18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

महानगरका महायोजनामा ब्रेकः अलपत्र छन् ठूला पूर्वाधार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४  

केही आयोजनामा जनप्रतिनिधिकै अर्घेल्याईं

१८ असोज, काठमाडौं । स्थानीय तहको चुनावपछि धेरैलाई लागेको थियो, राष्ट्रिय आयोजना निर्माणको गति पक्कै तीव्र हुनेछ । काठमाडौं महानगरको हकमा भने त्यसो भएन । नयाँ जनप्रतिनिधि आए पनि महत्वपूर्ण विकास पूर्वाधार अनेक बहानामा रोकिएका रोकियै छन् ।

महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्की अब दशैं सकिनासाथ रोकिएका सबै विकासे काम तीव्र गतिमा बढ्ने बताउँछन् । जनप्रतिनिधिले शासन सुरु गरेपछि पनि महानगरको काम गराईको शैली पुरानै भएको आरोप लागिरहेको छ ।

महानगरका विभिन्न महायोजना अब लामो समय अलपत्र नपर्ने दाबी कार्कीको छ । ‘जनप्रतिनिधि आएपछि आयोजनामा रहेका धेरै अन्योल हट्दै गएका छन् । अब वर्षाले काम गर्न समस्या गर्दैन,’ कार्की दाबी गर्छन् ।प्रवक्ता कार्की भने अन्योलमा रहेका आयोजनाहरु अब लामो समय अड्किएर नबस्ने दाबी गर्छन् ।

महानगरले अगाडि बढाइसकेका आयोजना अलपत्र रहँदा नागरिक भने आश्वस्त हुन सकिरहेका छैनन् । महानगरले वर्षामा सडकमा परेका खाल्डा अझै पुरेको छैन । सँगै अन्य थुप्रै आयोजना विभिन्न कारण देखाउँदै अल्झाएर राखिएको छ ।

रानीपोखरीको विजोग

काठमाडौंको मुटु मानिने रानीपोखरी यतिबेला कुनै निकुञ्जभित्र सुकेको बेबारिसे तलाउजस्तो अवस्थामा छ । काठमाडौं आइपुग्ने जोसुकैले पनि एकपटक हेर्न नछुटाउने सम्पदा हो, रानीपोखरी ।

समयमै काम भएको भए गत तिहारमै यसको निर्माण सकिनुपथ्र्यो । तर, अबको तिहारमा पनि यसले पूर्णता पाउने छाँट छैन ।

झाडीले ढाकिएको रानीपोखरी कुरुप बनेको छ । निर्माणमा ढिलाइ हुँदा यसले आफ्नो अस्तित्व र पहिचान गुमाउँदै गएको छ ।

बाग्लुङबाट काठमाडौं आएका सुमन थापा जमलको पुलबाट रानीपोखरी देखेर तीनछक परे । ‘यो त रानीपोखरी हैन, सुकेपोखरी जस्तो पो छ,’ हाँसोसहित कटाक्ष गर्दै उनी भन्छन्, ‘घुम्न आएका विदेशीले यस्तो देख्दा के भन्ठान्छन् होला है ?’

भूकम्पबाट क्षति पुगेपछि महानगरपालिका आफैंले यसको पुनर्निर्माणको जिम्मा लिएको छ । तर, काम सुरु भएका तीन वर्षसम्म पनि यो त्यतिकै असरल्ल अवस्थामा छ । करिब अढाइ करोड खर्च भइसकेको छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले आफूले सय दिनमा गर्ने काम विवरणको ४८ औं नम्बरमा लेखेका थिए, ‘पूरातात्विक मापदण्डअनुसार रानीपोखरीको पुनर्निर्माण तत्काल सुचारु गरिनेछ ।’

तर, शाक्यले आफ्नो प्रतिवद्धता भुलेको अहिले रानीपोखरीको अवस्थाबाटै स्पष्ट हुन्छ ।

स्रोतका अनुसार पानी चुहिन रोक्ने उद्देश्यले रानीपोखरीको माटो एकपत्र उप्काइएको छ । तर, झनै पानी चुहिने जोखिम बढेपछि निर्माण रोकिएको हो ।

महानगरपालिकाले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा क्रंक्रिट प्रयोग गरेपछि पूरातत्व विभागले रोकेर आफैंले मन्दिर निर्माणको जिम्मा लिएको छ ।

