कि विकसित र शिक्षित देशहरूमा पनि गरिबी, अशिक्षा, अज्ञानता अझै कायम नै छ। त्यसैले त्यस्ता ठाउँमा बलात्कारका घटना हुने गर्दछ।
तर अहिले बलात्कार जस्तो संवेदनशील विषयमाथि धेरै खेलबाड भइरहेको छ। बलात्कारका विषयमा हुने डिबेट, डिसकसन आदि सतहमा मात्र केन्द्रित छन्। बलात्कारको मूल जरा के हो, बलात्कार किन हुन्छ र यसलाई घटाउन के कस्ता कदम उठाउन सकिन्छ भन्ने विषयमा कम छलफल भइरहेको पाइन्छ। त्यसैले अब बलात्कार पछिका कदममा मात्र नभएर बलात्कार नै किन हुन्छ र यसलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने बारेमा व्यापक छलफल चलाउन आवश्यक छ।
महिलाहरूमाथि हुने बलात्कारलाई हटाउने भनेको पुरुषसत्तावादलाई हटाउने भनेको हो। पुरुषसत्तावादलाई हटाउने भनेको पुरुषलाई धर्म, संस्कृति, परम्परा र कानुनले दिएका एकाधिकार खोस्ने भनेको हो। पुरुषका ती सारा एकलौटी अधिकारहरू मास्ने भनेको महिला पुरुष बराबरी हुने समाज बनाउने भनेको हो। आज महिलाहरूमाथि हुने बलात्कार लगायत उत्पीडनको जरो त्यो धेरै वर्ष अगाडिको मूल्य, मान्यता र संस्कारमा जोडिएको छ। त्यसैले समाजको पुरानो संरचनालाई भत्काउन तयार हुन आवश्यक छ। महिला पुरुष बराबरी हुने समाज बनाएपछि मात्र बलात्कारका घटनामा कमी आउनेछ। अन्यथा यी घटनाहरू घट्नुको सट्टा अझ बढ्दै जान्छन्।
– लेखक त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागमा स्नातकोत्तर तहमा अध्ययनरत छिन्। #पहिलोपोस्ट