17 May 2024  |   शनिबार, जेष्ठ ५, २०८१

जिउँदो शहिद तारा खड्काको सडकमा बास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार १७, २०७४  

कोहलपुर, १७ असार /  वि.स. २०४६ को जनआन्दोलनका घाइते रुकुम मुसिकोट ५ का ५२ वर्षिय तारा खड्काको सडकमा बास भएको छ । जनआन्दोलनका बेला राजा महेन्द्रको शालिक तोड्ने क्रममा उनको दाहिने खुट्टामा तत्कालिन प्रशासनले तीन गोली प्रहार गरेको थियो ।
गोली लागेपछि उनले आफ्नो दाहिने खुट्टा गुमाए । त्यस्तै उनको जिब्रो समेत काटिदिएका छन् । अहिले राम्रोसँग बोल्न पनि  सक्दैनन् । उनी अहिले देशका विभिन्न ठाउँमा सहयोग माग्दै हिँडेका छन् ।
‘कहिले होटल त कहिले सडकपेटीहरुमा पनि सुत्छु’ खड्काले भने । सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य भएका छन् । हातमुख जोड्नकै लागि भीख माग्न बाध्य छन् । उनीसँगैका आठ व्यक्तिले गोली लागी ज्यान गुमाएका थिए । घाइते भएर पनि कडा सजाय भोग्न बाध्य खड्काको सोही क्रममा जिब्रोसमेत काटिएको थियो ।
‘जिब्रो पनि काटे, हातको छाला काटेर नुन खुर्सानी पनि दलियो’ हात देखाउँदै उनले भने । ०४६ को जनआन्दोलन सफल भएपछि उनलाई उपचारका लागि अमेरिकामा दुई वर्षसम्म राखेपनि उनको स्वास्थ्य अवस्थामा सामान्य सुधार मात्र भएपछि घर फर्किएका थिए ।
उपचारका लागि राज्यले ५० लाख खर्चेको थियो भने उनले काठमाडौँमा रहेको आफ्नो घर ४० लाखमा बिक्री गरेका थिए । काठमाडौँमा भएको एउटा घर बिक्रीपछि खड्कासँग अहिले सम्पत्तिको नाममा केही छैन ।
सानैमा आमाबुबा गुमाएका उनले बिहे गरेकी श्रीमती पनि २०४५ सालमा गुमाउनुप¥यो । उनकी श्रीमतीको २०४५ सालको भूकम्पमा परी निधन भएको
थियो ।
मरिचमानका भाञ्जीसँग उनले विवाह गरेका थिए । मरिचमानले नै काठमाडौं नयाँ बानेश्वरमा एक रोपनी जग्गा र २ तले घर उनको नाममा पास गरिदिएका थिए । पछि मरिचमान प्रधानमन्त्री भएकै बेला पञ्चायती व्यवस्था विरुद्ध उत्रिएका थिए । जसका कारण उनी यो अवस्था आउनुप¥यो ।
अहिले कृत्रिम गोडाको सहायताले उनी हिँड्डुल गर्छन् । सामान्य हिँडडुल गर्न सकेपनि काम गर्नसक्ने शारीरिक अवस्था उनको छैन ।
खड्काले पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको सहयोगमा आरआर क्याम्पसबाट बीएडसम्मको अध्ययन पूरा गरेका छन् । आन्दोलनकै कारण र पीडाकै कारण खड्काको मानसिक अवस्थासमेत बिग्रँदै गएको छ । औषधि सेवन गर्ने पैसा आफूसँग नभएको खड्काले गुनासो गरे ।
उनले मुलुकमा जतिसुकै राजनीतिक परिवर्तन भएपनि आफू सधैं पीडित नै बनिरहेको दुखेसो गरेका छन् ।
‘जतिसुकै परिवर्तन आएपनि हामीजस्ता व्यक्तिको मूल्यांकन राज्य र सरकारले गर्न सकेनन्’, उनले गहभरि आँसु पार्दै भने ‘अहिले भीख माग्नुपर्ने अवस्थामा हिँडिरहेको छु ।’
जनआन्दोलनमा गोली लागेर घाइते बन्दा जति पीडा भएको थियो,त्यो भन्दा दोब्बर पीडा बहुदल हुँदै लोकतन्त्र आउदा समेत राज्यले आफूलाई चिन्न नसकेकोमा भएको खड्काले बताए ।उनले स्व. गिरिजा प्रसाद कोइराला, माधव नेपाल, प्रचण्ड, शेरबहादुर देउवा लगायतलाई भेटेरै आफ्नो गुनासो सुनाएपछि आश्वासन मात्रै पाएको बताए । उनले सरकारले आफू बाँच्दा सम्म गास र बासको व्यवस्था गरिदिए पनि आफूलाई धेरै सहज हुने धारणा राखे ।

प्रकाशित मितिः शनिबार, असार १७, २०७४     12:38:27 PM  |