सम्झौताअनुसार रानीपोखरीको बाहिरी भाग भने महानगरपालिकाले बनाउनुपर्ने छ । तर, पटक–पटक डिजाइन परिवर्तन गर्दै काममा ढिलाइ गरिँदैछ ।

कागजमै काठमाडौं टावर

महानगरमा रोकिएर बसेको अर्को आयोजना हो, पुरानो बसपार्कमा बन्ने भनिएको २९ तले ‘काठमाडौं टावर’ । सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा बन्न लागेको यो टावर पनि गफभन्दा बाहिर निस्किन सकेको छैन ।

हालसम्म १२ तालाको मात्रै नक्सा पास भएको छ । तर, निर्माणको काम सुरु भएको छैन । टावर निर्माणका लागि भन्दै पुरानो बसपार्कलाई साँघुरो घेरा लगाएर खुलामञ्चमा सारिएको दुई वर्ष बित्न लाग्यो ।

बूट मोडलमा यसको जिम्मा लिएको कम्पनीले निर्माण त परै जाओस्, वित्तीय स्रोत पनि जुटाउन सकेको छैन ।

उपमेयर हरिप्रभा खड्गी नै उक्त टावर निर्माणको विपक्षमा छिन् । सोही कारण बेसमेन्टको कामसमेत सुरु हुन सकेको छैन ।

महानगरले काम अगाडि बढाउन न त कम्पनीलाई दबाब दिन सकेको छ, न स्थानीयको मागलाई सम्बोधन गर्ने प्रयास नै । मेयर शाक्यले आफ्नो एक सय एक कामको प्रतिबद्धतामा उक्त टावरबारे भनेका थिए, ‘पुरानो बसपार्कमा प्रस्तावित काठमाडांै टावर निर्माण सम्वन्धमा जनभावनाको कदर गर्दै काम सुरु गरिनेछ ।’ काम भने त्यसअनुसार भएन ।

अहिले यो आयोजना विवादित र आलोचित पनि छ । मेयर शाक्यले पनि यसलाई कसरी अघि बढाउने भन्ने निर्णय गर्न सकेका छैनन् ।

यो भवन बनाउँदा खनिने बेसमेन्टले रानीपोखरी सुक्ने जोखिम रहेको स्थानीय बासिन्दाको दाबी छ ।

‘यो आयोजनामा अन्योल भएकै हो । अब ढिला नगरी केही समयमै यसबारे निर्णय हुन्छ,’ मेयर शाक्य भन्छन् ।

ज्यानमारा सडक

 

शाक्यको सय दिने घोषणापत्रको २४ नम्बर बुँदा उल्लेख छ, ‘मेलम्ची आयोजनालगायत अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने, विशेष प्रविधिको प्रयोग गरी धुलो र खाडलरहित सडक निर्माण गरिनेछ ।’

२६ नम्बर बुँदा पनि छ, ‘सडकमा थुपारिएका निर्माण सामग्री हटाइनेछ ।’

तर, अहिले काठमाडौंको सडकको अवस्था कुन हालतमा छ भनेर बयान गरिरहनुपर्ने अवस्था छैन । काठमाडौंमा मुख्य सडक मात्रै होइन, भित्री सडकको अवस्था पनि दयनीय छ ।

खाल्डाविहीन सडक भेट्न काठमाडौंमा मुस्किल छ । यसले सडकमा धुलो र हिलोको समस्या मात्रै बढाएको छैन, नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।

वर्षामा सडकको खाल्डा पुर्न नसकिने वक्तव्य महानगरले यसअघि पटक–पटक दोहो¥याएको थियो । अब दशैंपछि भने सडकलाई मर्मत गरिने प्रवक्ता कार्की बताउँछन् ।

अहिले काठमाडौंका सडक घाम लाग्नासाथ धुलो र पानी पर्नासाथ ढल र हिलोमय हुने समस्या छ ।

सडकको दुरवस्थाले काठमाडौंमा दैनिकजसो गम्भीर दुर्घटना भइरहेका छन् । यस्तो संवेदनशील विषयमा महानगर खासै गम्भीर नबनेको आरोप नगरवासीको छ ।

