पुस २३, २०७५ काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले आइतबार संसद्लाई सम्बोधनका क्रममा प्रस्तुत गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो तीन महिनाको व्यापार घाटा १.५ प्रतिशत अंकले मात्र बढी होरु। भन्सार विभागको अभिलेखमा भने अलग्गै तथ्यांक छन् ।
विभागका अनुसार गत वर्षको पहिलो तीन महिनामा१८.८७ प्रतिशतले व्यापार घाटा भएको थियो भने यस वर्ष सोही अवधिमा ४५.९७ प्रतिशतले व्यापार घाटा बढेको छ। प्रधानमन्त्रीको वक्तव्यमा धेरै तथ्यांक आफू अनुकूल थिए । ‘यो उहाँहरुको पुरानो रोग हो, देशलाई ढाँट्नु हुन्छ । व्यापार घाटाको तथ्यांक पाँच महिनाकै उपलब्ध हुँदा तीन महिनाको मात्रै किन देखाउनु ?’ अर्थविद् विश्व पौडेलले भने, ‘सरकार सञ्चालन सुरु गरेलगत्तै ल्याइएको श्वेतपत्रमा पनि यस्तै गर्नुभएको थियो । कहीं पाँच वर्ष भन्नुभयो, कहीं १० वर्ष । आफूलाई जुन उपयुक्त हुन्छ, त्यही गर्नुहुन्छ ।’
विकास निर्माण लक्षित पुँजीगत खर्चको तथ्यांक पनि मिल्दैन । प्रधानमन्त्रीले संसद्मा प्रस्तुत गरेअनुसार चालु आर्थिक वर्षको ५ महिनामा पुँजीगत खर्चको वृद्धिदर २५.३३ प्रतिशत रहेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत पुस १ गते (५ महिनामा) १२.५२ प्रतिशत मात्रै खर्च भएको छ । अघिल्लो वर्ष खर्च भएको अंक र यस वर्षको तुलना गर्दा त्यो पनि मिल्दैन । गत वर्ष २४ अर्ब ६४ करोड रुपैयाँ पुँजीगत खर्च भएको थियो । यस वर्ष ३९ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको छ । खर्च अंकको आधारमा ५९ प्रतिशतले बढी हो, प्रधानमन्त्रीले भनेअनुसार हैन ।
मूल्यवृद्धिको समेत ३.७ प्रतिशत रहेको तथ्यांक प्रधानमन्त्री ओलीले प्रस्तुत गरेका छन्रु। यो चार वा पाँच महिनाको भन्ने केही पनि खुलाएका छैनन् । राष्ट्र बैंकको तथ्यांकअनुसार यो वर्षको पहिलो चार महिनामा मूल्यवृद्धि ४.२ प्रतिशत हो ।
‘उहाँहरुले हामी यति काम गर्छौं भन्ने लक्ष्य नै निर्धारण गर्नुभएको छैन । यदि प्रगति देखाउने हो भने यति लक्ष्य थियो, यति गरें भन्नुपर्छ,’ पौडेलले भने, ‘गर्न नसकेको काम मैले यो कारणले लक्ष्य भेद्माउन सकिनँ भने भै गयो नि । यो त स्थिर सरकार हो, कसैले फेर्न सक्दैन ।’
लगानीको वातावरणमा सुधार आएको देखाउन ओलीले अर्को बठ्याइँ गरेका छन् । उनले लगानी रकमको सट्टा कम्पनी दर्ता र विदेशी लगानीका परियोजना संख्या उल्लेख गरेका छन् । ‘गत आर्थिक वर्षको यसै अवधिको १२ प्रतिशतको तुलनामा उद्योग व्यवसायसँग सम्बन्धित कम्पनी दर्ता २५ प्रतिशतले वृद्धि भएको छ,’ उनले भनेका छन्, ‘वैदेशिक लगानीका परियोजना संख्यामा २५ प्रतिशतले बढेको छ ।’ तर यी परियोजनामा कति रकम लगानी आउने भयो भन्ने उल्लेख छैन । राष्ट्र बैंकका अनुसार रकमका आधारमा यो वर्षको चार महिनामा विदेशी लगानी ५१.३ प्रतिशतले कम भित्रिएको छ । गत वर्ष १७ अर्ब ५१ करोड विदेशी लगानी आएकोमा यस वर्ष ४ अर्ब ९४ करोड रुपैयाँ मात्रै भित्रिएको छ ।
यस वर्ष निर्यात वृद्धि भएको भन्दै ओलीले प्रगति देखाउन खोजेका छन् । ‘नेपालको कुल निकासी १२.३ प्रतिशतले वृद्धि भएको छ,’ उनले संसद्मा भने । गत वर्ष पनि यस्तो निर्यात १० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
उनले गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा यस आर्थिक वर्षको राजस्व संकलनमा ३२ प्रतिशत बढेको दाबी गरेरु। यो सत्य हो । तर अन्य तथ्यांकमा भने गत आर्थिक वर्ष र यो आर्थिक वर्षको पाँच महिना भन्ने स्पष्ट वाक्यसमेत उल्लेख छैन ।
अर्थतन्त्रका अन्य नकारात्मक सूचीका तथ्यांकसमेत उनको भाषणमा उल्लेख छैन । व्यावसायिक वातावरण, शोधनान्तर बचतमा निराशाजनक छ । औद्योगिक वस्तु र निर्माण सामग्रीको आयातमा ४०.६ प्रतिशतले वृद्धि भएकाले शोधनान्तर बचतमा केही कमी आएको छ । तर यो उत्पादन र विकासका दृष्टिमा सकारात्मक हो । कान्तिपुर
मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस २३, २०७५