कृषिमा सफल राजापुर



बर्दिया/   बर्दिया राजापुर–४ का अगुवा कृषक शर्मा चौधरीको पुस्तौंदेखिको मुख्य पेसा धान खेती गर्ने हो । उनले ५ विगाहामा व्यावसायिक धान खेती गर्छन् । घरपरिवार पाल्नेदेखि जीवन गुजाराको मुख्य आधार नै त्यही खेतीपाती बनेपछि उनको सिंगो १६ जनाको परिवार धान खेतीमा होमिएको छ ।

कृषिमै भविष्य देखेका उनले राजापुरमा नयाँ–नयाँ जातका धानको बीउ भिœयाएका छन् । उनले २०५८ सालमा मकवानपुरको हेटौंडाबाट नयाँ जातको धानको बीउ ल्याएका थिए । त्यो धानको नाम पनि मकवानपुर नै राखियो । नयाँ जातको धानले सुरुमा राम्रो उत्पादन नभएपछि किसानबाट गाली पाए पनि अहिले राजापुर क्षेत्रको पहिचानमात्र होइन त्यही धान अधिकांश कृषकको जीविकोपार्जनको आधारसमेत बनेको छ ।

खाद्यान्न एवं तेलहन बाली बीउ उत्पादनका क्षेत्रमा राजापुर क्षेत्रबाट बेग्लै पहिचान बनाउन सफल थारुले धान, गहुँ, तोरी उत्पादन गरी वार्षिक ७ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । उनले गतवर्ष कृषि विकास मन्त्रालयवाट एक लाख राशिको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारसमेत पाएका थिए ।
चौधरीले बाबु बाजेको पालादेखि परम्परागत किसिमले गरिँदै आएको धान खेती ०५७ सालदेखि आधुनिक किसिमले गर्न थालेपछि कृषिबाटै जीवनस्तरमा परिवर्तन आएको बताए ।

‘यही खेती गरेर ४ बिगाह जमिन जोड्न सफल भएको छु,’ उनले भने, ‘यसवर्ष थप १ बिगाह जग्गा भाडामा लिएर ५ विगाहमा धानखेती गर्दै छु ।’
उनीजस्तै कृषिक्षेत्रबाटै भविष्य बदल्ने राजापुर नगरपालिका–७ का पहारी थारु पनि एक हुन् । पहारीले कृषिको आधुनिकीकरणका लागि नयाँ–नयाँ कृषि यान्त्रीकरण भिœयाएर जिल्लामै नमुना काम गरिरहेका छन् ।

अंग्रेजी विषयमा स्नातक उत्तीर्ण उनी शिक्षण पेसा त्यागेर खेतीपातीमा लागेका हुन् । मुक्त कमैया परिवारका भएकाले जग्गा जमिन केही नभए पनि अधियाँ धान खेती गरेर शुरुमा २०६२ सालमा १ विगाह जग्गा किनेको र कृषि कर्मबाटै हाल ६ बिगाह जग्गा जोडी सकेको उनले बताए ।
संयुक्त परिवारमा रहेका पहारीको अहिले पनि २५ जनाको परिवार खेतीपातीबाटै जीविकोपार्जन गर्छन् ।

हाल भाडामासमेत गरी उनले १४ बिगाहमा धान, गहुँलगायत खाद्यान्न लगाउँदै आएका छन् । यान्त्रीकरणको प्रयोग गरी कृषिको आधुनिकीकरणमा लागेका उनले समयले साथ दिएमा ३ वर्षभित्र ५० विगाह जग्गा भाडामा लिएर धानखेती गर्ने सोच रहेको बताए ।

हाल उनले धान रोप्ने राईस प्लान्टर, गहु , मकै छर्ने मेसिन, धान, गहु काट्ने मेसिन, जमिन सम्याउने, मेर लगाउने, पावर टिलर, कम्बोज, हाईरो, कल्टिभेटर, मल्टी प्रपोज थ्रेसर, लेजर ल्याण्डलगायत कस्टम हायरिङ सेन्टरअन्तगर्त करोड रुपैयाँभन्दा बढीका विभिन्न यन्त्र किनेका छन् । मेसिनको सहायताले खेती गर्दा समय र जनशक्तिका साथै उत्पादन लागतमा कमी आउने भएकाले कृषकहरुलाई निकै फाइदा हुने गरेको उनको भनाइ छ ।

यतिबेला राजापुर क्षेत्रका कृषक बर्से धान मात्र होइन, चैतेधान खेती विस्तारको तयारी गरिरहेका छन् । शर्मा र पहारी चौधरी जस्ता राजापुर क्षेत्रमा दर्जनौ व्यावसायिक कृषक छन् । उनीहरु नयाँ प्रविधि र कृषिको आधुनिकीकरण भिœयाएर बाह्रैमास धानखेती गर्न लागि परेका छन् । त्यस्ता कृषकलाई सहयोग गर्न सरकारले गत वर्षदेखि राजापुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान जोन पनि सञ्चालनमा ल्याएको छ । तर यहाँ धानको जोन नभई सुपरजोन हुनुपर्ने कृषकको माग छ ।

परियोजनाको एकाइ कार्यालय राजापुरका प्रमुख कुलप्रसाद अधिकारीका अनुसार राजापुरमा बर्से र चेतैसमेत गरी १५ हजार ८ सय ७५ हेक्टरमा धान खेती गरिँदै आएको छ । परियोजनाअन्तर्गत आधुनिक प्रविधिको प्रयोग, स्वच्छ र गुणस्तरिय बीउ, विषादी, प्रविधि हस्तान्तरण गर्नुका साथै बजारीकरणमा सहयोग गरेर मुलुकलाई धानमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य अनुरुप परियोजनाले काम गरिरहेको उनको भनाई छ ।

राजापुर क्षेत्रमा उत्पादित खाद्यान्न तथा बीउले राष्ट्रियस्तरमै बेग्लै पहिचान बनाउन सफल भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख परशुराम रावतको भनाई छ । – कारोबार

प्रकाशित मिति : २०७४ फागुन १८ गते शुक्रबार