16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

६ नम्बर प्रदेशको मुख्यमन्त्रीमा ‘हेभिवेट’को अरुचि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४  

नेपालगन्ज- कांग्रेस नेता पूर्णबहादुर खड्कालाई धेरैले पार्टीका तर्पmबाट ६ नम्बर प्रदेशको मुख्यमन्त्री उम्मेदवार हुने अनुमान गरेका थिए । तर, उनी सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि एकल उम्मेदवारका रूपमा सिफारिस भए । खड्का निकटका अनुसार राष्ट्रिय राजनीतिमा उचाइ बनाइसकेका उनको ‘दूरदृष्टि’ केन्द्रीय सरकार र राष्ट्रिय राजनीतिमै छ ।

आसन्न प्रदेशसभा निर्वाचनबाट पहिलोपटक बन्न लागेको प्रदेश सरकारका मुख्यमन्त्रीको हैसियत केन्द्रीय सरकारको उपप्रधानमन्त्रीसरह हुने प्रावधान छ । अधिकार र प्रभावको हिसाबले यो निकै आकर्षक पद हो । तर, पदीय भार थेग्न सक्ने उचाइ बनाएका दलका नेताहरूको रुचि उक्त पदमा देखिँदैन । यसले गर्दा मुख्यमन्त्रीमा मझौला कदका नेता आउने सम्भावना छ ।
६ नम्बर प्रदेशमा माओवादी केन्द्रका तर्पmबाट जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतको मुख्यमन्त्रीका लागि प्रतिस्पर्धा हुने ठानिएको थियो । तर, राजनीतिक अनुमानलाई गलत साबित गर्दै माओवादी केन्द्रका यी दुवै ‘हेभिवेट’ नेताले प्रतिनिधिसभामा जान खुट्टा उचालेका छन् । शर्मा रुकुमबाट र बस्नेत जाजरकोटबाट प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस भएका छन् । ‘सायद उहाँहरूको आवश्यकता केन्द्रमा बढी भएकाले संघीय संसद्मा सिफारिस भएको हुन सक्छ,’ पार्टी पोलिटब्युरो सदस्य एवं सुर्खेत जिल्ला संयोजक कृष्णबहादुर जिसी भन्छन्, ‘को नेता कहाँ लड्ने भन्ने निर्णय त अन्तिममा केन्द्रले नै गर्ला ।’
एमालेमा भने प्रदेशका दुई शीर्ष नेता यामलाल कँडेल र प्रकाश ज्वालाले प्रदेश मुख्यमन्त्री ताकेका छन् । कँडेलको नाम सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेश क्षेत्र नं. १ मा सर्वसम्मत सिफारिस भएको छ । सल्यानमा ज्वालाको निर्णय भइसकेको छैन । ‘अहिलेसम्म पार्टीले निर्णय त गरिसकेको छैन, तर मेरो रुचि प्रदेशमै छ,’ ज्वालाले नागरिकसँग भने, ‘आगामी निर्वाचनमा मुख्यमन्त्री उम्मेदवार को हुने भन्ने कुरा पार्टीको निर्णयमा भर पर्छ ।’
कांग्रेस र माओवादी केन्द्रका दोस्रो तहका सम्भावित नेताको ध्यान पनि केन्द्रमै छ । कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीको नाम सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस भएको छ । यसबाट उनी प्रदेशमा इच्छुक छैनन् भन्ने देखाएको छ । अर्का केन्द्रीय सदस्य जीवनबहादुर शाहीले निर्णय लिइसकेका छैनन् । उनी हुम्ला निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा जाने कि जिल्लाको प्रदेश क्षेत्र नं. २ बाट मुख्यमन्त्री पदलाई लक्ष्य बनाएर प्रदेशसभामा जाने भन्ने दोधारमा छन् ।
यस्तो अवस्थामा सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले प्रदेश मुख्यमन्त्रीको दाबी गरेका छन् । उनको नाम सुर्खेत क्षेत्र नं. २ अन्तर्गत प्रदेश क्षेत्र नं. २ बाट सिफारिस भएको छ । ‘प्रादेशिक सांसदमा सीमित हुने मेरो रहर होइन, मुख्यमन्त्रीको चाहनाले मलाई प्रदेशसभा निर्वाचन लड्न प्रेरित गरेको हो,’ उनले भने, ‘सोही पार्टीको क्षेत्र तथा जिल्ला समितिले सिफारिस गरेको छ ।’ पार्टीका सिनियर नेताले मुख्यमन्त्रीको मैदान खाली गरेपछि आपूmलाई सहज भएको उनले बताए ।
माओवादी केन्द्रमा पनि दोस्रो तहका नेता संघीय संसद्मा इच्छुक देखिएका छन् । पार्टीका तर्पmबाट वर्तमान सरकारमा ऊर्जामन्त्री रहेका कालिकोटका महेन्द्रबहादुर शाही र सामान्य प्रशासनमन्त्री रहेका सल्यानका टेकबहादुर बस्नेत पनि संघतिरै सोझिएका छन् ।