मेयर शाक्यको आफ्ना प्रतिबद्धतामा काठमाडौंमा ‘सही समय सही ठाम, नो ट्राफिक जाम कार्यक्रम’ सञ्चालन गर्ने र सडकमा ट्राफिक लाइट र सीसी क्यामेरा जोड्ने भने पनि त्यो गफमै सीमित भएको छ ।

कार्कीका अनुसार दशैंलगत्तै २० किलोमिटर कालोपत्रे गर्ने योजना छ ।

अन्योलमै काष्ठमण्डप


नयाँ जनप्रतिनिधि आएपछि थप अन्योलमा परेको योजना हो, काष्ठमण्डप पुनर्निर्माण । यसको जिम्मा महानगरपालिकाले नै लिएको छ ।

तर, स्थानीय तहको चुनावअघि वसन्तपुरका बासिन्दासँग महानगरले आफूले त्यसमा सहयोग गर्ने र उनीहरुकै प्रयासमा काष्ठमण्डप निर्माण गर्ने सहमति गरेको थियो ।

अहिले फेरि काष्ठमण्डप कसले र कसरी निर्माण गर्ने भन्ने विवाद सुरु भएको छ । मेयर शाक्यले आफ्नो १०१ कामका योजनामा लेखेका थिए, ‘काष्ठमण्डप महानगरपालिकाले स्थानीय समुदायको जनसहभागितामा पुनर्निर्माण गर्नेछ ।’

तर, उनी आएपछि महानगरले आफ्नो नीति बदल्यो । शाक्यले यसलाई महानगर आफैंले निर्माण गर्ने निर्णय गरे । त्यसपछि यो निर्णय विवादमा प¥यो । अहिलेसम्म महानगरले यो विवाद सुल्झाउन सकेको छैन ।

शाक्य भन्छन्, ‘चुनावको दुई दिनअघि कर्मचारीलाई कसैको दबाबमा पारेर अभियानमार्फत् काष्ठमण्डप बनाउने समझदारी गरिएको रहेछ । यो त हामी स्वीकार्नै सक्दैनौं । काष्ठमण्डप महानगरले नै बनाउँछ ।’

तीनकुनेको बेहाल

 

महानगरले ४२ वर्षदेखि अलपत्र काठमाडौंको तीनकुनेलाई व्यवस्थित गर्ने योजना अघि सारेको लामो समय भयो । ०३१ सालमा बस्ती हटाएर खाली गराइएको तीनकुनेको चौर गाईवस्तु चराउने र गाडी सिक्नेहरुको केन्द्र बनेको छ ।

४० वर्ष पहिलेदेखि यो ठाउँको जग्गाको मुआब्जा प्रकरण सुल्झिएको छैन । त्यसैले तीनकुने अलपत्र अवस्थामै छ । नयाँ जनप्रतिनिधि आउनुअघि नै महानगरपालिकाले स्तरीकरण र सौन्दर्यकरण सुरु गरेको थियो । तर, जनप्रतिनिधि आएपछि यो काम एकाएक रोकियो ।

महानगरले तीनकुनेमा रहेको अस्तव्यस्त खाली जमिनलाई सदुपयोग गरेर आराम गर्न र समय बिताउन योग्यस्थलका रुपमा विकास गर्न लागेको थियो ।

तत्कालीन कार्यकारी अधिकृत ईश्वरराज पौडेलले तीनकुनेमा गरिने सबै अवाञ्छित गतिविधि पूर्ण रुपमा रोक्न भन्दै थालेको काम जनप्रतिनिधि आएपछि मुआब्जाकै कारण देखाएर रोकिएको छ ।

मेयर शाक्यले आफ्नो सय दिने कार्ययोजनामा पनि तीनकुनेलाई व्यवस्थित गर्ने अठोट गरेका थिए । उनले आफ्नो प्रतिबद्धतापत्रको ७९औं बुँदामा लेखेका थिए, ‘तीनकुनेको जग्गाको समस्याको समाधान गरी अत्याधुनिक पार्क निर्माण गर्न सुरु गरिनेछ ।’

तर, अघि बढिसकेको काम रोकेर किन तीनकुने फेरि अलपत्र छाडियो भन्ने प्रश्नको जवाफ जनप्रतिनिधिले दिएका छैनन् ।                               –  साभार अनलाइन खबरबाट

प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४     10:22:16 AM  |