20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

प्रधानमन्त्रीका पाँच दिन : के.पी. ओलीको खरायो दौड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४  

काठमाडौं/   फागुन ३ गते साँझपख प्रधानमन्त्रीको सपथ ग्रहण गरेपछि के.पी. शर्मा ओलीका ५ दिनको गतिविधि हेर्दा ओली खरायोको गतिमा दौडिन खोजेको स्पष्टै देखिन्छ ।

फागुन २ गते साँझ निर्वाचन आयोगले चुनावको नतिजा राष्ट्रपतिलाई बुझाएको भोलिपल्टै वाम गठबन्धनले ओलीका लागि प्रधानमन्त्रीको दाबी गर्‍यो । दाबीपछि ओली सोही दिन पार्टीको संसदीय दलको नेता चुनिनु भयो । त्यही दिन प्रधानमन्त्री नियुक्त भएर सपथ ग्रहण पनि गर्नुभयो ।

सपथ ग्रहण समारोहमा भाग लिन पुुगेका लालबाबु पण्डित र थममाया थापालाई तत्कालै मन्त्री नियुक्त गर्नुुभयो । त्यसपछि लैनचौर र कीर्तिपुर पुुगेर शहीदलाई माल्यार्पण गरी सरकारको काम सम्हाल्न सिंहदरबार पुुग्नुुभयो । त्यसपछि ओलीको गति झन् बढ्यो ।

फागुन ४ गते : बामदेब गौतमको अध्यक्षतामा सरकारको कार्ययोजना तय गर्न समिति गठन भयो । मओवादी र एमाले एकताका बिषयमा छलफल भयो । फागुन ५ गते: ओली निवास वालकोटमा पार्टी एकता र सरकार गठनबारे ओली र प्रचण्डबीच छलफलभयो । सरकारले काम थाल्यो ।

फागुन ५ गते : बामदेब गौतमको अध्यक्षतामा बनेको समितिले कृषि, उर्जा र पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्न सरकारलाई प्रतिवेदन बुुझायो ।फागुन ६ गते : ओली र प्रचण्डबीच करीव ६ घण्टा लामो छलफल ।फागुन ७ गते : दुुई पार्टीवीच एकताको आधारपत्रमा हस्ताक्षर ।

फागुन ८ गते : युवराज खतिवडा, रामनारायण बिडारी र बिमला पौडेल राष्ट्रिय सभा सदस्यमा सिफारिस र राष्ट्रपतिबाट मनोनित ।
यी त भए मुख्य मुख्य कामका सूची । यसबीचमा पार्टीका नेता र कार्यकर्ता, सरकार प्रमुखका रुपमा बिभिन्न कार्यक्रममा भएका सहभागिता र भेटघाट, बधाई र सम्बोधनहरु पनि जोड्ने हो भने ओलीको व्यस्तता र रफ्तार असाध्यै बढेको देखिन्छ ।

बितेका पाँच दिन हेर्दा ओलीको व्यस्तता र रफ्तार भोलिका लागि काम गर्ने मैदान बनाउन केन्द्रित छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारासहित चुनाव जितेको बाम गठबन्धन अब औपचारिक रुपमा एउटै पार्टी हुन पार्टी एकतामा प्रवेश गरेको छ । अब माओवादीका तर्फबाट ओलीलाई दिईने घुर्की र धम्की कोठे वार्ता र छलफलमा सिमित भएको छ । अथवा अब सरकारलाई पूर्णता दिन उहाँलाई कुनै कठिनाई छैन । आफ्नो सरकारलाई माओवादी पार्टीले अविश्वास गर्ला कि भन्ने ओलीको चिन्ता पनि हिजोदेखि सकिएको छ ।

राष्ट्र बैकका गभर्नर र योजना आयोगका उपाध्यक्ष भएर काम गरिसकेका अर्थशास्त्री युवराज खतिवडालाई राष्ट्रियसभा सदस्यमा मनोनयन गराएर प्रधानमन्त्री ओलीले आम मतदातालाई भावी अर्थमन्त्रीको अनुहार पनि देखाउनु भएको छ । वाम गठबन्धनको घोषणापत्रदेखि बामदेब गौतमले तयार पारेको सरकारका प्राथमिकता तय गर्ने समितिको सदस्य समेत रहेका खतिवडालाई राष्ट्रियसभा सदस्यमा ल्याएपछि ओली साँच्चै ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारामा केन्द्रित हुन खोजेको देखिन्छ ।

सधै बाचाल र हाँसो ठट्टामा रमाउने ओलीको बोलीमा केही ब्रेक पनि लागेको छ भने बितेका पाँच दिन चुपचाप रहेरै ओलीले भविष्यका लागि आफ्नो बाटो बनाउनुभएको देखिन्छ ।

अहिलेको आशंका के मात्रै हो भने ओलीको यो रफतार कति दिन टिक्छ ? र ओलीले कर्मचारी तन्त्रलाई आफ्नो रफ्तारमा कसरी हिडाउनुहुन्छ ?

-ujyaaloonline.com

प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४     7:52:25 AM  |