कविन्द्र परियार कोहलपुर, ७ चैत/ कोहलपुर नगरपालिकाले फोहर व्यवस्थापनका लागि मातृभूमि नेपाल नामक गैरसरकारी संस्थालाई जिम्मा दिएको छ । तर, फोहर व्यवस्थापन भने प्रभावकारी भएको छैन ।
नगर क्षेत्रका घरबाट निस्कने फोहर उठाए पनि सार्वजनिक स्थलका फोहर भने उठाउने गरिएको छैन । भेरी शीत भण्डार, कृषि उपज बजार स्थल, रेडक्रस कार्यालय, कोहलपुर उद्योग वाणिज्य संघको कार्यालय अगाडिका खाली चौरमा यत्रतत्र फोहर छरिएका छन् ।
यसले कोहलपुरलाई स्वच्छ र सफा नगरका रूपमा स्थापित गर्ने अभियानलाई चुनौती दिएको छ । कोहलपुर नगरपालिकाले नगर क्षेत्रको फोहर व्यवस्थापनका लागि गत मंसिर ३० गते मातृभूमिसँग सम्झौता गरेको थियो ।
संस्थाले नगरवासीबाट प्रतिघरधुरी एक सय ५० रुपैयाँ लिएर सदस्यता दिएको छ । मासिकरूपमा सेवा शुल्कबापत् दुई सयदेखि चार सयसम्म लिएर फोहर उठाउने गरेको पाइएको छ ।
सदस्यता नलिएका कतिपयले आफ्नै छेउछाउमा आगो लगाएर नष्ट गर्ने गरेका छन् । नगरभित्र दैनिकरूपमा निस्कने फोहर व्यवस्थापनमा नगरपालिकाले समेत ध्यान दिन सकेको छैन ।
कोहलपुर उद्योग वाणिज्य संघ अध्यक्ष चक्रबहादुर अधिकारीले नगरपालिकाको फोहर व्यवस्थापन प्रक्रिया सन्तोषजनक नभएको बताए । ‘यस विषयमा नगरपालिकाको ध्यानाकर्षण गराइसकेका छौँ,’ उनले भने, ‘हामी आवश्यक सहयोग गर्न पनि तयार छौं ।’
चपरगौडी बजार सुधार समिति अध्यक्ष एकनारायण चापागाईंले पहिले नगरपालिकाको गाडी आउँदा सजिलै फोहर उठ्ने गरेको बताउँछन् । तर, अहिले भने कहिलेकाहीँ मात्र फोहर उठ्ने गरेको उनले बताए ।
‘नगरपालिकाले आफ्नै स्वामित्वमा लिएर काम गरे मात्र फोहर व्यवस्थापन प्रक्रिया प्रभावकारी हुन्छ,’ उनले भने, ‘हामी आफैंले एउटा ट्याक्टरको व्यवस्था गरेर यस क्षेत्रको फोहर व्यवस्थापन गर्ने सोच बनाएका छौँ ।’
बसपार्क सुधार समिति अध्यक्ष कृष्ण रानाभाटले बसपार्क क्षेत्रको फोहर आफूहरूले व्यवस्थापन गरिरहेको बताए । फोहर संकलन गरेर राखिए पनि नियमित उठाउन नआउने गरेको स्थानीय लोकबहादुर डाँगीले बताए ।
सार्वजनिक स्थलको फोहर महनौँसम्म जस्ताको तस्तै रहँदा नगर कुरुप बन्दै गएको उनले बताए । दहबिगाह बजार सुधार समिति अध्यक्ष विष्णुप्रसाद खनालले यवस्थापन प्रक्रिया प्रभावकारी नभएको बताए । बरु, सुधार समितिलाई जिम्मा दिएमा फोहर व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।
महिला जागरण मञ्चकी अध्यक्ष मधु खड्काले दशबिगाह क्षेत्रमा केही दिनअघि मञ्चले फोहर व्यवस्थापनका लागि एक सय तीनवटा डस्टबिन वितरण गरेको बताइन् ।
‘हामीले डस्टबिन उपलब्ध गराए पनि सार्वजनिक स्थलमा यत्रतत्र फोहर फालिएका छन्,’ उनले भनिन्, ‘यसको सही व्यवस्थापन हुनु जरुरी छ ।’
वडाध्यक्षको आपत्ति
कोहलपुर नगरपालिका–११ का वडाध्यक्ष कर्णबहादुर थापाले आपत्ति प्रकट गरेका छन् । नगरपालिकाले फोहर व्यवस्थापनका लागि हचुवाको भरमा निजी क्षेत्रलाई जिम्मा दिएपछि उनलाई चित्त बुझेको छैन ।
‘पैसा दिनेको मात्र फोहर उठाउने गरेको पाइएको छ,’ उनले आक्रोश व्यक्त गरे, ‘अन्य नगरवासीको फोहर कसले उठाइदिने हो ?’ फोहर व्यवस्थापनमा चरम लापरबाहीको भएको उनी बताउँछन् ।
प्रशासकीय अधिकृत र मेयरको कुरा बाझियो
कोहलपुर नगरपालिका मेयर लुटबहादुर रावत र प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद देवकोटाको सदस्यताको विषयमा कुरा बाझिएको छ । प्रकाशकीय अधिकृतले नगरवासीलाई सूचना प्रकाशित गरेर अनिवार्य सदस्य बन्न अनुरोध गरेको बताउँछन् ।
तर, मेयर रावतले सदस्यताका विषयमा कुनै सम्झौता नभएको बताए । ‘फोहरको प्रकृति हेरेर शुल्क लिने निर्णय भएको हो,’ रावतले भने, ‘नगरभित्रका सबै स्थानको फोहर उठाउने सम्झौता भएकाले सार्वजनिक स्थानको फोहर उठेनउठेको विषयमा बुझ्छु ।’
प्रशासकीय अधिकृत देवकोटाले नगरपालिकाले फोहर व्यवस्थापनमा कुनै कर नलिएकाले मातृभूमिले लिने गरेको शुल्क नियमविपरीत नभएको बताए । मातृभूमिसँग पहिलो चरणमा ६ महिनाका लागि सम्झौता भएको बताए ।
‘सम्झौता थप गर्ने वा नगर्ने विषयमा संस्थाको कार्यशैली हेरेर निर्णय हुनेछ,’ उनले भने, ‘सार्वजनिक स्थलको फोहर व्यवस्थापनका लागि डस्टबिन राख्ने तयारी भएको छ ।’
मातृभूमि संस्था प्रमुख हस्तबहादुर शाहले नगरभित्रका सदस्यता नलिएका कतिपय घरको समेत फोहर उठाइरहेको बताए । ‘हामीले सार्वजनिक स्थानको फोहर व्यवस्थापनका लागि योजना बनाउँदैछांै,’ उनले भने, ‘जनशक्ति थपेर भए पनि काम गर्छौं ।’