रोजाइमा नपर्नुको कारण
६ नम्बर प्रदेशमा मुख्यमन्त्रीका लागि नेताहरू अनिच्छुक हुनुमा मुख्यमन्त्रीमा सुनिश्चितता नहुनु प्रमुख कारण हो । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचन परिणाम केलाउँदा कुनै पनि दलको स्पष्ट बहुमत आउने देखिँदैन । ८९ स्थानीय तहमध्ये माओवादी केन्द्र २७, एमाले २६ र कांग्रेस २४ तहमा निर्वाचित भएका छन् । डोल्पाका दुई तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । तहगत रूपमा माओवादी केन्द्र अगाडि देखिए पनि प्रदेशसभामा बढी सिट भएका दुई जिल्ला सुर्खेत र दैलेखमा भने माओवादीको अवस्था शून्य छ । जब कि, प्रदेशका प्रत्यक्षतर्पmका कुल २४ सिटमध्ये आठ सिट यिनै दुई जिल्लामा छन् । सर्खेतमा कांग्रेस र दैलेखमा एमालेको वर्चस्व छ । ‘यस्तो अवस्थामा प्रदेशसभामा माओवादीको अवस्था पहिलो हुने कुनै सम्भावना देखिँदैन,’ राजनीतिक विश्लेषक एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक दयराज सुवेदी भन्छन्, ‘त्यसैले ठूला नेताले संघीय संसद्को यात्रा आफ्ना लागि अनुकूल ठानेका हुन सक्छन् ।’ माओवादीले कर्णालीका ३५ मध्ये १६ तहमा नेतृत्व हत्याएको छ । यद्यपि, समग्र कर्णालीमा प्रदेशको प्रत्यक्ष सिट संख्या भने १० मात्र छ ।
समग्र नतिजामा कांग्रेस तेस्रो स्थानमा रहे पनि प्रदेशको राजनीतिलाई प्रभावित गर्ने ठूला नगरपालिकामा भने कांग्रेसले जित हासिल गरेको छ ।
एक लाख पाँच हजार जनसंख्या रहेको सुर्खेतको वीरेन्द्रनगरमा कांग्रेसका देवकुमार सुवेदी विजयी भए । वीरेन्द्रनगरपछि सर्वाधिक जनसंख्या रहेका सुर्खेतकै गुर्भाकोट, भेरीगंगा र पञ्चपुरी, दैलेखको दुल्लु, जुम्लाको चन्दननाथ र सल्यानको शारदामा पनि कांग्रेस विजयी भयो । प्रादेशिक संरचनामा यी नगरपालिकालाई महŒवपूर्ण नगरका रूपमा हेरिएको छ ।
अहिलेको अवस्थामा प्रादेशिक निर्वाचनमा पहिलो स्थानका लागि कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । बहुमत भने दुवै दलको आउने देखिँदैन । विश्लेषक सुवेदीको भनाइमा त्रिशंकु संसद् बनेको अवस्थामा प्रादेशिक सरकारको नेतृत्व कुनचाहिँ दलले लिने भन्ने सधैं अन्योल रहने गर्छ । यही कारण कतिपय नेताले मुख्यमन्त्रीको दौडमा सामेल हुने आँट गरेनन् ।
केही नेताको लालसा राष्ट्रिय राजनीतिमै छाउने देखिनु अनिच्छाको अर्को कारण हो । दुईपटक गृहसहित थुप्रैपटक मन्त्री भइसकेका र कांग्रेसको राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका सुर्खेतका पूर्णबहादुर खड्का, पछिल्लो समय कम्युनिस्ट बार्टीबीच एकताका सूत्राधार बनेका रुकुमका जनार्दन शर्माले आफ्नो राजनीतिक यात्रालाई संघीय संसद्को ‘प्लेटफर्म’ मार्पmत फराकिलो बनाउन चाहनु अस्वाभाविक होइन । ‘यिनै कारणले पनि प्रदेशका प्रमुख नेता मुख्यमन्त्रीका लागि रमाउन नचाहेका हुन सक्छन्,’ सुवेदी भन्छन् ।
ठूला नेताले प्रदेशतिर आँखा नलगाउनुको अर्को कारण हो, पहिलोपटक बन्ने प्रादेशिक संरचनाको भविष्य र अधिकारबारेको अन्योल । ‘संविधानमा त प्रदेश सरकार प्रभावशाली हुने भन्ने उल्लेख छ, तर अधिकार कार्यान्वयनको पाटोमा सबैको आशंका देखिन्छ,’ माओवादी पोलिटब्युरो सदस्य जिसी भन्छन्, ‘त्यही कारण प्रदेशसभामा नेताको रुचि नभएको हुन सक्छ ।’

नयाँ अनुहारको वर्चस्व
मुख्यमन्त्रीलाई लक्ष्य बनाएका बाहेक प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएकाहरू अधिकांश नयाँ अनुहार छन् । जिल्लास्तरीय राजनीतिमा पहिचान बनाएका नेताहरूको संख्या अधिक देखिन्छ ।
सुर्खेतका चारवटा क्षेत्रमा कांग्रेसबाट तप्तबहादुर बिष्ट, डम्बरविक्रम जिसी, कमलराज रेग्मी, धर्मराज गिरी, गोविन्द कोइराला, झकबहादुर डाँगी, नारायण कोइराला, डण्डप्रसाद ढकाल, बेदु गिरी, कमल आचार्य, टोपबहादुर रावत, यज्ञबहादुर बिसी, अमृता शाही, वीरेन्द्र रावत, नरेशविक्रम ढकाल, अनन्त पौडेल, टेकबहादुर सिंह, केशर वली, प्रकाश डिसी, उभिकला विक र सरस्वती सिंहको नाम सिफारिस भएको छ । यीमध्ये बिष्ट सूचना तथा सञ्चार राज्यमन्त्री छन् भने अमृता दुईवटै संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार थिइन् ।
एमालेबाट यामलाल कँडेल, ऐनबहादुर चन्द, खड्कबहादुर खत्री र मोहन बडुवालको नाम सिफारिस भएको छ । यीमध्ये कँडेल पूर्वमन्त्री हुन् । माओवादी केन्द्रबाट ठम्मर बिष्ट, जितबहादुर राना, बिन्दमान बिष्ट र गणेश भण्डारीको नाम सिफारिस भएको छ । २०७० को संविधानसभा निर्वाचनमा ठम्मर प्रत्यक्षतर्पmबाट उम्मेदवार थिए । प्रदेशका अन्य जिल्लामा पनि प्रदेश सांसदका लागि थुप्रै नयाँ अनुहारको सिफारिस भएको छ ।- Nagariknews

प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४     4:46:34 PM  |